इलाम । दिनभरी फुर्तिले गरेर हरियो चियापत्ती टिप्न तल्लिन मजदुरलाई त्यसको कमाईले साँझ विहानको छाक टार्न पनि मुस्किल छ ।
बर्षौ देखि यही समस्यामा रुमलिएका मजदुर कामप्रतिनै दिक्क मान्न थालेका छन् । बढ्दो महंगीसँग लडाई गर्न उनीहरुको मेहनत नै अपर्याप्त देखिएको छ । जसका कारण विकल्प भेट्नेहरु एकपछि अर्को गर्दै चिया क्षेत्रवाट टाढिदै गएका छन् ।
बल्लतल्ल सरकारले सेवा सुविधा वढाएको भए पनि सम्वन्धित कारखाना र बगानले दिएका छैनन् । ३ वर्षसम्म चुपचाप काममा लागेको मजदुर एक पटक फेरी आन्दोलनमा उत्रिए थिए, सरकारले कार्यादल गठन गरेर समस्या समाधान गर्ने आश्वसन दिएपछि उनीहरु आन्दोलन छाडेर काममा फर्किएका छन् ।
सरकारले ३ सय ८५ रुपैयाँ दैनक ज्याला राजपत्रमा तोकेको छ । यस अघिनै तोकेको दैनिक २ सय ७८ रुपैयाँ पनि कतिपय वगानमा दिइएको थिएन । सरकारले नै आफूहरुलाई दोस्रो दर्जाको नागरिककोरुपमा राखेको उनीहरुको भनाई छ । अन्य मजदुरको दैनिक ५ सय १७ ज्याला तोकिदा चिया मजदुरको कम भएको उनीहरुको गुनासो छ ।
‘चाडवाड आउदैछ । एउटैको कमाईले छोराछोरीदेखि परिवार धान्नु पर्छ,’ कन्यामका मजदुर विष्णु भट्टराईले भने, ‘साँच्चै समस्यामा गुज्रिएका छौं ।’ कन्याम चिया बगानमा नै ३९ वर्ष काम गरेका भट्टराई यहि कामका भरमा ९ जनासम्मको परिवार पाल्नु पर्दा कम पिडामा थिएनन् । परिवार चलाउनकै लागि उबे्रको समयमा अरु काम गर्नु पर्ने अवस्था अधिकांश मजदुरलाई छ ।
‘१२ घण्टा काम गर्दा पनि छाक टार्न पुग्ने रकम पाइदैन,’ कन्यामकी हिमा काफ्लले भनिन्, ‘धुरामा बसेकाले जति पाए पनि काम गर्नै पर्छ ।’ उनी १४ वर्षदेखि बगानमा कार्यरत छिन् ।
पानीझरि हावाहुरी नभनी काम गर्दा पनि आफ्नो अवस्था जस्ताको तस्तै भएको उनको दुखेशो छ । जुन सरकार आएपनि आफ्ना माग नसुनेकोमा उनीहरु रुष्ट छन् ।
२० वर्षदेखि यहि पेशामा आवद्ध कन्यामका उमेश रेग्मी ४ जनाको परिवार पाल्न हम्मे परेको वताउछन् । ‘घर ढलाई गर्नेको पनि दैनिक पारिश्रमिक ५ सय भन्दा कम छैन,’ मजदुर अगुवा रेग्मी भन्छन्, ‘हामी त्यसको आधामा मात्र काम गर्छौ । कसरी घर परिवारको गुजारा चल्छ ।’
् इलाममा मात्र २ दर्जन ठूला र १ सयको हाराहारीमा साना चिया कारखाना छन् । सिटिसि चिया उत्पादनमा अग्रणी झापामा २७ वटा वगान र कारखाना छन् । निगमसहित विभिन्न ठूला वगान र कारखाना छन् । इलाममा कारखानामा १ हजार र बगानमा ३ हजार मजदुर रहेको अनुमान छ । ‘सरकारले तोक बमोजिम गर्दा पनि मजदुरलाई परिवार पाल्न हम्मे छ’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङले भने, ‘हामीले थोरै भए पनि सरकारले तोकेको ज्यालालाई चाहि लागू गर मात्र भनेका छौं । तर यसमा पनि बेवस्था गरिए पछि अव के गर्ने त ।’ यता उद्योगी भने सरकारले तोके बमोजिम ज्याला दिन कठिन भएको वताउछन् । ‘श्रमिकका माग जायज हुँदाहुँदै यहि अवस्थामा सम्वोधन गर्न सक्ने अवस्था छैन,’ नेपाल चिया उत्पादक संघका भूतपुर्व अध्यक्ष चण्डी पराजुलीले भने, ‘प्रधानमन्त्री र अर्थ मन्त्रीले चियाका समस्या प्याकेजमै समाधान गर्ने आश्वासन दिनु भएको छ । उहाँहरुसँग छलफलकालागि समय पर्खेर बसेका छौं ।’
देशभारमा मौसमी र स्थायी गरि ५० हजार चिया मजुदर कार्यरत छन् । सेवा सुविधा कम भएको भन्दै बर्षेनी ठूला बगानमा चिया मजदुर विस्थापित हुने क्रम पनि बढ्दै गएको छ । इलाममा निगम अन्तर्गतका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट बगान र केही साना ठूला अन्य बगान छन् । अर्थोडक्स चिया धेरै उत्पादन गर्ने यो जिल्लामा अधिकांश साना ठूला कारखाना कृषकवाट हरियो चियापत्ती खरिद गरेर सञ्चालन हुने गरेका छन् । मजदुरको संख्या पनि झापामा धेरै छ । पाँचथर, धनकुटा र तेह्रथुममा रहेका कारखानाले अर्थोडक्स चिया उत्पादन गर्छन् । आन्दोलन गर्नु वाध्यता भएको मजदुरहरुको भनाई थियो ।
आफूले पारिश्रमिक नतोकेको तर सरकारले व्यवस्था अनुसार उद्योगले गर्नु पर्छ भन्ने मात्र माग रहेको उनीहरुको भनाई छ । डेढ दशक अघि विदेशवाट चिया निर्यात गर्नु पर्ने मूलुकले यति ठूलो रकम नेपाल भित्र्याउदा राज्यको नजर नपर्नु नै दुर्भाग्य ठान्छन् सरोकारवालाहरु । मूलुकभर २७ हजार छ सय ८८ हेक्टरमा चिया खेति हुन्छ । यसमा ५८ लाख १३ सय १२ किलो अर्थोडक्स र एक करोड ८४ लाख केजि सिटिसी तयारी चिया उत्पादन हुने गरेको चिया तथा किफी विकास वोर्डको तथ्यांक छ ।


778 पटक हेरिएको 






