गाउँमै बैकंले सेवा दिएपछि हर्षित छन् सेवागाह्री

  किरण पौड्याल

 949 पटक हेरिएको

इलाम । इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका युवराज पिसीलाई अहिले ‘पैसा निकाल्न र पठाइदिनका लागि’ इलाम सदरमुकाम जाने बाध्यता धेरै कम भएको छ । उनको घर नजिकै गाउँपालिका केन्द्रमा प्रभु बैकं स्थापना भएपनि आफ्नो मात्रै नभएर संघ, संस्थाको रकम निकाल्न र बचत गर्न पनि कुनै गाह्रो छैन ।
यस्तै इलाम फाकफोकथुम गाउँपालिकाका बिमल घिमिरेलाई बैकंमार्फत अहिले आर्थिक कारोबार गर्न साह्रै सहज भएको छ । सामान्य आर्थिक कारोबार गर्न समेत इलाम सदरमुकाम धाउनु पर्ने झन्झट अहिले हटेको छ । किनकि फाकफोकथुम गाउँपालिकामा नै सानिमा बैकं स्थापना भएपछि सबै आर्थिक कारोबार घिमिरे त्यहीबाट गाउँपालिकाबाटै गर्नुहुन्छ । ‘गाउँपालिकामै बैकं स्थापना भएपनि साह्रै सजिलो भएको छ,’ उनले भने,‘ एक हजार रुपैयाँ कारोबार गर्न पनि इलाम सदरमुकाम पुग्नु पथ्र्यो । अहिले त्यो समस्या हल भएको छ ।’
उनका अनुसार पहिले एक हजार रुपैयाँ कारोबार गर्नका लागि ३ देखि ४ हजार रुपैयाँ खर्च गरेर इलाम सदरमुकाम आउनु पथ्र्यो । अहिले गाउँपालिकामै बैकं आएपछि त्यो समस्या हल भएको छ । घिमिरे भन्छन्,‘बैकं स्थापना भएर त सहज भएको छ । अब एटिएम सेवा पनि भए अझ सहज हुन्थ्यो ।’
घिमिरे र पिसी मात्र होइन । स्थानीय तहमा बैकं गएपछि अधिकतर सेवाग्राहीलाई आर्थिक कारोबार गर्न अहिले सहज भएको छ । बिदेशबाट पठाएको रकम समेत बुझ्न सदरमुकाम पुग्नु पर्ने बाध्यता अहिले हटेको छ भने थोरै रकम पनि बैकंमा राख्न सहज भएको छ ।
गत साउन मसान्तमा नै इलामका १० स्थानीय तहमा बैकं पुगेपछि त्यहाँका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । स्थानीय तहमा बैकंको शाखा स्थापना भएपछि सेवाग्राहीले सोच्दै नसोचेको अनपेक्षित रुपमा राम्रो सेवा लिएको सानिमा बैकं इलामका शाखा प्रमुख प्रेम पौडेलले बताए । ‘एकदमै राम्रो कारोबार भइरहेको छ । सेवाग्राहीले यति धेरै सेवा लिनु होला भन्ने सोचेकै थिएन ।’ पौडेलले भने ।
सानिमा बैकंले मात्र यसै बर्ष इलामका २ वटा स्थानीय तहमा नयाँ शाखा बिस्तार गरेको छ । दुबै स्थानमा राम्रो कारोबार भइरहेको शाखा प्रमुख पौडेलको भनाइ छ । स्थानीय तहमा बैकंको शाखा पुगेपछि आर्थिक कारोबारमा राम्रो फाइदा पुगेको नेपाल बैकं लिमिटेड इलाम शाखाका सहायक प्रमुख चुडामणि निरौंलाले बताए । उनका अनुसार राष्ट्रिय बैकंले ताकेता गरेकै समयमा स्थानीय तहमा बैकं पुगेका हुन् । राष्ट्रिय बैकंले गत साउन मसान्तभित्रमा देशभरका स्थानीय तहमा बाणिज्य बैकं(राष्ट्रिय बैकंबाट क बर्गमा बर्गीकृत) बैकं पु¥याउन तोकेता गरेको थियो । त्यही नियम अनुसार निर्धारित समयमा नै बैकं स्थानीय तहमा पुगेका हुन् । अहिले इलामका १० स्थानीय तहमै बाणिज्य बैकंका शाखा बिस्तार भएर राम्रो सेवा दिइरहेका छन् । इलामका ६ गाउँपालिकामध्ये फाकफोकथुममा सानिमा बैकं, रोङमा मेघा बैकं, माङसेबुङमा सिटिजन बैकं, सन्दकपुरमा प्रभु बैकं, माइजोगमाईमा सिविल बैकं र चुलाचुलीमा एनएमबी बैकंका शाखा बिस्तार भएका छन् । यस्तै नगरपालिकामध्ये पनि माइनगरपालिकामा सानिमा बैकंको नयाँ शाखा बिस्तार भएका छन् ।
अन्य ३ नगरपालिका देउमाई, सूर्योदय र इलाम सदरमुकाम भएको इलाम नगरपालिकामा भने पहिले नै शाखा बिस्तार भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार