कडा रोगी र अपाङ्गता भएकालाई बीस हजार भत्ता

किरिया र प्रसूति स्याहार गर्न गाउँपालिकाबाट भत्ता

  किरण पौड्याल

 1018 पटक हेरिएको

इलाम । इलामकाे फाकफोकथुम गाउँपालिकाले कडा रोगी र अपाङ्गताका कारण काम गर्न नसक्नेलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चार प्रकारका रोगी तथा अशक्तलाई वर्षको बीस हजार रुपैयाँका दरले उपचार तथा निर्वाह भत्ता दिने निर्णय गरेको हो ।
गाउँपालिकाले मुटु, क्यान्सर, दुर्घटनामा परी अङ्गभङ्ग भएका, प्यारालाइसिस भएका र मृर्गौला काम नदिएर डाइलोसिस गर्नुपर्ने व्यक्तिलाई रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
गाउँपालिकाले दिइएको रकम कडा रोगीहरुले उपचारमा खर्चिने छन् भने अङ्गभङग भएका र प्यारालाइसिस भएकाले निर्वाहका लागि खर्च गर्न पाउने छन् । गाउँपालिकाबाट उपलब्ध हुने यस्तो सुविधा लिनका लागि वडा कार्यालयमा प्रमाणसहित निवेदन दिनुपर्ने छ ।
वडाले सिफारिस गरेकालाई मात्र रकम उपलब्ध गराउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिए।‘गाउँ सभाको निर्णयपछि हामी त्यस्ता सेवाग्राहीको तथ्याङ्क सङ्कलन गर्दैछौं’सुबेदीले भने,‘यसका लागि १० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन समेत गरिसकेको छ ।’ उहाँले यो रकम सामाजिक सुरक्षा भत्ताबाहेकको रकम रहेको समेत जानकारी दिए ।
सर्वसाधारणलाई समयमै जन्म तथा मृत्युको घटना दर्ता गराउन प्रोत्साहन गर्दै फाकफोकथुम गाउँपालिकाले घटना दर्ता गराए बापत भत्ता दिइने ब्यवस्था गरेको छ । सर्वसाधारणले अधिकतर घटना समयमा दर्ता गर्न नआउने भएपछि गाउँपालिकाले निर्णय नै गरेर जन्म र मृत्यु दर्ता गराउदाँ रकम उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले मृत्यु दर्ता गराएबापत ‘किरिया खर्च’ शीर्षकमा पाँच हजार रुपैयाँ र जन्म दर्ता बापत ‘प्रसूति स्याहार’ शीर्षकमा तीन हजार रुपैयाँ रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
‘हामीले सर्वसाधारणलाई घटना घट्ने वित्तिकै दर्ता गराउनका लागि प्रोत्साहन स्वरुप यो व्यवस्था गरेका हौं’ सुवेदीले भने,‘यी शीर्षकका लागि पनि भत्ता उपलब्ध गराउन १० लाख रकम विनियोजन गरेका छौं’ । यो निर्णयसँगै गाउँपालिकामा व्यक्तिगत घटना समयमै दर्ता गराउने क्रम बढेको समेत सुवेदीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार