आज २०७५ साल मंसीर १० गते । मेरो लागि एक ऐतिहासिक दिन । प्रत्येक व्यक्तिको व्यक्तिगत जीवनमा यो ऐतिहासिक दिन पनि फरक फरक हुँदोरहेछ क्यारे । आज भन्दा ठीक बीस बर्ष अगाडि वा २०५५ साल मंसीर १० गते मैले महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा प्राध्यापन कार्य शुरु गरेको दिनलाई नै मलाई आफ्नो ऐतिहासिक दिन भन्न मन लाग्यो । सायद त्यहि दिनदेखि शिक्षण पेशासँग गहिरो लभ परेकाले हो वा आफ्नो जीवनको उर्जाशिल समय शिक्षण पेशामा समर्पण गरेकाले हो वा प्राण धान्ने दानापानी त्यहि दिनदेखि निरन्तर रुपमा पाएकाले हो वा अन्य कुनै कारणले हो मलाइ चाहिँ आफ्नो जीवनको लागि ऐतिहासिक दिन आजै हो जस्तो लाग्यो । क्याम्पसमा प्राध्यापन कार्य शुरु गरेका दिन म विद्यार्थी छँदै तत्कालिन क्याम्पस प्रमुख धर्मप्रसाद उप्रेतिले अंग्रेजी शिक्षा पढाउने शिक्षकको अभाव औंल्याउँदै व्यक्त गरेको विचार र दृश्य मेरो मन मष्तिस्कमा जस्ताको तस्तै नाचिरहेको थियो । वहाँले संकेत गरे झैं त्यो दिन अंग्रेजी शिक्षकको अभाव टार्न केही न केही सफल भए जस्तो लागेको थियो । थप जिम्मेवारी बोधले थिचे जस्तो पनि लागेको थियो । विद्यार्थी छँदै धर्म सरले संकेत गरेको जिम्मेवारी सफलतापूर्वक फत्ते गर्न सक्छु वा सक्दिन भन्ने कुराले कताकता पोले जस्तो पनि भएको थियो । म यस क्याम्पसको विद्यार्थी हुँदा क्याम्पसमा अंग्रेजी शिक्षकको चरम अभाव थियो । शैक्षिक शत्र निकै बितिसक्दा पनि अंग्रेजी विषयको पढाइ नभएपछि हामी विद्यार्थी तुरुन्त अंग्रेजी शिक्षकको व्यवस्था गरियोस् भन्ने माग राख्दै निकै आक्रोसित रुपमा क्याम्पस प्रमुखज्यूको कार्यकक्षमा पुग्यौं । तत्कालिन क्याम्पस प्रमुख धर्मसरले अंग्रेजी शिक्षाको शिक्षक तत्काल व्यवस्था गर्न सम्भव नभएकाले पछि तपाईहरु नै आएर पढाउनु भन्दै हामीलाई फर्काईदिनुभएको थियो । वास्तवमा त्यतिखेर नेपालमा अंग्रेजी पढाउने शिक्षकको चरम अभाव भएकैले धर्म सरले हामीलाई त्यस्तो जवाफ दिनु भएको रहेछ ।
उक्त घटना घटेको लगभग आठ बर्ष पछि तत्कालिन सहायक क्याम्पस प्रमुख खगेन्द्रप्रसाद चापागाँई अंग्रेजी शिक्षा पढाउने शिक्षकको उस्तै उस्तै अभाव रहेको भन्दै मैले स्नातकोत्तर तहको पढाइ नसक्दै काठमाण्डौस्थित मेरो कोठैमा पुग्नुभएछ । वहाँले त्यसो भन्नासाथ धर्म सरले व्यक्त गर्नु भएको उक्त अभिव्यक्ति झल्झली याद आयो । स्नातकोत्तर तहको परिणाम सार्वजनिक हुनासाथ म.र.व.क्याम्पसमा आएर सकेको सेवा गर्ने वचन मैले खगेन्द्र सरलाई दिएँ । वचन बमोजिम नै क्याम्पस आँए । त्यति बेलाको चलन अनुसार क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र विषय विशेषज्ञले मेरो कक्षा अवलोकन गर्नुभयो । विषय विशेषज्ञ आदरणीय गुरु रामचन्द्र पराजुलीले अन्तर्वाताको क्रममा सोध्नुभएका प्रश्न मेरा मन मष्तिस्कमा अझै ताजै छन् । वहाँले पेशाप्रति देखाउनुभएको प्रतिबद्धता र जिम्मेवारी बोधले त झन् मेरो प्राज्ञिक जीवनमा दीर्घकालिन असर नै पा¥यो । वहाँ क्याम्पसमा कार्यरत रहँदा अंग्रेजी शिक्षा अध्ययन गर्ने विद्यार्थीको नियमित उपस्थिति र सक्रिय सहभागिता हाल कायम गर्न नसकेकोमा निकै दःुख समेत लागेको छ । जे होस् २०५५ साल मंसीर १० गतेदेखि करार शिक्षकको रुपमा नियुक्ति गरिएको कागज तत्कालिन क्याम्पस प्रमुख धरणीप्रसाद गौतमले मेरो हातमा थमाइदिएको आज ठ्याक्कै बीस बर्ष पुगेछ ।
नेपालकै सबभन्दा जेठो विश्वविद्यालय त्रिवि जत्तिकै पाको म.र.व.क्याम्पस, इलाममा प्राध्यापन कार्य शुरु गरेको बीस बर्षपछि अनुभव गरिएका र मेरो जागिरे जीवनमा पेशाप्रति बढि जिम्मेवारी बोध गराउने बिभिन्न ऐतिहासिक कडी मध्ये केही उल्लेखनीय कडी यो ऐतिहासिक दिनको अवसर पारेर स्मरण गर्न मन लाग्यो । स्थापनाकाल वा त्यसपछि यस क्याम्पसको विकास र प्राज्ञिक उन्नयनमा आफ्नो जीवनको उर्जाशिल समय व्यतित गर्नु भएका आदरणीय गुरुवर्ग, हाल कार्यरत प्राध्यापक तथा कर्मचारी वर्ग, विद्यार्थी र क्याम्पसको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पु¥याउदै आउनुभएका क्याम्पसका शुभ चिन्तक एवं सम्पुर्ण सरोकारवालाले क्याम्पसको भाग्य र भविष्यका बारेमा अब अलिक फरक ढंगले परिवर्तित समयको माग र आवश्यकता बमोजिम आवश्यक चासो, चिन्ता, र चिन्तन गर्नैपर्ने समय आएको छ भनेर बीस बर्षे अनुभवको सार कुरा वहाँहरुसमक्ष प्रस्तुत गर्नु भन्दा बाहेक यो स्मरणको खास उद्येश्य अन्य केही पनि छैन ।
अनुभवको सार
म.र.व. क्याम्पस, इलामलाई नेपालको आवश्यकता र एक्काइसौं शताब्दी सुहाँउदो गुणस्तरिय शैक्षिक जनशक्ति उत्पादन गर्न सक्ने पूर्वी नेपालकै एक प्रतिष्ठित प्राज्ञिक थलो र शैक्षिक केन्द्रका रुपमा विकास गर्नु वर्तमान समयको माग र आवश्यकता दुवै हो भन्ने गहिरो अनुभुति नै यो बीस बर्षे अनुभवको सार हो । तर क्याम्पसको वर्तमान गति, चालढाल र हालत हेर्दा क्याम्पसले त्यो दिशा पक्रने कुरामा सन्देह पैदा भएको छ । म.र.व. क्याम्पस, इलामको भाग्य र भविष्यका सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्दा यस क्याम्पसको जीवन त्रिवि केन्द्रिय कार्यालयमा हुने कृयाकलापबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित हुँदोरहेछ । अर्थात् जुन दिनदेखि त्रिविमा प्राज्ञिक मुल्य मान्यताको जरा काट्ने कृयाकलाप हावी हुन थाले, त्यहि दिनदेखि यस क्याम्पसको जीवन पनि धेर थोर प्रभावित हुन थालेछ । कुनै पनि विश्वविद्यालयको प्रमुख पहिचान भनेकै त्यस विश्वविद्यालयमा हुने गहन अध्ययन अनुसन्धान जस्ता प्राज्ञिक गतिविधि नै हुन् भन्ने कुरा विश्वव्यापी सत्य कुरा रहेछ । त्रिविमा अनेक समस्याको चाङ निकै अग्लो भए पनि विश्वविद्यालयको जीवन पद्धति बन्नु पर्ने गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान जस्ता प्राज्ञिक कार्यमा परेको चर्काे खडेरी नै त्रिविको प्रमुख समस्या रहेछ । विश्वविद्यालयमा प्राज्ञिक कार्यमा खडेरी पर्ने अवस्था सिर्जना गरेर समग्र विश्वविद्यालयलाई नै मरणासन्न अवस्थामा पु¥याउने जघन्य अपराधी प्रवृत्ति भनेकै विश्वविद्यालयमा जरा गाडेर बसेको पद र पैसा केन्द्रित् अत्यन्तै फोहोरी दलीय चलखेल नै रहेछ । म विद्यार्थी छँदै त्रिविका उपकुलपति बनेका र आज नेपालको शैक्षिक जगत्मै एक गौरवशाली शिक्षकको पहिचान बनाउन सफल व्यक्तित्वको निकै मननीय अनुभव विश्वविद्यालयको प्राणरुपी प्राज्ञिक कार्यलाई ध्वस्त बनाई त्यस्तो गलत चलखेललाई बढावा दिने कुराको बलियो प्रमाण हो जस्तो लागेर ती आदरणीय व्यक्तित्वका केही उल्लेखनीय अनुभव यो ऐतिहासिक दिनमा विशेष स्मरण गर्दै यस क्याम्पसका सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गरौं जस्तो लाग्यो ।
उल्लेखनीय अनुभव
नेपालको राणा शासन विरोधी आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवन बलिदान गर्नुभएका आदरणीय शहीद धर्मभक्त माथेमाको परिवारमा जन्मिएर त्यो बलिदानपूर्ण आदर्शबाट प्रभावित व्यक्तित्व केदारभक्त माथेमा वि.स.२०४८ सालमा त्रिविको उपकुलपति बन्नुभएछ । वहाँ उपकुलपति बन्नु भन्दा अगाडि वहाँले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष निकै कडा शर्त राख्नुभएको थियो रे भन्ने कुरा त निकै सुनिएकै थियो । तर ती शर्त के कस्ता थिए भन्ने कुरा खासै स्पष्ट हुन सकेको थिएन । वहाँले हालसालै दिनुभएको एक अन्तर्वातामा ती शर्त स्पष्टसँग उल्लेख गर्नुभएको रहेछ । वहाँले राखेका ती शर्तको मर्म र भावनाको ढिलै भए पनि कदर गर्ने हो भने म.र.व.क्याम्पस इलाम मात्र नभएर नेपालका सबै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्रकै गिर्दाे शाख उक्सन सक्ने सम्भावना अझै बाँकी रहेछ जस्तो लागेर पनि वहाँको अनुभव यो ऐतिहासिक दिनमा स्मरण गर्न खोजिएको हो । वहाँलाई तत्कालिन प्रधानमन्त्रीले त्रिविको उपकुलपतिका लागि प्रस्ताव राख्दा वहाँले राखेका ती कडा शर्त जम्मा तिनवटा रहेछन् । एक, पाटीको झण्डा बोकेर भागबण्डा गर्ने शर्तमा विश्वविद्यालय नजाने । दुई, विश्वविद्यालयको स्वायत्तताको सम्मान गर्दै विश्वविद्यालयमा सरकारले कुनै हस्तक्षेप नगर्ने । तिन, आवश्यक परेको बेला सरकारले पूरै सहयोग गर्नु पर्ने । वास्तवमा प्रधानमन्त्रीले यी तिनैवटा शर्त स्वीकार गरेपछि मात्र वहाँ त्रिविको उपकुलपति पद स्वीकार गर्न तयार हुनु भएछ । मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बन्नु भएका मनमोहन अधिकारी समेत वहाँले उपकुलपति पदबाट राजीनामा दिदा सबभन्दा बढि दुःखी हुनुभएको कुरा वहाँ स्वयंले उक्त अन्तर्वातामा बताउनु भएको छ । (हे. शिक्षक, कार्तिक, २०७५, पृष्ठ ः ३४)
केदारभक्त सरले आफू उपकुलपति हुँदा प्रधानमन्त्री समक्ष राखेका उक्त तिन शर्त र तिनै शर्तमा टेकेर काम गर्दैगर्नुभएका व्यक्तित्वले राजीनामा दिदा सबभन्दा बढि दुःखी हुनुभएका प्रधानमन्त्री भएकै सरकारका गृहमन्त्री तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केदारभक्त सरको उक्त मान्यतालाई आजकै मितिमा भएपनि व्यवहारमा उतार्ने वातावरण बनाइदिनुभयो भयो भने म.र.व.क्याम्पस, इलाम लगायत नेपालको समग्र शैक्षिक जगतलाई नै निकै ठूलो गुण लाग्ने थियो होला । त्यस्तो गुण लगाउन प्राज्ञिक मुल्य मान्यताको धज्जी उडाउने अपराधी पात्र र प्रवृत्तिलाई मात्र वर्तमान प्रधानमन्त्रीज्यूले पुरस्कृत नगरिदिए पुग्छ । हुनत प्रधानमन्त्रीज्यूले हालसालकै एक टेलिभिजन अन्तर्वातामा प्राज्ञिक मुल्य मान्यता माथि कुनै हस्तक्षेप नगर्ने मौखिक प्रतिबद्धता व्यक्त गरेको कुरा प्रत्यक्ष रुपमै हेर्न र सुन्न पनि पाइयो । तर नेपालका नेताले जे बोल्छन् त्यसको ठीक विपरित आचरण प्रदर्शन गर्छन् भन्ने मनोबिज्ञानले गहिरो छाप छोडेको हुनाले प्रधानमन्त्रीज्युको उक्त प्रतिबद्धता सुल्टो वा उल्टो के हुने हो भन्ने कुरा अनुभुति गर्न वहाँकै राजनीतिक विचारबाट प्रभावित प्राध्यापकहरुको हालीमुहाली रहँदै आएका म.र.व.क्याम्पस, इलाम जस्ता शिक्षण संस्थाका प्राध्यापकहरुले भविष्यमा प्रदर्शन गर्ने व्यवहार नै कुर्नु पर्ला । नेपालका नेताको भनाइ र गराइ ठीक विपरित हुन्छ भन्ने कुराको पुष्टी गर्न त गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री छँदा केदारभक्त सरका शर्तको सम्मान गरे झैं गर्दै विश्वविद्यालयमा आलोपालो चरम काँग्रेसीकरण र एमालेकरणका गीत चर्काे स्वरमा गाउने नाटक मञ्चन गरेर विश्वविद्यालयका प्राज्ञिक मुल्य मान्यता ध्वस्त गर्ने सवालमा दुवै दलले अघोषित रुपमा गरेको कार्यगत एकताको ताजा इतिहास नै काफी होला । त्यतिखेरै जन्मिएको चरम दलीयकरण नामको त्यो बालक आज निकै जवान, खाइलाग्दो र मस्त उमेरको मज्जा उत्कर्षमै पुगरे लुटिरहेको रहेछ । ऊ यति जब्बर, महशुर, बलवान र खत्तरनाक डन भएछ कि, उसले दुई तिहाइको शक्तिशाली भनिएको सरकारलाई समेत कान्छी औंलाले नै सजिलै पछारिदिदो रहेछ ।
निश्कर्ष
जे होस्, नेपालको शैक्षिक जगत्ले भरोसा गरेका एकजना सम्मानित व्यक्तित्व केदारभक्त सरका शर्तकै मर्म र भावनालाई कदर गर्ने खालको अभिव्यक्ति सार्वजनिक रुपमै व्यक्त गर्नु भएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता वास्तविक जीवनमा अनुभुति गर्न पाइयोस् । प्रधानमन्त्रीज्यूकै प्रतिबद्धता प्रतिकुल हुने गरी वहाँकै पाटी निकट प्राध्यापकले हाँकेका म.र.व.क्याम्पस, इलाम जस्ता शैक्षिक संस्थामा प्राज्ञिक मुल्य मान्यताको धज्जी उडाउँदै केवल पद र पैसाका लागि जति पनि गिर्न सक्ने अपराधजन्य कुकर्म भविष्यमा अनुभुति गर्नु नपरोस् । शिक्षण पेशाको उच्च सम्मान गर्दै आफ्नो पेशालाई पहिलो प्राथमिकतामा राख्ने सद्बुद्धी सम्पूर्ण शिक्षक, कर्मचारी लगायत पेशाकर्मीका मन मष्तिस्कमा पलाओस् । अनेक तिता मीठा अनुभव सँगाल्दै एक्काइसौं बर्षमा प्रवेश गरेको मेरो प्राज्ञिक जीवनका आगामी दिन एक्काइसौं शताब्दीको माग र आवश्यकता सुहाँउदा प्राज्ञिक गतिविधिमा रमाएरै बिताउन पाइयोस् । आधुनिक प्रविधियुक्त प्राज्ञिक वातावरणमा लुट्पुटिएर थाहै नपाई गुणस्तरीय अध्ययन अनुसन्धान गर्न सक्ने सहज शैक्षिक वातावरण मेरो आफ्नै क्याम्पसको पहिचान र परिचय बनोस् भन्ने कामना गर्दै यो ऐतिहासिक दिनको विशेष स्मरण गर्न चाहन्छु ।