प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा इलाममा लगानी सम्मेलन

  सरलपाटी संवाददाता

 853 पटक हेरिएको

इलाम।वाह्य लगानी आकर्षित गर्ने उद्देश्यले इलाम नगरपालिकाले कात्तिक २५ गते इलाममा लगानी सम्मेलन गर्ने भएको छ ।
सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने इलाम नगरपालिकाले जनाएको छ । कार्यक्रममा इलामबाट प्रतिनिधित्व गरेका पूर्व प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, मन्त्रीहरु, इलामका संघ, प्रदेश तथा राष्ट्रिय सभाका सदस्यहरुलाई पनि कार्यक्रममा सहभागी गराइने नगरपालिकाका प्रवक्ता ठाकूर श्रेष्ठले बताए ।
कार्यपालिकाको बैठकले इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा आयोजित “इलाम हाम्रो गौरव” कार्यक्रमअन्तर्गत नै आन्तरिक पूँजी परिचालन तथा बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना गरी नागरिकको आम्दानी अभिबृद्धि गर्दै आर्थिक समृद्धि हासिल गर्नका लागि लगानी सम्मेलन गर्न लागिएको बताइएको छ ।
लगानी सम्मेलन लागि इलाम नगरपालिका, नगर कार्यपालिकाको मूल समिति र सो अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको छ । इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, वडाध्यक्ष नरेश श्रेष्ठको संयोजकत्वमा हल तथा स्वयमसेवक व्यवस्थापन उपसमिति, वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन तथा संयोजन उपसमिति, वडाध्यक्ष नुतनदेव दुलालको संयोजकत्वमास्टल व्यवस्थापन उपसमिति, वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा अतिथि आवास तथा व्यवस्थापन उपसमिति, नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानको संयोजनमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति र इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएकोे छ ।
यसैगरी बैंठकले इलाम नगरपालिकाअन्तर्गत नगर प्रहरी र दमकल सञ्चालन व्यवस्थापनका लागि इलाम नगरपालिकाको नगर प्रहरी ऐन, २०७५ को मस्यौदालाई जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय इलाम, जिल्ला सरकारी वकिल कार्यालय इलाम र सशस्त्र प्रहरी गणका प्रतिनिधि समेतको बैठकमा छलफल गराई आगामी नगर सभामा लैजाने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार