चाडबाडको खर्चले रुख्याएको किसानलाई निकाल्न ठिक्क भएको अदुवाको भाउले यस पटक भने राहत मिलेको छ । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँचसय देखि हजार रुपैयाँ प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यसपटक भने सन्तोषजनक मुल्य पाएका छन् । यो वर्ष दुई हजार पाँच हाराहारीमा प्रतिमन अदुवा विक्री भइरहेको छ । चाडबाड मनाएर फसल उठाउँन थालेका किसानलाई अदुवाको भाउले राहात अनुभूति भएको हो ।
इलामको माइजोगमाई स्थित प्रेमेजुङका भक्त खवास चाडबाड मनाएर अदुवा खन्ने तरखर गर्दैछन् । ४५ मन अदुवा खेती लगाएका उनले दुई सय २५ मन भन्दाबढि अदुवा उत्पादन हुने अनुमान गरेका छन् । एकै सिजनको अदुवा विक्री गर्दा खवासलाई पाँच लाख ५० हजार रुपैयाँ हाराहारी आम्दानी हुन्छ । चाडपछि अदुवाको भाउ अझै बढ्ने किसानको आशा छ । ‘दशै तिहारपछि अदुवाको भाउ केही बढ्छ कि भन्ने आशा छ’–उनले थपे–‘दुई हजार सात सय जति भाउ भएपछि अदुवा बेच्ने बिचार छ ।Õ बिउ राखेको अदुवा अहिलेको भन्दाबढि मुल्यमा विक्री हुन्छ । बढि मुल्य पाइने भएपछि किसानले बिउको लागि समेत अदुवा राख्ने गरेका छन् ।
इलामको देउमाई नगरपालिका–८ जितपुरका रोम अधिकारी बारीमा अदुवा निकाल्दै गरेको भेटिए । २५ मन अदुवा फलाएका उनी अदुवाको राम्रो मुल्य पाउँदा दंग छन् । ‘यत्तिको भाउ पाउने हो भने किसानलाई समस्या हुँदैन’ –उनले थपे–‘अदुवाको भाउ घटबढ भइरहन्छ, त्यसैले अलि राम्रो मुल्य पाएको बेला बेच्नलाई अदुवा निकाल्दैछु ।’ भाउ राम्रो भएपछि ब्यपारीहरु किसानको बारीमानै पुग्ने गरेका छन् । अझ कति व्यवसायिले खाफै खनेर अदुवा लैजाने गरेको छन् । अधिकारीले पनि गाउँकै ब्यपारीलाई बारीमानै मोलमोलाई गरेर अदुवा विक्री गरेका हुन् । दुई रोपनी जग्गामा जम्मा पाँच अदुवा रोपेका अधिकारी अदुवाको कमाइमा खुशी ब्यक्त गरे ।
जीतपुरका जसबहादुर राईले पनि यो पटकको अदुवाको भाउले उत्साहित बनाएको बताए । ‘यत्तिको भाउ आएपो खेती गर्न पनि मन लाग्छ ’ –उनले अघि थपे–‘केही बेला त चार पाँच सयमा पनि नबिक्ला जस्तो हुन्छ ।’ राई अदुवाको बगानै किन्छन् । त्यसलाई खनेर उनले पनि स्थानीय ब्यपारिलाईनै अदुवा विक्री गर्ने गरेका छन् । मनको एक दुई सय मात्रै नाफा हुँदा पनि उनको कमाई राम्रै हुन्छ । ‘बगानमानै मोलमोलाई गर्दा कहिले राम्रै नाफा हुन्छ ’ –उनले भने ।
व्यवसायिलाई पनि यो सिजनमा अदुवा निर्यातमा समस्या छैन । अघिल्लो वर्ष विभिन्न बाहानामा भारतले अदुवा निर्यातमा अवरोध गर्दा ब्यवसायिले ठूलै समस्याको सामना गर्नुप¥यो । तर, यो पटक अदुवा सहजै अदुवा निर्यात भइरहेको बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले बताए । ‘हामी अनुवा पनि पहिलेको भन्दा राम्रो बनाएर पठाउँछौ’ –उनले थपे–‘यसपालि खासै समस्या भएको छैन ।’
अघिल्लो वर्ष उत्पादनको राम्रो मुल्य नपाएपछि किसानले खेती घटाएका छन् । त्यसैले अदुवाको उत्पादन पोहोर भन्दा कम हुने व्यवसायीको अनुमान छ । ‘यो वर्ष पोहोरजति अदुवा छैन’ –पौडेलले भने–‘अघिल्लो वर्ष अदुवा बेच्नै समस्या भएपछि धेरैले अदुवा रोपेकै छैनन् ।’
नेपालमा उत्पादन भएको धेरैजसो अदुवाको बजार भारत हो । इलाममा उत्पादन भएको अदुवा झापाको धुलबारी हुँदै भारतको सिलिगुडी निर्यात हुन्छ । इलाममा तीन हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा अदुवाको खेती गरिदै आएको छ । जिल्लामा मात्रै ११ लाख ४९ हजार आठसय ५० मन अदुवा उत्पादन हुन्छ । अदुवाको निकासीबाट इलाममा दुई अर्ब ८७ करोड ४६ लाख २५ हजार रुपैयाँ भित्रिने गरेको छ ।