प्रथम नगर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले चुम्यो

  सरलपाटी सम्वाददाता

 1389 पटक हेरिएको

विजेता टीम वडा नं. ७ लाई पुरस्कार वितरण गरिदैं

इलामको ठूलो टुँडिखेलमा मंगलबार सम्पन्न नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ७ ले हात पारेको छ । उपाधीसँगै नगद ६० हजार र ट्रफि जितेको छ ।
फुलपातीको अवसर पारेर सम्पन्न फाइनल खेलमा इलाम नगरपालिका–५ लाई ५-४ को गोल अन्तरले हराउँद वडा नं. ७ ले उपाधी जितेको हो । उपविजेता वडा नं. ५ ले नगद ४० हजार र ट्रफी जितेको छ ।
निर्धारित समयमा २–२ गोल बराबरी भएको थियो । त्यसपछि ट्राइबेर गराइएको थियो । ट्राइबेरमा वडा नं. ५ ले ३ गोल गरेको थियो भने ७ ले चार गोल गरेको थियो । वडा नं. ५ का खेलाडी पुष्प लिम्बूको प्रहार पोलभन्दा माथिबाट बाहिरिएपछि वडा नं. ७ ले जीत निकालेको हो ।
प्रतिष्पर्धात्क खेलको पहिलो हाफको शुरुमै वडा नं. ७ का खेलाडी सुवास राइले एक गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । यता वडा नं. ५ ले विपक्षीलाई दबावमा राखेर खेले पनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा वडा नं. ५ का टीम कप्तान मिलन लिम्बू रातो कार्ड पाएर बाहिरिएका थिए । १० जना खेलाडीको भरमा खेलेको वडा नं. ५ ले त्यसपछि लगातार गोल गरेर अप्रत्यासित रुपमा टीमलाई अग्रता दिलाएका थिए । टीमलाई अग्रता दिलाउन वडा नं. ५का खेलाडी दिपेश राई र मनिस राईले १–१ गोल गरेका थिए । खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा वडा नं. ७ का खेलाडी दर्शन गुरुङ्गले थप एक गोल गर्दै २–२ गोलको बराबरी बनाएका थिए ।
उप विजेता टीम वडा नं. ५ लाई पुरस्कार वितरण गरिदैं

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. ७ का सुवास राई र उत्कृष्ट किपर सोही टीमका सौरब सुवेदी घोषित भएका थिए । यसरीनै वडा नं. ७ कै उत्कृष्ट मिडफिल्डर विशाल तामाङ्ग, उत्कृष्ट फर्डवर्ड दर्शन गुरुङ्ग उत्कृष्ट डिफेन्स हेममणि पौडल घोषित भए ।
इलाम नगरपालिका खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता र उपविजेता टीमलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिनाले पुरस्कार प्रदान गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तीर्थ जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, एन्फाका केन्द्रीय सदस्य निरोज खड्की तथा इलाम नगरपालिका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार