इलाम नगरपालिकाले पुनरावलोकन गर्यो कर

प्रसुतीलाई एक हजार यातायात खर्च थप

  सरलपाटी सम्वाददाता

 2030 पटक हेरिएको


इलाम । इलाम नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउँदा यातायात खर्च बापत एक हजार रुपैयाँ रकम दिने भएको छ । नगर कार्यपालिका बैठकले यातायात खर्च बापत थप एक हजार रुपैयाँ दिने निर्णय गरेको हो । सरकारी स्वास्थ्य संस्थामा प्रसुती गराउँदा यस अघिदेखिनै संघीय सरकारले दुई हजार रुपैयाँ यातायात खर्च दिदै आएको थियो ।
नगरपालिकाको निर्णय कात्तिक १ गतेदेखि लागु हुने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । नगरप्रमुख बस्नेतका अनुसार थप रकम इलाम नगरपालिका भित्रका नागरिकले मात्रै प्राप्त गर्नेछन् । इलाम नगरपालिका भित्र बसोबास गर्ने नगर बाहिरका नागरिक, अन्य स्थानीय तहबाट इलाममा सेवा लिन आउनेले यो सुविधा पाउने छैनन् । नगरपालिकाले प्रसुती भत्ता शिर्षकमा विनियोजन गरेको रकमबाटै यातायात सुविधामा रकम खर्चिने प्रमुख बस्नेतले बताए । ‘प्रसुती भत्ताको लागि विनियोजन गरेको रकमबाटै यातायात सुविधामा खर्च गरिनेछ’–उनले भने–‘प्रसुती भत्तामा विनियोजनले नै यातायात खर्चको रकम धान्न भएकाले यस्तो निर्णय गरिएको हो ।’
व्यवसाय करमा पनि हेरफेर
इलाम नगरपालिकाल व्यवसाय करमा भने वृद्धि गरेको छ । कार्यपालिका बैठकले दश प्रतिशत व्यवसाय कर वृद्धिको निर्णय गरेको हो । नगरपालिकाले व्यवसायको आधारमा वर्गिकरण गरेर कर लिदै आएको थियो । व्यवसायको आधारमा न्युनतम एक हजार रुपैयाँ देखि १३ हजार रुपैयाँसम्म व्यवसाय कर नगरपालिकाले असुल्दै आएको छ । नगर कार्यपालिका बैठकले वडा नंम्बर २, ३, ११, र १२ नम्बर वडामा ब्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै १, ४, ५ र १० नम्बर वडामा १५ प्रतिशत छुट दिने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।
दमकल र सडक वत्तीको शुल्क खारेज
इलाम नगरपालिकाले दमकल शुल्क र सडक वत्ती शुल्क भने खारेज गरेको छ । नगरपालिकाले सम्पति करबाट २० प्रतिशत बारुण यन्त्रको सेवा शुल्क लिदै आएको थियो । नगरपालिकाले व्यवसाय करमा लिदै आएको २० प्रतिशत सडक वत्तीको रकम पनि छुट गर्ने निर्णय गरेको छ । सडकमा समेत सौर्य वत्ती जडान गरिएको छ । इलाम नगरपालिका र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले नगरका विभिन्न क्षेत्रमा सौर्य वत्ती जडान गरेको भएपछि ३६ वटा सौर्य सडक वत्तीले काम गरेका छैनन् ।
मालपोत समेत परिवर्तन
नगर कार्यपालिका बैठकले भूमि कर समेत पुनरावलोकन गरेको छ । नगरपालिकाले कालोपत्रेले छोएको जति जग्गामा भएपनि अधिक्तम दुई हजार रुपैयाँ र कालोपत्रेले नछोएको क्षेत्रमा अधिक्तम एक हजार रुपैयाँ कर लिदै आएको थियो । अब नगरपालिकाको १, ४, ५ र १० नम्बर वडामा प्रतिआना ४ रुपैयाँका दरले भूमि कर लाग्ने छ । त्यस्तै २, ३, ११, र १२ नम्बर वडामा प्रतिरोपनी ६४ रुपैयाँ कर कायम गरिएको छ ।
त्यस्तै नगरपालिकाले राजमार्ग आसपासमा ५० मिटर भित्र सम्मको जग्गामा ९० रुपैयाँ प्रति आनाका दरमा लिदै आएको रकममा हेरफेर भएको छ । वडा नम्बर १, ४, ५ र १० मा २५ मिटर क्षेत्र भित्र रहेका जग्गामा ३० रुपैयाँ, २५ देखि थप २५ मिटर क्षेत्र भित्रको जग्गामा २० रुपैयाँ र बाँकी जग्गामा प्रति आना ४ रुपैयाँका दरले कर लगाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार