‘सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन’

  सरलपाटी सम्वाददाता

 548 पटक हेरिएको

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार इतिहासकै नालायक सरकार भएको आरोप लगाएका छन् । सिटौलाले सरकारले नौं महिनाको अवधिमा एउटै पनि गणनायोग्य काम गर्न नसकेको बताए ।
इलाम सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार पूर्ण रूपमा असफल भएको दाबी गरे ।
नेता सिटौलाले वर्तमान सरकारले संवैधानिक सीमा नाघेर काम गरिरहेको पनि आरोप लगाए । ‘सरकार एक दलीय सोँचका साथ अघि बढिरहेको छ ।’ उनले भने, ‘सरकार मैले जे गरेपनि भन्ने स्वेच्छाचारी रुपमा लतारेर अघि बढिरहेको छ ।’ उनले लोकतन्त्रको माध्यमबाट सत्तामा पुगेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेर लोकतन्त्र माथिनै प्रहर गर्न थालेको बताए ।
‘सरकारले जनताका लागि काम गर्न सकेन ।’ उनले भने,‘कम्युनिष्टहरू सरकार बलियो बनाउनभन्दा पनि पार्टी बलियो बनाउन लागि परेको छ, अदालतलाई कमिटी अदालत बनाइरहेका छन्, संवैधानिक निकायहरुले हातहतको कमिटी बनाउन खोजिरहेका छन् ।’
सिटौलाले नेपाली कांग्रेसले आन्तरिक समस्याका कारण बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको पनि बताए । पार्टी सभापतिले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको बताउँदै सिटौलाले सभापति देउवाले पार्टी कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाए । कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौलाले पार्टीले एकताबद्ध र सही तरिकाले काम गर्न नसक्नुको दोष भने पार्टी नेतृत्वलाई लाएका छन् । ‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु ?’ उनले भने, ‘अहिले त कांग्रेसको योजना नै छैन ।’
मुुलुकी संहीतामा पुनर्विचार
सिटौलाले प्रेस स्वतन्त्रताको विषयमा कुनै संझौता नहुँने बताए ।
उनले सरकार पत्रकारले आफ्नो गुणगान मात्र गाओस् भन्ने चाहना राखेर उनीहरुको मनोबल गिराउने र त्रसित बनाउने काम गरिरहेको बताए । ‘पत्रकारलाई धरपकड गर्ने, तारेख राख्ने, मनोबल गिराउने काम सरकारले दोहोर्याइरहेको छ ’ उनले भने, ‘प्रेसमाथिको आक्रमण भनेको लोकतन्त्र माथिको आक्रमण हो यो स्वीकार्य हुन्न ।’ उनले प्रेसलाई अंकुश लगाउने गरी ल्याइएको मुलुकी संहीतामा पुनर्विचार गरिनु पर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार