केरलाको जितमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

  सरलपाटी संवाददाता

 714 पटक हेरिएको

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा केरला किङ्सले बुधबार राति टि-१० लिगमा विजयी शुरूआत गरेको छ । साविक विजेता केरलाले पाखतुनलाई ८ विकेटले पराजित गरेको हो । म्यान अफ दी म्याच घोषित सन्दीपले २ ओभरमा १७ रन दिएर ३ विकेट लिएपछि पाखतुनले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । जुन केरलाले ७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

सारजाह क्रिकेट मैदानमा केरलाका कप्तान इयान मोर्गानले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । सन्दीप लामिछानेले आफ्नो स्पेलको पहिलो ओभरको पहिलो बलमै आन्द्रे फ्लेचरलाई कप्तान मोर्गानमार्फत क्याच गराए। त्यसपछि दोस्रो र तेस्रो बलमा क्रमशः १ र २ रन दिएका सन्दीपको तेस्रो बलमा क्यामरून डेलपोर्टले छक्का हानिदिए । डेलपोर्टले पाँचौ बलमा १ रन लिए । सन्दीपले अन्तिम बलमा कोलिन इनग्रमलाई विकेटकिपर थरङ्गामार्फत स्टम्पिङ गराए ।

चाैथो ओभर सकिँदा १-४८ को स्थितिमा रहेको पाखतुन पाँचौं ओभर सकिंदा ३-५८ को अवस्थामा थियो । छैटौं ओभरमा मोहम्मद नाभिदले ११ रन दिए । सातौं ओभरमा सन्दीपले ७ रन दिएर १ विकेट लिए । सन्दीपले मुहम्मद कलीमलाई किरण पोलार्डमार्फत क्याच गराए ।१ सय १० रनको लक्ष्य पूरा गर्ने क्रममा केरलाका कप्तान मोर्गानले ४६, पाउल स्टर्लिङले अविजित ४०, क्रीस गेलले १३ र किरण पोलार्डले ११ रन बनाए । त्यसअघि राजपुतले सिन्धिसलाई १० विकेटले हरायो । केरलाले अब आज सिन्धिसबिरूद्ध खेल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार