
प्रधानमन्त्रीले कर दिवसले सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजूभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न प्रोत्साहित गरोस भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिंदैन् । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन् । यो आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिवद्द यो सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘चालू आर्थिक वर्ष २०७५÷७६ को असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धी हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा आम्दानी करको संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउने छ र समृध्द नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प अवश्य पूरा गरिनेछ ।’
प्रधानमन्त्रीले वर्षौदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै अब स्रोतको प्रभावकारी परिचालन गदै आर्थिक वृद्धि दरलाई तीव्र र दीगो बनाउन राज्यका सबै संरचनाहरुको परिचालन हुनै पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले भने, ‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्गचित्र कोरिसकेका छौं । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रुपमा गर्न आवश्यक छ ।’
प्रधानमन्त्रीले सरकार आय आर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगेको जनाएका छन् । ‘तर सरकारले सुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप कृयाशीलता आवश्यक पर्दछ,’ सन्देशमा भनिएको छ, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरे वापत तिर्नु पर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्य कोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिए वापत कर तिर्नु पर्छ भन्ने सोच हुन्छ ।’


570 पटक हेरिएको 






