प्रधानमन्त्रीद्वारा वडा दशैंको शुभकामना, देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह्नन

मुख्यमन्त्री राई–शुभकामना

  सरलपाटी सम्वाददाता

 831 पटक हेरिएको


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
वडा दशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गरेका छन् ।प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् “देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन जनताले अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।”
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन् । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । नेपालीहरु रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।
मुख्यमन्त्री राईको पनि–शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ ।

यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीले सन्देशमा महान् पर्व बडादशैँले भिन्न–भिन्न जातजाति, भाषा, धर्म एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक, सद्भाव आपसी भ्रातृत्व कायम गर्न सफल रहोस् भन्ने कामनासहित बडादशैँको शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार