तिहारका पाँच दिन, कुन दिन कसरी मनाउने ?

  सागर गुरागाईं

 1347 पटक हेरिएको

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीया सम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन सम्मचल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी दिनहरुलाई यमपञ्चक भनिएको हो । यम सूर्यपुत्र हुन् । खासगरी बहुलदेवतामा कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहार जस्ता नाम दिई पाँच दिनसम्म धूमधामले यो चाड मनाइन्छ । दीपमालिका तिहारको अर्को विशेषपक्ष हो । तिहार फूलैफूलको पर्व हो, झिलीमिलि बत्तीको उज्यालो पर्व हो । तिहार देउसी, भैली अनि फलफूल मिठाई र सेलरोटी खाने पर्व पनि हो । दशैंको विशेषता मध्ये पहेंलो जमरा भएझैं तिहारको विशेषता फूलैफूल, झिलीमिली बत्ती अनि सेलरोटी एवं मिठाईहरुको परिकार खाने पर्व पनि हो । मानिसको पशुपन्छि एवं दाजुभाईको दिदीबहिनीसँग मिलन गराउने पर्वको रुपमा पनि तिहारलाई लिन सकिन्छ ।
कागतिहार
यमपञ्चकको पहिलो दिनबिहान घर लिपपोत गरि शुद्ध बनाई आँगनमा वैदिक विधिविधान अनुसार यमदुतका रुपमा कागको पूजा गरिन्छ र कागलाई मीठो लाग्ने खाना दिइन्छ । कागलाई यमराजको दूत, सत्यवादी, भविष्य द्रष्टा र सन्देशवाहक पन्छी मानिन्छ । कागले पौराणिक रुपमा मात्र नभएर सामाजिक रुपमापनि घर गाँउमा रहेका कतिपय फोहोरमैला खाएर वातावरण सफागर्ने गर्छ ।
कुकुरतिहार
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशी अर्थात् कुकर तिहार भनिन्छ । यस दिन बिहानै तेल लगाएर दतिउन गरी स्नान गर्नुपर्दछ । आफ्ना पितृहरुलाई सम्झेर नद ीतलाउमा दीप प्रवाह गरिन्छ । त्यसपछि कुकुर पुजा गरिन्छ । कुकुरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ । कुकुर तिहारका दिन शरीरमा तोरीको तेल मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिने जनविश्वास छ ।
गाईतिहार र लक्ष्मीपूजा
यमपञ्चकको तेस्रो दिन अमावस्यालाई लक्ष्मीपूजा वा गाईतिहारे औसी पनि भनिन्छ । यस दिन बिहानै घर लिपपोत गरी सफा भई लक्ष्मीलाई समन्त्र पूजन गरिन्छ । घरमा धनधान्य लक्ष्मीको प्रतिमूर्ति गाईको सिङ, खुरमा तेल, घाँटीमा माला लगाइन्छ र फलफूल, रोटी(बाबर) लगायत मीठामीठा खाद्य सामग्री समेत खुवाई पूजा गरिन्छ । यसैदिन धनकी देवी लक्ष्मीको पूजा पनि हुन्छ । यस रात्रिलाई सुखरात्रि पनि भनिन्छ । यस दिन देउसीभैलो पनि खेलिन्छ । साँझ पख महिला, पुरुष, बालबालिका समूह बनाइ भैली राम भन्दै घरघर डुल्छन् र लक्ष्मीवास गर्ने आशीर्वाद दिन्छन् । यशकीर्ति, ऐश्वर्य, उन्नतिका लागि सन्ध्याकालमा कोठा, प्राङ्गण, गौशाला जलाशय आदिमा दियो बाल्ने गरिन्छ ।
यसै दिन धनकी देवी लक्ष्मी पूजा पनि हुन्छ । घर बाहिर देखि गोबरले लिपेर लक्ष्मीको पाइला बनाएर पूजाकोठा, धनसार सम्म लगिन्छ । समृद्धिको चाहना, खुशी, ऐश्वर्य, शान्ति चाहनेले लक्ष्मीपूजाका दिन विशेष धनको पूजा, कुवेरको पूजा गर्ने गर्छन् । पसल, प्रतिष्ठान, ढुकुटी, अन्न आदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्र सहित पूजा गर्ने चलन छ । घर पसल रंग्याउने फूलले सजाउने, नरिवल मसला चढाउने, रंगोली बनाउने गरिन्छ । मिठाइ, सेलरोटी, अनरसा आदि चढाइन्छ र बाँडिन्छ । ओखर, कटुस, बिमिरो सहित लक्ष्मीको प्रतिमाको पूजा गरिन्छ । आयूलक्ष्मी, कीर्तिलक्ष्मी, भोगलक्ष्मी, स्थिर लक्ष्मीको पूजा गरिन्छ । यस रात्रिलाई सुख रात्रि पनि भनिन्छ ।
गोवद्र्धन पूजा, गोरुतिहार एवं म्ह पुजा
यमपञ्चकको चौथो दिनलाई गोवद्र्धन पूजा र गोरुतिहार भनिन्छ । गोरुको पूजा गर्नु अघि गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी विधिविधान अनुसार पूजा गर्नुपर्दछ । आर्य जातिले गाईलाई विशेष महत्व दिएर माताका रुपमा सम्मान गर्ने हुनाले तिनीहरुको चरन, घाँसपात प्रदान गर्ने क्षेत्रलाई नै गोवद्र्धनका रुपमा पूजा गरिएको भन्ने गरिन्छ । यमद्धितीयाको दिन दाजुभाइ मिलेर देउसी खेल्ने प्रचलन छ । कृषि कार्यमा पशुहरु निकै सहयोगी छन् । तिनको सम्मान गर्ने उद्देश्यले यस पर्वमा विशेष गरी गोरुको पूजागर्ने चलन छ ।
यम पञ्चकका पाँचदिन मध्येको चौथो दिन कार्तिक शुक्लप्रतिपदाको दिन नेपाल संवत् सुरु हुन्छ । नेपालको इतिहासमा अभिलेखको आधारमा प्रामाणिक ढंगमा भन्न सकिने लिच्छविकाल हो ।
म्हःपूजा अर्थात् आत्मपूजागर्ने प्रचलनबाट मानिस स्वयं पूर्ण छ र आफू पूर्ण भएपछि लोकको कल्याण गर्न सकिन्छ भन्ने देखाइएको छ । भातृपूजाको रुपमा तेल हाल्ने चलनबाट दाजुभाइ र दिदीबहिनीमा रहेको सम्बन्धलाई अझ गाढा बनाउने पद्धति देखाइएको छ । दिदीभाइ र दाजुबहिनीको पर्व हो तिहार । यो पर्वमा चेलीले आफ्ना दाजुभाइको पूजा गरी उनीहरुको दीर्घायुको कामना गर्छन् ।
भाइतिहार
यमपञ्चकको पाँचौ दिनलाई भाइटीका अर्थात् भ्रातृद्धितीया भनिन्छ । यसदिन शास्त्रीय विधिविधान अनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजा गरिन्छ । बहिनी यमुनाले आफ्ना दाजु यमराजलाई यमलोकको कार्यबाट केही दिनको लागि विदा लिएर आउन निमन्त्रणा गरी आफ्ना घरमा सम्मान पूर्वक पूजा अर्चना गरेझैँ दिदीबहिनीहरुले यो दिन दाजुभाइको दीर्घायु, आरोग्यता र ऐश्व्र्य, कीर्ति आदिको प्राप्तिका लागि सप्तरंगी टीका लगाइदिने र मिष्ठान्न तथा विभिन्न परिकार खुवाउने प्रचलने रहेको छ । सयपत्री, मखमलीको माला लगाई तेलको धाराले परिक्रमा गरी यमुना, नवग्रह, विष्णु, गणेश, ब्रह्माजी आदिको पूजापनि यसै दिन गरिन्छ । यमराजका रुपमा रहेको कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामा ओखर फुटाउने चलन पनि छ । टिका लगाइ सकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छे अनुसार दक्षिणा, उपहार दिन्छन् ।
तिहार मुख्यतःधन, धान्य र सुख समृद्धिको पर्व हो । दसैंमा शक्तिको आराधना गरेपछि धनधान्यको बृद्धि, सुख समृद्धिको कामना यस पर्वमा जोडिन आउँछ । यम पञ्चकका पाँचै दिन बत्ती बाल्ने प्रचलनले यसलाई प्रकाशसँग जोड्न पुगेको छ । कागपूजा, कुकुर पूजा आदिबाट पशुपक्षीलाई पनि आफ्नो जीवनको अभिन्न अंगको रुपमा लिने पद्धति यसमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार