
अन्तरजातीय विवाह त्यसमा पनि सन्तान नभएपछि सासुले बुहारीलाई गर्ने व्यवहार कस्तो होला हाम्रो समाजमा । त्यो पनि पाँच दशक अघिको समाजमा । त्यही समयको सेरोफेरोमा हुर्की बढेकाले त अनुभव गरेकै होलान् तर पछिल्लो पुस्तालाई भने पत्याउनसमेत गाह्रो होला उ बेलाको परिस्थिति । यस्तै कथालाई टिपेर चेतना नाट्य समूहले शनिबार जिल्ला समन्वय समिमिको हलमा घरजम नाटक मञ्चन गरेका छन् ।
रमनाथले शशीसँग अन्तरजातीय विवाह गरेका हुन्छन् । विवाहपछि जैजन्म नभएपछि रमनाथकी परम्परागत सोँचकी आमाले बुहारीमाथि रात दिन गाली गरिरहन्छिन् । गाली मात्र होइन, एक दिन आफ्नै दाईसँग भेट्दा परपुरुषसँग लागेको आरोप लगाउँदै छोरा रमनाथलाई पनि पोल लगाउँछिन् । रमनाथ आमाको कुराले आक्रमक हुन्छन् । श्रीमति शशीलाई कुटपीट मात्र गर्दैनन्, खुकरीले छप्काउन खोज्दै घरबाट खेदाउँछन् । शशी वडा सदस्यकोमा न्याय माग्दै जान्छन् । वडा सदस्यले रमनाथलाई बोलाएर मिलाउन खोज्छन् । तर, आमाको एक पक्षीय कुरा सुनेका रकमनाथ मर्न तयार हुन्छन् । श्रीमति फर्काएर लैजान तयार हुँदैनन् । अन्यायमा परेकी शशीलाई वडासदस्यले शिक्षिका बनाउँछिन् । यता रमनाथले कान्छी विवाह गछिर्न् । तर, कान्छी बुहारी माथि पनि सासुको कचकच उस्तै हुन्छ । कान्छी बुहारीले भने जेठी जस्तो सहदिनन् । सासु माथिनै जाई लाग्छिन् । त्यसपछि सासुले पहिलेकै बुहारी ठीक भएको भन्दै शंकाकै भरमा आरोप लगाएको बताएपछि रमनाथ पश्चाताप गर्दै जेठी श्रीमति फर्काउन जान्छन् । यता पौढ शिक्षा पढाएर महिलाको अधिकार र जनचेतना जगाउन सक्रिय भएकी शशी घर फर्कन मान्दैनन् । आफ्नो घरजन विद्यालय शिक्षा, बालबालिका र महिलाहरुसँग घरजम भइसकेको भन्दै रमनाथसँग फर्कन अस्वीकार गर्छन् ।
अहिलेभन्दा धेरै पछौटे हाम्रो समाज, पञ्चायती व्यवस्थाको बन्धनले समाजलाई साँघुरो बनाएको परिवेशमा लेखिएको नाटकलाई दर्शकले चाख मानेर हेरेका थिए । प्रा. माधव भँडारीले पाँच दशक अघि लेखेका थिए घरजम । २०२७ सालमै इलामै मञ्चन भएको थियो । हिजोको समाज र आजको समाजमा आकाश जमिन फरकम छ । तर, नाटकमा देखाइएका पात्र र प्रवृत्ति आवशेषको रुपमा अझैं पनि हाम्रो समाजमा छ । यसैले दर्शकले सान्दार्भिक मानेर नाटक हेरेका थिए ।

नाटकका लेखक माधव भँडारी पनि उपस्थित थिए । आफू लक्का जवान हुँदा उतिखेरको परिवेशमा चेतनाको विऊ छर्न नाटक लेखेर मञ्चन गरेको उनले बताए ।
अन्वेश थुलुङको निर्देशन रहेको नाटकमा अन्वेश थुलुङ आफैंले पनि अभिनय गरेका थिए । नाटकमा सुवास लुईटेल, कविता लुइटेल, सफलता राई, जीविका लिम्बू, प्रतिमा रिजाललगायतले अभिनय गरेका थिए । नाटकको व्यवस्थापन भने चेनना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले गरेका थिए ।


1368 पटक हेरिएको 






