‘अवसर सिर्जना गर्न लगानी सम्मेलन’

  सरलपाटी सम्वाददाता

 791 पटक हेरिएको

महेश बस्नेत नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशका संयोजक हुन् । २०५४ सालमा इलाम नगरपालिकाको प्रमुख हुँदा उनले जिल्लाको भौतिक र सामाजिक विकासमा गरेको योगदानकै ‘प्रतिफल’स्वरूप २०७४ सालको स्थानीय तह निर्वाचन उनी यही नगरपालिकाबाट पुनः प्रमुख पदमा विजयी भए । अहिले पनि विभिन्न नयाँ कार्यक्रम ल्याएर चर्चामा आइरहेको इलाम नगरपालिकाले यही कात्तिक २५ गते इलाम सदरमुकाममा लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्दैछ । सिंगो इलाम जिल्ला र स्वयं लगानीकर्तासमेतलाई फाइदा पुग्नेगरी आयोजना गर्न लागिएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । देशभरका उद्योगी–व्यवसायी त्यस दिन इलाममा भेला हुँदैछन् । लगानी सम्मेलनको अवधारणा, तयारी र त्यसको उपलब्धिमा केन्द्रित रहेर इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतसँग गरिएको कुराकानीको अंश ः
……………………………………………………..
लगानी सम्मेलनको अवधारणा कस्तो हो ?

इलामको कृषि निर्वाहमुखीबाट व्यावसायीकरणमा रूपान्तरण भइरहेको छ । यसको पर्खाइ चाहिँ व्यावसायिकबाट औद्योगीकरणको बाटोमा जानुपर्छ भन्ने हो । इलाम नगरपालिका मात्र होइन, इलाम जिल्लाकै समृद्धिका लागि कुन–कुन बाटोबाट अघि बढ्दा उचित हुन्छ भन्ने कुरालाई निक्र्याेल गरेर स्थानीयसहित बाह्य पुँजीसमेत यहाँ लगानी गर्ने वातावरण बनाउने हाम्रो सोच हो । आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्न लगानी सम्मेलन इलाममा आयोजना गरिँदैछ । सम्मेलनले इलामबासीको आम्दानी बढाउँदै जिल्लालाई नै समृद्ध बनाउन दीर्घकालीन सहायता गर्छ भन्ने हाम्रो विश्वास छ ।

लगानी सम्मेलनको दिन दिनभर के–के कार्यक्रम आयोजना गरिन्छन् ?

यही कात्तिक २५ गते इलाम नगरपालिकामा रहेको जिल्ला सदरमुकामको सिटी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुनेछ । कार्यपत्र प्रस्तुतिका साथै महŒवपूर्ण व्यक्तित्वले सम्मेलनमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि एउटा निष्कर्षमा पुगेर इलामका विभिन्न क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्ने तयारी छ । सम्मेलनबाट जे निष्कर्ष आउँछ, त्यसैमा आधारित रहेर थप कार्यक्रम अघि बढ्नेछन् । सम्मेलनमा प्रस्तुत गर्नेगरी इलाम नगरपालिकाका कम्तीमा ५ वटा लगानी क्षेत्र निर्धारण गरेका छौं । कृषिमा आधारित उद्योग–व्यवसाय, पर्यटन, स्वास्थ्य, शिक्षा र जडीबुटीको क्षेत्रमा लगानी गर्ने इलाममा पर्याप्त आधार छन् । यो नगरपालिकाले इलाम नगरपालिकामा मात्रै लगानीको वातावरण बनाउन सम्मेलन आयोजना गरेको होइन । इलाम नगरपालिका भौगोलिक रूपमा पनि केन्द्रमा पर्ने जिल्लाकै सदरमुकाम हो । यहाँ आयोजना गरिने सम्मेलनले जिल्लाका १० वटै स्थानीय तहलाई फाइदा पु¥याउने हाम्रो लक्ष्य हो । जिल्लाकै आर्थिक अभियान र समृद्धिलाई सहयोग गर्न इलाम नगरपालिकाले सम्मेलनको संयोजन गरेको मात्रै हो । आयोजक सिंगो इलाम जिल्ला नै हो ।

सम्मेलनको तयारी कहाँ पुग्यो ?

कात्तिक २५ गते लगानी सम्मेलनको उद्घाटन मात्रै हुने हो । यो १ दिनले नै सबैथोक हुन्छ भन्ने सोचाइ हाम्रो होइन । सम्मेलनको तयारीका लागि कात्तिक १८ गते (आइतबार) काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ् कमर्स, नेपाल उद्योग परिसंघ, गैरआवसीय नेपालीको संस्था (एनआरएन), होटल महासंघलगायतमा आबद्ध लगानीकर्तासँग पूर्वबैठक सम्पन्न भएको छ । यो बैठकमा पनि देशभरका लगानीकर्तालाई २५ गते इलाममा ल्याउने, उनीहरूलाई इलाममा गर्न सकिने लगानीका क्षेत्रबारे जानकारी दिनेबारे छलफल भयो । इलाम लगानीका लागि ‘भर्जिन आइल्यान्ड’ छ भनेर लगानीकर्तालाई देखाइदिने प्रयास गरेका हौं । सम्मेलनको दिन प्रस्तुत हुने कार्यपत्र, भिडियो कार्यपत्र तयारी, बैठक, सरोकारवालासँगको भेलालगायत आयोजना भइरहेका छन् अहिले । एकदिन मात्रै हुने सम्मेलनलाई महŒवपूर्ण पाटोका रूपमा लिएर निरन्तर रूपमा लगानीका कार्यक्रम अघि बढाइने छ ।
सम्मेलनका लागि नगर कार्यपालिकाको मूल समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ । नगर उपप्रमुख सुशीला नेम्बाङको संयोजकत्वमा स्वागत, सत्कार तथा स्वागतद्वार निर्माण उपसमिति, वडाध्यक्ष नरेश श्रेष्ठको सयोजकत्वमा हल तथा स्वयंसेवक उपसमिति, वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन तथा संयोजन उपसमिति गठन गरिएको छ । वडाध्यक्ष नुतनदेव दुलालको संयोजकत्वमा स्टल व्यवस्थापन, वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा अतिथि आवास तथा व्यवस्थापन, नगर साहित्य कला तथा संगीत प्रतिष्ठानको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन र प्रशासकीय अधिकृत रामकुमार शाहको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । सबै उपसमिति अहिले सम्मेलनका लागि क्रियाशील छन् ।

लगानी सम्मेलनको उपलब्धि के हुन्छ ?

माथि भनिएका लगानीका क्षेत्र त थोरै मात्र हुन् । यीबाहेक इलाममा लगानीका क्षेत्र अरू पनि छन् । जहाँ लगानी गरेपनि त्यसले जिल्लाको समृद्धिमा सहयोग गर्छ । रोजगारीका सम्भावना खुल्छन्, भएका उत्पादनले बजार पाउँछन् । लगानी सम्मेलनमा बाहिरी जिल्लाका उद्योगपति मात्रै ल्याउने भनेको होइन । इलाम जिल्लाभित्र पनि महŒवपूर्ण लगानीकर्ताहरू हुनुहुन्छ, जसले साना र मझौलास्तरका उद्योगमा लगानी गरिरहनुभएको छ । उहाँहरू पैसा बोकेर कहाँ लगानी गरौं भनेर बसिरहनुभएको छ । उहाँहरूलाई कसरी प्रोत्साहित गरी यहाँ लगानीको वातावरण बनाउन सकिन्छ भन्ने सम्भावना खोज्नु पनि यसको लक्ष्य हो । जिल्लाका लगानीकर्तालाई पनि सम्मेलनमा जोडिएको छ । ठूला लगानीकर्ता र जिल्लाका लगानीकर्ताबीच सम्बन्ध स्थापना गर्न यो सम्मेलनले पुलको काम पनि गर्नेछ । यहाँ सम्भावना भएर पनि लगानी अभावमा रहेका दर्जनौं क्षेत्रले उजागर हुने मौका पाउने छन् । लगानी सम्मेलनले लगानीकर्ताको विश्वास जित्न, इलाम चिनाउन सहयोग गर्नेछ ।

सम्मेलनमा क–कसको सहभागिता रहन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गर्न आउने पक्का भएको छ । विभिन्न मन्त्रालयका मन्त्री, सांसदलगायत महŒवपूर्ण व्यक्तित्वको सहभागिता पनि तय भएको छ । सम्मेलनमा धेरै संख्याका उद्योगी–व्यवसायी मित्रहरूलाई आमन्त्रण गरेका छौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, संघीय सरकार र प्रदेश सरकारका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरूलगायतको समेत सहभागिता रहने छ । लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ् कमर्स, नेपाल उद्योग परिसंघ, एनआरएन, होटल महासंघ, नेपाल पत्रकार महासंघलगायत संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् । सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहने छ । जिल्लाका स्थानीय तहका प्रमुखसहित विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिसमेत यसमा निम्त्याइएको छ ।

इलाममा लगानी गर्न अहिलेसम्म कसैले इच्छा देखाएको छ ?

धेरैतिरबाट प्रसस्त इच्छा व्यक्त भइरहेकाले एकैपटक सबै लगानीकर्तालाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गरिँदैछ । होटल, व्यापार, उद्योग, पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी गर्नेहरू धेरै सम्पर्कमा आइरहेका छन् ।

सम्मेलनका लागि कति रकम खर्च हुन्छ ?

यति नै रकम खर्च हुन्छ भन्ने अनुमान त गरिएको छैन । तर, सकेसम्म थोरै लगानीमा यो सम्मेलन सक्ने हाम्रो लक्ष्य छ ।

अन्त्यमा केही ?

मैले अघि पनि भनें, यो सम्मेलन इलाम नगरपालिकाका लागि मात्र महŒवपूर्ण होइन, इलाम जिल्लालाई नै यहाँ सहभागी लगानीकर्ताबाट समृद्धिमा सहयोग पुग्छ । र, इलामलाई मात्र होइन, त्यसैको प्रत्यक्ष फाइदा यहाँ लगानी गर्ने लगानीकर्तालाई समेत पुग्छ । यो सम्मेलन सबैका लागि आवश्यक र महŒवपूर्ण भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याइदिन आग्रह गर्छु । र, सम्मेलनमा सहभागी हुन तपाइँको मिडियामार्फत् पनि निम्तो गर्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार