पुरुष कन्डमजस्तै महिलाले प्रयोग गर्ने कन्डमको पनि विकास भएको पनि लामो समय बितिसकेको छ । यसलाइ फेमिडोम भनिन्छ ।
जसरी पुरुष कन्डमले अस्थायी साधनको कामसँगै यौनरोगहरू सर्नबाट जोगाउँछ, महिला कन्डमले पनि त्यस्तै काम गर्छ । महिला कन्डम यौनसम्पर्क गर्नुअघि महिलाको योनिमा लगाइन्छ । सामान्य पुरुष कन्डमको तुलनामा महँगो हुने भएकाले विकासोन्मुख देशमा भन्दा विकसित देशमा यसको प्रयोगदर बढी छ ।
कन्डममा कुनै हार्मोन नहुने हुँदा शरीरमा साइड इफेक्ट नहुने विज्ञहरू बताउँछन् । नेपालमा भी अमोर ब्रान्डमा फेमिडोम उपलब्ध छन् ।
विश्व कीर्तिमान
नाकबाट सबैभन्दा धेरै कन्डम छिराउने व्यक्ति रेनी स्टक हुन् । उनले तीनवटा कन्डम एकैपटक नाकबाट छिराएर मुखबाट निकालेको विश्व कीर्तिमान छ । यो कीर्तिमान उनले सन् २०१२ मा बनाएका हुन् ।
रूसका कार्लोमाले कन्डम प्रयोग गरी सबैभन्दा अग्लो ठाउँबाट बन्जीजम्प गरेर विश्व कीर्तिमान बनाएका छन् । ३० मिटर अग्लो उक्त बन्जीजम्पका लागि १८ हजार ५ सय कन्डम प्रयोग गरिएको थियो । उक्त कीर्तिमान तोड्न त्यस्तै अर्को जोखिम नमोल्न सर्वसाधरणलाई चेतावनीसमेत दिइएको छ ।
एक मिनेटमा १२ पटकसम्म नाकबाट कन्डम छिराएर मुखबाट निकालेको विश्व कीर्तिमान केभिन गिट्सामको नाममा छ ।
हालसम्म निर्माण गरिएको सबैभन्दा लामो कन्डमको लम्बाइ २२ दशमलव ९५ मिटर (२ सय ४७ फिट) छ । भारतमा निर्माण भएको उक्त कन्डम १८ नोभेम्बर २०१६ मा कन्डमसम्बन्धी जनचेतना अभिवृद्धिका लागि नमुनाका रूपमा प्रदर्शन गरिएको थियो ।
संसारकै सबैभन्दा सानो कन्डम चीनको जिडीयुआर कम्पनीले निर्माण गरेको छ, जुन शून्य दशमलव ००१४ इन्चको भएको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ । यसअघि उक्त कीर्तिमान जापानमा बनेको कन्डमको नाममा थियो । उक्त जापानी कन्डम शून्य दशमलव ०३८ मिलिमिटरको थियो ।
सन् २०१५ को तथ्यांकअनुसार महिला तथा पुरुष दुवैले प्रयोग गर्ने कन्डम सबैभन्दा बढी खपत गर्ने देश जिम्बावे हो । सन् २०१५ मा जिम्बावेमा १५ करोड ७० लाख थान महिला तथा पुरुष कन्डम वितरण गरिएको थियो ।
– साप्ताहिक