बालीका लागि विशालु बन्दैछ माटो

  सरलपाटी सम्वाददाता

 1144 पटक हेरिएको

 


परिक्षण गरिएको माटोको नतिजा ।

इलाम । पछिल्लो समय बाली विरूवाको उत्पादनमा कमि हुन थालेपछि सूर्योदय नगरपालिकाले गरेको माटो परिक्षणमा माटोको अम्लियपना (पीएच) बढेको पाइएको छ । माटोको अम्लियपना बढेपछि बालिको उत्पादन र उत्पादकत्वमा कमि हुने कृषि विशेषज्ञहरू बताउँछन् ।
खेती योग्य जमिनको माटोमा अम्लियपना बढेपछि सूर्योदय नगरपालिकाले नगरक्षेत्रका किसानहरूलाई सचेत गराउन थालेको छ । नगरपालिकाका सबै वडाको माटोको नमूना परिक्षण गर्दा माटोमा बालीलाई चाहिने भन्दा बढी अम्लियपना पाइएपछि अब कसरी माटो सुधार गर्ने भन्नेमा नगरपालिका आफैं पनि चिन्तामा परेको छ ।
नगरपालिकास्थित चिया विस्तार योजनाको माटो परिक्षणशालामा गरिएको परिक्षणमा माटोमा हुनुपर्ने चार दशमलव पाँच देखि पाँच दशमलव पाँच सम्मको मात्रा बढेर चार भन्दा कम भएको पाइएको छ । यहाँ माटोको साढे पाँच सय नमूना परिक्षण गरिएकोमा चिया, अलैंची र अन्य तरकारी बालीलाई चाहिने भन्दा बढी अम्लियपना पाइएको अलैंची विकास केन्द्र पान्दामका प्रमुख तथा वरिष्ठ वागवानी विकास अधिकृत पदम अधिकारीले बताए ।
‘माटोको नमूना परिक्षणको नजिता निकै खतरा जनक छ, सबै वडाको माटोको नमूना परिक्षण गर्दा माटोको अम्लियपना (पीएच) चार भन्दा कम पाइनु भनेको विस्तारै यहाँको माटो मरूभूमिकरण तर्फ धकेलिनु हो ’ अधिकारीले भने ‘विरूवालाई चाहिने अर्थात माटोमा हुनुपर्ने नाइट्रोजन, फसफोरसको मात्रा चाहिने भन्दा कम छ, पोटासको मात्रा भने मध्यम पाइएको, बाली विरूवालाई आवश्यक खाद्यतत्व सकिदै जानु भनेको पनि चिन्ताको विषय हो ।’
करिब डेढसय वर्ष अघिदेखि खेती गरिंदै आएको यसक्षेत्रको माटोमा प्राकृतिक वर्षा बढी हुनु, वर्षाका कारण माटोमा चाहिने पोटास, फसफोरस, नाइट्रोजन जस्ता आवश्यक तत्व घुलेर चुहेर जानु, यूरिया जस्ता रासायनिक मलको प्रयोग बढी हुनु, प्राङ्गारिक मल, कृषि चूनको प्रयोग घट्नु आदि कारणले माटोमा समस्या आएको अधिकारी बताए । ‘बाली विरूवाको खाद्यतत्व सकिएर अम्लियपना बढेपछि मेटालिक धातु फलाम, तामा जस्ता तत्व घुलनशील हुनेहुँदा माटो विषालु बन्छ,’ अधिकारीले भने ‘अम्लियपना बढेर माटो बिग्रिएपछि बाली विरूवाको पात डल्लो पर्ने, जराको विकास नहुने, विरूवा पहेंलो हुने, भटमास, केराउ, मटर जस्ता कोशेबाली, अदुवा र कोपी जस्ता फसलको उत्पादन नहुने जस्ता असर देखिने गरेको छ ।’
विरूवानै नउम्रने र मरूभूमिमा परिणत हुने खतरालाई मध्यनजर गर्दै अब किसानहरूले माटो बचाउन, कुखुराको सुलीजन्य मल, कृषि चून (जस्मा चूनखानीको ढुङ्गाबाट पिसिएर बनाइएको क्याल्सियम तत्व भएको हुन्छ ।) प्राङ्गारिक तथा गाईवस्तुको मल, गहुँतको प्रयोग बढी भन्दाबढी गरेर माटो बचाउनु पर्ने अवस्था रहेको अधिकारी बताउँछन् ।
नगरक्षेत्रको माटोको नमूना परिक्षण गर्दा नतिजा फरक आएपछि अब कसरी किसानलाई सचेत गराउने र माटोको उपचार विधि अपनाउने भन्ने कार्यको थालनी आवश्यक रहेको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई बताउँछन् । ‘हामीले नगरक्षेत्रको माटोलाई संरक्षण गरि मानव स्वास्थ्यमा समेत ध्यान दिंदै रासायनिक विषादी मुक्त अभियान थालेका छौं,’ राईले भने ‘हरेक कृषि उत्पादनलाई अर्गानिक नगरे सूर्योदयको भविष्य सकिन्छ, त्यसैले क्रमशः रासायनिक विषादी र मललाई प्रतिबन्ध गर्दै अर्गानिक उत्पादनलाई बढावा दिने लक्ष्यमा हामी छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार