
हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराईंदै आएको इलाममा हात्तीपाइलेका जीवाणुको अवस्था पत्ता लगाउन ‘प्रिटा सर्वे’ शुरू भएको छ । स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इलाममा ‘प्रीटा सर्वे’ शुरू गरेको हो । औषधी खुवाएको छ महिना पछि जिल्लाका गोदक र चुलाचुलीमा नमुना परिक्षण थालिएको जिल्ला जनस्वासथ्य कार्यालयका ‘भेट्रल कन्ट्रोल अधिकृत’ बिमल बरालले जानकारी दिनुभयो । बरालका अनुसार चुलाचुलीमा अहिले सम्म एक जनाको रक्त परिक्षणमा हात्ती पाइलेको जीवाणु देखिएको छ ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोको नेतृत्वमा दश जनाको टोली सर्वेमा खटिएको छ । टोलीले चुलाचुली र गोदकका तीन–तीन सय जनाको रगत परिक्षण गरेर तत्काल अर्थात १५ मिनेट भित्र हात्तीपाईले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गरेको छ । चुलाचुली तराइ तथा भित्री मधेश जस्तो तथा चुरेको भूभाग र गोदक पहाडी र गर्मी स्थान भएकाले यी दुई स्थानमा परिक्षण भइरहेको जनाइएको छ ।
इलाममा छैटौं वर्षमा औषधी सेवन गराइएको र अब एक वर्षका लागि औषधी खुवाउनु पर्ने सिफारिस गतवर्षनै भएको थियो । पाँचौं वर्षको सर्वेमा जिल्लाका १५ जनामा हात्तीपाइलेको जीवणु देखिए पछि अरू दुई वर्ष औषधी थप खुवाउन सिफारिस भएको थियो ।
गएको फागुनमा औषधी ९१ प्रतिशतले खाएको कार्यालयले जनाएको छ । जनस्वासथ्य कार्यालयका अनुसार विगतमा जिल्लाका साविक दानाबारी, चुलाचुली, महमाइ, साकफारा, बाँझोलगायत १५ गाविस हातीपाईलेको उच्च जोखिममा राखिएको थियो ।
औषधी सेवन गर्दा शरीरमा भएका हात्तीपाईलेका किटाणु मर्छन्, यदि औषधी खाएन भने क्युलेस जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ र त्यसको असर १२–१५ वर्ष पछिमात्र देखिन्छ, भेट्रल कन्ट्रोल अधिकृत बराल भन्छन्– ‘हातखुट्टामा निला–राता धर्सा आउने, पिसाब सेतो हुनु, महिलाको योनी र स्तन सुनिनु हात्ती पाइले रोगका लक्ष्यण हुन् ।’ यो रोग शरीरमा धेरै फैलिए पछिमात्र खुट्टा सुनिने हुनथाल्छ । पोथी लामखुट्टले टोक्दा मानिसको शरीरमा उचेरिया बाँक्रोफटी ९० प्रतिशत, ब्रुजिया मालायी १० प्रतिशत परजीवी सर्नेगरेको पाइएको छ भने अर्को ब्रुजिया टिमोरी परजीवी पनि सर्नेगरेको छ ।
सन् २००१ बाट नेपालका ६१ जिल्लामा शुरू भएको यो अभियान अहिले २४ जिल्लामा सञ्चालित छ । बाँकी ३७ जिल्लामा भने हात्तीपाईले रोग नपाइएकाले ती जिल्लामा भने औषधी खुवाईंदैन । सन् २०२० सम्ममा कम्तिमा १ प्रतिशतमा रोगीको संख्या झार्ने लक्ष्य रहेको जनाइएको छ ।
नेपालमा पनि ३० हजार व्यक्तिमा हाइड्रोशीलको मुख्य समस्या छ । नेपालमा अढाइ करोड व्यक्तिमा हात्ती पाईलेको खतरा रहेको जनाइएको छ । समयमा स्वास्थ्य सम्बन्धी ध्यान नदिंदा सर्वसाधारणकालागि भयानक रोग बन्न थालेको हात्तीपाइलेबाट नेपालका ६१ जिल्ला प्रभावित रहेका छन् । इपिडिमियोलोजीकल म्यापिङ्गको अध्ययन अनुसार एकिकृत स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबाट प्राप्त तथ्याकंको आधारमा ६१ बाहेकका बाँकी हिमाली र उच्च पहाडी १५ जिल्लामा भने यो रोग देखिएको छैन । ज्वरो, मलेरिया, म्यानेनजाइटीस र हात्ती पाइले रोग लामखुट्टेले सार्नै भएकाले त्यसबाट जोगिनु अत्यावश्यक रहेको जनाइएको छ ।
सन् १९९७ मा विश्व स्वास्थ्य संघको ५० औं महासभाले आगामी २०२० सम्ममा यो रोग निवारण गर्ने निर्णय गरेको थियो । सन् २००० देखि शुरु भएको हात्तीपाईले रोग विरूद्धको अभियानबाट यसअघि जापान, दक्षिण कोरिया, माल्दिप, श्रीलंका लगायतका ३२ वटा राष्ट्रमा उन्मूलन भएको छ । तर, विश्वका ८० वटा देशका १ अर्व ४० करोड व्यक्ति हात्तीपाईले रोगको खतरामा रहेको जनाइएको छ । १२ करोड व्यक्ति हात्तीपाईलेका संक्रमित छन् । अढाइ करोड व्यक्तिमा हाइड्रोशील र डेढ करोड व्यक्तिमा हात्ती पाईले देखिएको तथ्याकं रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


794 पटक हेरिएको 






