पशुपतिनगरमा अध्यागमन कार्यालय राख्ने निश्चित

  कोकिला ढकाल

 930 पटक हेरिएको

इलाम । वर्षौंदेखि अध्यागमन कार्यालयको माग हुँदै आएको नेपाल–भारत सीमाना इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्ने सरकारको निर्णय सँगै स्थानीय बासी खुशी भएका छन् ।
नेपालतर्फ अध्यागमन कार्यालय नहुँदा नजिकै रहेको भारतको पर्यटकीय स्थल दार्जिलिङ आएका तेस्रो मुलुकका पर्यटकहरू नेपाल प्रवेश गर्न पाएका थिएनन् । अध्यागमन नहुँदा उनीहरू दार्जिलिङबाट फर्किएर झापाको काँकडभिट्टा हुँदै यात्रा छोट्याएर चितवन, पोखरा जाने गरेका थिए । अध्यागमन नहुँदा तेस्रो मुलुकका पर्यटक भित्रने अवसरबाट बञ्चित भएको पूर्वी पहाडले अब पर्यटकहरू डुलाउन पाउने बाटो खुलेको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए । उनलेभने ‘हामीले पशुपतिनगरबाट कञ्चनजंघा वेसक्याम्प सम्मको ‘ट्रकिङ रूट’ बनाउने सर्भे गरिसकेका छौं, टुरिजम वोर्डले स्वीकृत गर्नमात्र बाँकी छ, अध्यागमन कार्यालय स्थापना हुनेभएपछि विदेशी पर्यटकहरू कञ्चनजंघा हिमालको वेशक्याम्प सम्म जाने ढोका खुल्ला हुन्छ ।’ अध्यागमन भएपछि इलाम, पाँचथर र ताप्लेजुङ सम्म घुम्न जाने पर्यटकहरूको संख्या बढ्ने र यसले पूर्वलाई मात्र नभएर देशलाईनै फाइदा पुग्ने कार्यकारी निर्देशक द्यौरालीको भनाइ छ ।
पशुपतिनगरमा अध्यागमन बस्ने टुङ्गो लागेपछि त्यहाँ रहेको सूचना केन्द्रको भवनमा अध्यागमन कार्यालय तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । केही दिनभित्रै कार्यालय स्थापना हुने इलामका प्रमुख जिल्ला अधिकारी तिम्सिनाको भनाइ छ । ‘कार्यालय स्थापनाका लागि रकम र कर्मचारीको अन्तिम टुङ्गो लाग्दैछ, प्रजिअ तिम्सिनाले भने ‘ रकम र कर्मचारीको व्यवस्था भएपछि एकदुई दिनभित्रै कार्यालय स्थापना हुन्छ, अर्थ मन्त्रालयले अखतियारी दिनेबित्तिकै कार्यालय स्थापना हुन्छ ।’
कार्यालयमा तीन देखि पाँच जना कर्मचारी बस्ने तयारी रहेको बताइएको छ । भारततर्फ नजिकै अध्यागमन नभएपछि पानीट्यांकी, सिलिगुढी अथवा दार्जिलिङ जहाँ रहेको भएपनि त्यहाँको स्वीकृति लिएर विदेशीहरू पशुपतिनगरबाट नेपाल प्रवेश पाउने भएको प्रजिअ तिम्सिनाले बताउँछन् । पशुपतिनगर नजिक भारततर्फ पनि पर्यटकका लागि अध्यागमन र नेपालमा उत्पादित कृषि उपज निर्यात गर्न क्वारेन्टाइन स्थापनाकालागि केन्द्रबाट कुटनितिक पहल भइरहेको तिम्सिनाले जानकारी दिए ।
पशुपतिनगरमा अध्यागमन कार्यालय राख्ने भएपछि आफूलाई पनि खुशी लागेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
‘यहाँ भारतीय राजदूत आउँदा हामीले पशुपतिनगरको निरिक्षण गराएर भारततर्फ क्वारेन्टाइनको पनि आवश्यकता रहेको जानकारी गराएका थियौं’ नगरप्रमुख राईले भने ‘भारततर्फ क्वारेन्टाइन राख्नेमा अहिलेका भारतीय राजदूत सकारात्मक हुनुहुन्थ्यो, नेपाल सरकारले नेपाल तर्फ अध्यागमन राख्ने भएपछि नगरसभाले पास गरेर क्वारेन्टाइन राख्न आग्रह गर्दै पुनः पत्र पठाएका छौं ।’ प्रमुख राईले अब भारतले पनि क्वारेन्टाइन राखिदियो भने पूर्वी पहाडका लागि निकै राम्रो काम हुने बताए ।
अध्यागमन कार्यालय स्थापना हुनेभएपछि पशुपतिनगर बासी भने खुशी भएका छन् । विगतको शसस्त्र द्वन्द्व र ०७२ को भूकम्प पछि निरन्तर बन्द जस्तै रहेको पशुपतिनगरमा पछिल्लो समय भारतीय पर्यटकहरूको भरलेमात्र यहाँको व्यापार व्यवसाय धान्दै आएको थियो ।
विगतको द्धन्द्ध र भूकम्प पछि यहाँका होटल, व्यवसाय धेरै बन्द भए, व्यापार घाटा चूलियो, तेस्रो मुलुकका पर्यटक आउने बाटो भएन, सूर्योदय नगरपालिका– २ का वडाध्यक्ष समेत रहेका स्थानीयबासी चन्द्र सुब्बाले भने ‘अध्यागमन राख्ने भएपछि यतिबेला पशुपतिनगरबासी निकै खुशी भएका छन् । दार्जिलिङ, सिक्किम पुगेका तेस्रो मुलुकका पर्यटकहरू इलाम आउन र दार्जिलिङ सँगै जोडिएको इलामको पर्यटकीय स्थल सन्दकपुर पुग्न भने काँकडभिट्टा नाका भएरै प्रवेश गर्नुपथ्र्यो ।’ अब पशुपतिनगरबाटै नेपाल प्रवेश गरेका विदेशी पर्यटकलाई मानेभञ्ज्याङ, चित्रे गुम्बा , जौवारी र सन्दकपुर सम्म लैजान नयाँ योजना बनाउन सकिने सुब्बाको भनाइ छ ।
नेपाल सरकारले पशुपतिनगरलाई २०५६ सालमै वैद्य नाका बनाउने भनेर राजपत्रमा प्रकाशित गरेको थियो, अर्का स्थानीय मिलन क्षेत्री भन्छन्,‘यहाँ अध्यागमन हुने हो भने त्यसको फाइदा पशुपतिनगरलाईमात्र होइन पूर्वी पहाड र समग्र नेपाललाई पनि हुनेछ । अहिले नेपाल–भारत आउ–जाउ गर्न नेपाली र भारतीयलाई मात्र सहज छ, तेस्रो मुलुकका नागरिकले भने अध्यागमन नभएका कारण नेपाल आउन सकेका छैनन् । पर्यटक बाहेक पशुपतिनगर नाकाहुँदै दैनिक उपभोग्य खाद्यान्नका सामग्री मात्र भारतबाट आयात गर्न सजिलो छ, बाँकी पेट्रोलियम पदार्थ, कृषि बालीका लागि मल, बीउ जस्ता वस्तुहरूले भने नेपाल आउन पशुपतिनगरबाट प्रवेश पाउँदैन थिए ।
नेपालमा उत्पादन भएका अदुवा, चिया, कुच्चो, जडीबुटी, आलु, तरकारी जस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाकानै पु¥याउनु पर्नै बाध्यता थियो । अध्यागमन भएपछि यी सबै वस्तुको आयात र निर्यातमा सहज हुन्छ भन्ने हामीले बुझेका छौं, क्षेत्रीले भने ।
भारतको दार्जिलिङ टुरिजम वोर्डले पशुपतिनगरलाई आफ्नो ‘टुरिजम प्वाइन्ट’ भित्र राखिदिए पछि एक घण्टा पशुपतिनगर घुम्ने भारतीय पर्यटकहरूको भरमा वर्षौंदेखि पशुपतिनगर बजारको व्यापार व्यवसाय रहेको क्षेत्रीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार