नयाँ सामन्तको अकल्पनीय कुरुप चिन्तन

  धर्म गौतम

 896 पटक हेरिएको

उहिले अंग्रेजी कविता पढाउँदा, तिनमा भएको भाव बुझाउन हाम्रा गुरुले हामीलाई अंग्रेजहरुको चाल चलन तथा संस्कृतिका बारेमा पनि धेर थोर बताउने गर्थे । त्यतातिर परिचित मानिसहरुको भेट हुँदा कुराकानीको थालनी मौसमबाट गरिन्छ भन्थे । अझ घाम लागेको समय प¥यो भने त गफगाफको थालनी नै ‘क्या राम्रो मौसम छ हगि’ जस्तो अभिव्यक्तिबाट हुन्छ भनेर सुनाउँथे । त्यसो हुनाको कारण लण्डनको मौसम अधिकतर कुहिरो लागेको र चिसो हुने भएकाले हो पनि भनिन्थ्यो ।
यता हाम्रातिर पनि त्यस्तो चलन छ । परिचितसँग बाटातिर भेट हुँदा ‘सञ्चै हुनुहुन्छ ?’ वा ‘आराममै हो नि ?’ भन्ने गर्छौं । कुनै काम गरिरहेको देखेर जान्दा जान्दै पनि ‘के गर्दै हुनुहुन्छ ?’ भन्ने चलन छ । पोखरातिरकी एक भद्र महिला भन्थिन्, ‘हाम्रातिर बाटाका छेउ बारीमा काम गर्दै गरेका दुई चार मानिस एकसाथ भेटिए भने ती सबैलाई साइनो लगाएर वा नामलिएर के गर्दैछौ भनेर सोध्ने गरिन्छ । अर्थात् ‘ए, माइली बडिआमा, कान्छी काकी, ठूली दिदी, रमा नानी के गर्दैहुनुहुन्छ ?’
यो निकै अघिको कुरा हो, अचेल त्यस्तो चलन कायम छ छैन थाहा भएन । यस्ता चलनहरुमा परिवर्तन भइरहँदो रहेछ । अचेल हाम्रामा कोही मान्ने मानिस आए तिनलाई अभिवादन गर्छौं अथवा आउनेभन्दा घरका मानिस मान्ने भए तिनले अभिवादन गर्छन् । हाम्रा गाउँघरमा उहिले कोही मान्ने मानिस आए भने उनलाई नमस्कार गर्दा बाँकी घरका ठूला बडालाई समेत नमस्कार गर्ने चलन थियो । यस्तो प्रायः महिलाहरुले गर्थे । गोडामा ढोग्ने, हातमा जिउ गर्ने र महिलाहरुले भुइँसोरी ढोग्ने चलन समेत थियो ।
यसपालिको दशैं भरखर विदा भएको छ । त्यसैले हिजोआज परिचितबीच भेट हुँदा साधारण त कुराकानीको थालनी ‘दशैं कस्तो भयो ?’ भनेर गरिन्छ । जे जस्तो भए पनि जवाफ दिनेले ‘राम्रै रह्यो’ वा ‘रमाइलै भयो’ भन्ने गरिन्छ । हाम्रो चलन कसैका पनि सामने नमिठो नबोल्ने खालको छ । यो राम्रो चलन मानिन्छ । तर अर्को नराम्रो चलन पनि छ हामीमाझ त्यो हो अरुको अनुपस्थितिमा तिनको कुरा काट्ने ।
पश्चिमाहरु भन्नु पर्ने कुरा सामनेमा नै भन्छन् । सुन्नेले पनि यसरी भनेको कुरालाई सहजरुपमा लिन्छन्, स्वीकार गर्दछन् । क्षमायाचना गर्नु परे गर्छन्, सुधार गर्नुपरे गर्छन् । होइन, प्रतिवाद गर्नु छ भने पनि सामनेमै गर्छन् । हाम्रो चलनमा भन्दा सहजरुपमा कुरा बुझाबुझ हुन्छ, मन माझामाझ हुन्छ । तर हामी मुखले हो हो भनेर मनमा तुस पाल्ने गर्छौं, अनि मौका मिल्नासाथ खोइरो खन्न पछि पर्दैनौं ।
दशैं सामान्यतया राम्रै हुन्छ । यस चाडको उत्कर्ष टीका हो । कुनै परिवारमा जुठो, सूतक आदि परे टीका लगाइन्न । तर परेजले दिने गच्छे अनुसारको खानपान गर्नुका साथै खुलेर रमाइलो गरी मनाइन्छ । लामै सरकारी विदा हुने भएकाले भेटघाटकै लागि पनि आफन्तजनकहाँ आउजाउ गरिन्छ । शुभकामना आदानप्रदान हुन्छन् ।
दशैं नेपालीहरुको ठूलो चाड हो । हुन त हिजो आज केही गैर हिन्दुहरु यो हिन्दु मात्रैको चाड हो, त्यसैले यसलाई सबै नेपालीको चाड भन्न पाइँदैन भन्ने पनि छन् । सँगसँगै केही गैर हिन्दुहरु समेत दशैंलाई चाडकै रुपमा आफ्नै पारामा मनाउने पनि छन् । यो उसरी विवाद गरिरहनु पर्ने बिषय होइन । सोचाइको कुरा हो । त्यसैले नै त हाम्रो उखानले भन्छ कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि ।
सदाभैंm यसपालिको दशैं पनि गाउँ गाउँमा जनता जनार्दनले हर्षोल्लासका साथ मनाए । उता राजधानीमा भने दशैंमा नेपाली संस्कृति र परम्पराको खिल्ली मजाले उडाइयो । गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई खारिजीमा परेको राजतन्त्रको महारानीभन्दा पनि उपल्लो शैलीमा प्रस्तुत गरिन् । अरु त अरु आफूलाई राष्ट्रपतिको सपथ गराउने पूर्व प्रधान न्यायाधीशलाई समेत घुँडा टेकेर टीका थाप्न वाद्य पारिन् । उनको यो शैलीको सर्वत्र आलोचना समेत भएको छ ।
दोस्नेहरुले त पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पनि दोसे घुँडा टेकेर टीका थापेकोमा । तर टीका लगाइदिने राष्ट्राध्यक्षको सुविधालाई हेरेर उनले घुँडा टेकी टीका थाप्नु चाकडी नभएर विनयशीलता हो भनेर पनि मान्न सकिन्छ । टीका थाप्नेलाई घुँडा टेक्नु पर्ने अवस्था आएपछि भण्डारीजीले उठेर टीका लगाइदिँदा पनि बिग्रिने त केही थिएन तर आफूलाई राष्ट्रप्रमुख ठानेर उनले त्यसरी उठ्नुलाई मर्यादा विपरित ठानिन् होला । असल संस्कार कुनै व्यक्तिमा एकै दिनमा आउने कुरा पनि होइन । त्यसैले होला कुटुम्बेरी कायम गर्नु पर्दा ‘कुल हेर्नु’ भन्ने चलन हाम्रो समाजमा नयाँ होइन । त्यो ‘कुल’ शब्दले धन दौलत होइन संस्कार दर्शाउँछ ।
यी ठूलाबढा भनिनेहरुका यस्ता चालाको कुरा उठायो भने उनका अन्धभक्तहरु भन्छन्, सुरक्षा निकायले सुन्दैन । तिनको कुरा सुन्दा गणेशमान सिंहको सम्झना हुन्छ । उहाँ भन्ने गर्नुहुन्थ्यो पुच्छरले कुकुर हल्लाउँछ कि कुकुरले पुच्छर ? पहिलो पटक उहाँले यसो भनेको सुन्दा के भनेको होला जस्तो लागेको थियो तर कुरो त गहिरो रहेछ । गणेशमान जस्ता शाहसी नेता अब पाउने कहाँ ?
अघिल्लो बर्ष नेपालले ढाकामा बंगवन्धु गोल्ड कप हात पार्दा विजयी टिमलाई सो ट्रफि प्रदान गर्न उपस्थित त्यहाँकी प्रधानमन्त्री शेख हसिनाको सादगीको निकै चर्चा भएको थियो । गएको वल्र्डकपमा क्रोएशियाकी राष्ट्रपतिको सरलताको त विश्वभर नै प्रशंसा भयो । तर विडम्वना भन्नुपर्छ हाम्रो देशमा शासन र शक्तिमा पुगेपछि मानिसहरु आफूलाई भिन्नै प्राणीमा दर्ने गर्दछन् । विद्यादेवी भण्डारी पनि यसबाट बाहिरिन सकिनन् ।
यी आफूलाई ठूलाबढा र भिन्न ठान्नेहरु आफ्नो सवारी चलाउन घण्टौं ट्राफिक जाम पार्ने गर्दछन् । मन्त्रीहरु आफ्नै जिल्ला र गाउँ जाँदा समेत आम मानिस आतङ्कित बन्ने खालको सुरक्षा घेरामा घेरिन रमाउँछन् । केही अघि एउटा कुनै नगरपालिकाको प्रमुखले नगरसभासमक्ष नीति कार्यक्रम पढ्दा उनका पछाडी बर्दीधारी दुई नगरप्रमुख स्टेजमै देखिन्थे । त्यसो गर्नुको मजा तिनलाई बेग्लै हुने गर्दो हो ।
ठूलाबढालाई सुरक्षा चुनौति हुन सक्छ । तर तिनको सुरक्षा जनतालाई दुःख नदिने गरी पनि त गर्न सकिएला नि । जस्तो, शितल निवासबाट एयरपोर्ट जान पर्दा हेलिकोप्टरको उपयोग गर्न सकिन्छ । बुलेटफ्रुफ गाडीको प्रयोग गर्न सकिन्छ । सवारीको अगाडि पछाडि सुरक्षाको गाडी भइहाल्छ । ती बडाको सवारीभन्दा दुईचार मिनट अगाडि मात्रै बाटो क्लियर गरे पुग्दैन र ?
दशैंकै कुरा गरौं । व्यवस्थापन त्यस्तै भएछ । एक दुई जनालाई टीका लगाइदिएपछि त असहजता देखियो त । तब उनले उभिएर टीका लगाइदिँदै गरेर अलिक अग्लो कुर्सी मगाएर बसिदिँदा पनि त हुन्थ्यो । शीतलनिवासमा त्यस्तो कुर्सी नभएको त होइन होला । अथवा होचो टूल वा मुढा मगाएर टीका थाप्नेका लागि राखिदिन सकिन्थ्यो । के यति गर्न पनि सेक्यूरिटीले मान्दैन ? त्यसो भए सेक्युरिटीकै सति जाने त ?
हुन त विद्यादेवीलाई नैतिक मूल्य मान्यतासँग सरोकार छैन किनभने दोस्रो पटक आपूmलाई राष्ट्रपति पद नदिए पुनः सक्रिय राजनीतिमा आउने धम्की उनले निर्वाचनपूर्व आफूलाई कमरेडहरुलाई दिएकी थिइन् भन्ने समाचार एकताका आएको थियो । पूर्व राष्ट्रपति पुनः सक्रिय राजनीतिमा फिरेको दृष्टान्त कतै छैन होला । यो नैतिक बिषय हो ।
राष्ट्रपतिको टिममा आफूलाई जनवादी भन्ने कमरेडहरु पनि छन् । ती कमरेडहरुको पनि मतिभ्रष्ट भएको हो ? कि राज्यकोषबाट पेटभर्न थालेपछि विवेक गुम हुने रोग लाग्छ ? साँच्चै त्यस्तो रोग लाग्छ भने त आफ्ना मानिसहरुलाई त त्यस्ता कुर्सी नताक्नु है भनेर बेलैमा सल्लाह दिनु पर्ने भयो त ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार