
नेपालीले २००७ साल देखि धेरै परिवर्तनका लागि लडाई लड्दै आए ,कहिले प्रजातन्त्रको नाममा कहिले बहुदलिय व्यवस्थाका लागि कहिले लोकतन्त्र त कहिले गणतन्त्रका नाममा । के ३ पुस्ताले लडेको लडाईको उपलब्धी यही हो ? अहिले हामी गणतन्त्र नेपालको नागरिक भन्ने गर्छौ । के साच्चे हामी रैती, जनताबाट नागरिक भएको अनुभूति गर्न सकिरहेका छौं ? एक पल्ट गहिरेर सोचौं त !
म जति पनि नेताहरुको भाषण सुन्छु उनीहरु भन्छन्, अहिले पनि जनताका लागि हामी वली दिन पनि तयार छौ,जनताका लागि म यो गर्छु मैले यसो गरे उसो गरे दिन दैनिकी यस्तै शब्द सुन्ने गरेको छु । के हामी अझै पनि जनता नै छौ किन नागरिक हुन सकिरहेका छैनौ ?
किन नेताहरुले हामीलाई नागरिक भन्न र बनाउन सकेका छैनन् ? प्रश्न यो हाईन की प्रश्न यो हो जो हामीले गर्नु पर्ने कामहरु किन गर्न सकिरहेका छैनौ ? के छ अवरोध ? हामी कहा अल्मलिएका छौ ? यी सबै प्रश्नको उत्तर एक छिन खौजौ । देशमा सुशासन कायम नहुँदा हामी ३ पुस्ता देखि यो नियति भोग्दै जेल्दै र छेल्दै आएका छौ भन्ने मेरो बुझाई हो ।
के हो त सुशासन ? सोचाई, भनाई र गराइमा एक रुपता हुनु नै सुशासन हो । सूशासनले के भन्छ भने ‘जनताको प्रत्यक्ष सहभागिता, जवाफदेही सरकार, पारदर्शी प्रशासन संयन्त्र, सर्वसाधारणको सूचनासम्मको पहुंच, कानुनी र वैधानिक शासन पद्धति, विकेन्द्रीकरण, शक्तिको उचित प्रयोग, मानव अधिकारको रक्षा, अल्पसंख्यकको अधिकारको प्रत्याभूति, आत्मशुद्धि, इमान्दारी, सदाचारी, असल नेतृत्व, जनमुखि शासन, प्रभावकारी सार्वजानिक सेवा, शान्ति सुब्यवस्था, आर्थिक एबं भौतिक समृद्धि र समझदारीपूर्ण शासन व्यवस्था जहां लोकतन्त्रको मर्म र आदर्श अनुरुप सञ्चालन भएको हुन्छ ।
सिद्धान्त त त्यँहा सूशासन भएको मानिन्छ । के अहिले हामीलेमाथि उल्लेख भएका मर्म र भावना अनुरुपको अनुभूति गर्न पाएका छौ ? जुवाको खालमा एउटा दाउ हान्दा म¥यो भने फेरि त्यही दाउ आओस भनेर उही रुप भनेर ठूलो स्वरमा कराएको सुनेको थिए ।
अहिले देशको अवस्था पनि त्यही छ । पञ्चायती काल, बहुदलीय व्यवस्था (राजा सहितको) र गणतन्त्र नेपालको तीन कालखण्डमा कति सुशासन कायम भयो अहिले र पहिलेमा के फरक छ भनेर विश्लेषण गर्ने हो भने व्यवस्था फेरिए पनि अवस्था फेरिएको अनुभूति गर्न सक्ने अवस्था छैन । फेरि ‘उही रुप’ । सुशासनका लागि अझै पनि विद्यमान चुनौतिहरु देखिएको छ राज्यको शासकीय सोंच र प्रशासनिक संरचनामा उल्लेख्य परिवर्तन आउन नसक्नाले नतिजामुखी भन्दा प्रकृयामुखि संयन्त्र कायमै रहेको छ । नागरिकले सरकारी कामकाजमा अझै पनि उत्तिकै झन्झटिलो व्यवहार खेपिरहनु परेको छ । चाहे त्यो न्यायको क्षेत्रमा किन नहोस,प्रशासनिक कार्यमा किन नहोस वा विकास निर्माण कार्यमा नै किन नहोस । खै त सुधार ? फेरि उही रुप ।
सरकारी,अर्धसरकारी र जनप्रतिनिधिमुलक निकायका कृयाकलापहरु पारदर्शी, जवाफदेही र जनमुखी किन हुन सकिरहेको छैन । गरिवी, उत्पीडन, भेदभाव र शोषणबाट पीडित बहुसंख्यक जनताहरु आधारभूत सेवा सुविधा पाउने अवसरबाट बन्चितिकरणमा नै परिरहेका छन् ।
विकास निर्माण र सरकारी सेवा सूविधामा अझै पनि राम्रोले होईन हाम्रोले नभए मेरोले नै पाउनु पर्छ भन्ने मानसिकताबाट कहिले माथि उठ्न सक्ला हाम्रो नेतृत्व । अहिले पनि गरिव झन गरिव धनी झन् धनी हुदै गएको देखिन्छ । यो खाडल बढ्दो छ । यदि यो गति क्रमिक रुपमा वढ्दै गयो भने फेरि अर्को विद्रोहको जन्म हुदैन भन्न सकिदैन फेरि नेपाली हतियार उठाउन तयार हुदैनन् भन्न सकिदैन ।
बोल्ने, संगठित हुने, निर्णय प्रकृयामा सहभागी हुने अवसर सबैले समानुपातिक रुपमा पाउनु पर्छ । सार्वजानिक पदलाई निजीलाभका लागि प्रयोग गर्ने र अनुशासन पद्दतिलाई वेवास्ता गर्ने संस्कार बदल्न सक्नु पर्छ । राजनीतिक एवं प्रशासनिक अस्थिरता अझै पनि कायम नै छ । आफ्नो जिम्मेवारी के हो कसरी पूरा गर्ने भन्ने बारे सबैले सचेत हुनु पर्दछ । आ–आफ्नो तह र तप्काबाट जिम्मेवारी, जवाफदेहिता, पारदर्शीतालाई आत्मासात गर्दै उत्तरदायित्व बहन गर्न सके मात्र हामीले परिकल्पना गरेको सुखी नेपाल सम्बृद्ध नेपालको परिकल्पना पूरा हुन्छ ।
के छन् त कमि कमजोरी ? हामी कहा छौ ? हाम्रो सोचाई भनाई र गराइमा के फरक छ त ! एकपल्ट हेरौ,जनगुनासो सुनुवाई र जनदबाब दिने प्रणाली र संयन्त्र कमजोर हुदै जानु र संस्थागत रुप दिन नसक्नु,कानुनी दायरा साँगुरो पारिदै लैजानु । यसले गर्दा नागरिकको आवाज सूचनाको हक,जीवन जिउने अधिकार र मानव अधिकारमा समेत आघात पुग्छ जस्ले गर्दा भूसको आगो जस्तै विस्तारै सल्किन्छ र विद्रोहको जन्म हुन्छ जस्ले अन्त्यमा हिंसाको रुप लिन्छ यसबारे हाम्रा नेताहरुले समयमा नै सचेत हुन जरुरी छ ।
भ्रष्टाचार र अनियमिततामा कमी ल्याउने कुरा भाषणमा मात्र सीमित छ व्यवहारमा सून्य छ । सिंहदरबारको अधिकार गाँउमा भन्ने नारा, नारामा नै सिमित छ बरु सिंहदरारको भ्रष्टचार गाँउ गाँउमा पुगेको पाईन्छ । बजेट वितरण ,योजना छनौट र निर्माण अनुगमनको शैली ,जनप्रतिनीधिहरुको आचरणमा कुनै परिवर्तन छैन । फरक यति छ हिजो जिल्ला विकास समितिमा जेठ असारमा देखिने भीड अहिले गाँउपालिका र नगरपालिकामा देखिन्छ । विकास जनकेन्द्रित र गरिवमुखि हुनुपर्नेमा नेतामुखी र कार्यकर्ता मूखि भएको छ । जनप्रतिनीधिहरुको आचरणमा व्यवसायिकता ,नीतिगत आचरण,उत्तरदायी भावनाको विकास गर्न नसक्नु दुखद कुरा हो । भड्किलो तड्कभड्क ,बड्दो विलासिता,बड्प्पनले गर्दा समुदायमा नकारात्मक प्रभाव पर्न थालेको देखिन्छ । चिया पसलमा, यात्रामा, जमघटमा होस या विहे वटुलोमा नेतृत्व वर्गको आलोचना मात्रै वढी सुनिने गर्छ यस्ले के संकेत गर्छ भने यो नेतृत्व प्रतिको मात्रको वितृष्ण होईन है व्यवस्था प्रति नै वितृष्ण जगाउने संकेत हो त्यसैले म फेरि त्यही जुवाको खाल सम्झन्छु ेउही रुप’ ।
राज्य व्यवस्थाको कमजोरीले अहिलेपनि कला ेबजारी, तस्करी, दण्डहिनता,एकाधिकार,गुण्डागर्दी र अराजकता प्रश्रय पाईरहेको छ । गरिवको गास खोस्नुको साथै जनताको आर्थिक ,सामाजिक र नैसर्गिक अधिकार खोसिएको छ । कानुनी शासनलाई भताभूङ्ग पार्दै मानव सभ्यतालाई पतनको बाटोमा धकेल्दै गरेको आभास हुन्छ ।
अब के गर्ने ‘विग्रेको घरको भत्केको चाला’ भने जस्तै त यत्तिकै छोडौ देश जता सूकै जावोस ? होइन सूधार गर्न सकिने केहि सामान्य कुरामा ध्यान दिने हो भने अझै पनि निरास हुनू पर्ने अवस्था छैन । हामीले सार्वजानिक सेवाको गुणस्तर र कार्यशैलीमा थोरै भए पनि परिवर्तन गर्न सक्यौ भने हून्छ । नागरिकलाई दिने सरकारी सेवा सूविधा र विकासको प्रत्याभूति गराउन सहज र सरल संयन्त्रको निर्माण गरौं ।
सरकारी श्रोतको दुरुपयोग होइन समुचित प्रयोग र व्यवस्थापन गर्ने गरौं ,सामाजिक मूल्य, मान्यतालार्ई आत्मा साथ गरि सहभागितात्मक विकास पद्धतिलाई अबलम्बन गर्न सकेकमा जनगुनासो र वितृष्णालाई न्यूनीकरण गर्न सकिन्छ ।
सार्वजानिक कार्य प्रति सर्वसाधारणको चासो बढाउन प्रतिपक्षको आवजहरुलाई पनि सम्बोधन गर्नुपर्छ । आर्थिक ,सामाजिक र शैक्षिक क्षेत्रको सन्तुलित विकासका लागि यान्त्रीक प्रविधिको विकास र विस्तार गर्न जरुरी छ । अहिलेको अवसरलाई सत्तासिन पक्षले राष्टिय उत्पादन र वितरणमा समानता ल्याउने सूनौलो समय पनि हो ।
अहिले देश र नागरिकले बहुमतको सरकार त पायो तर स्थिर सरकार पाएन,गणतन्त्र पाए तर गास,बास कपासको ग्यारेन्टी पाएनन् । गाडी त नयाँ नै पाए इन्जिन पूरानै जस्तो ,बोतल त नया नै हो रक्सी पुरानै उहि नसा उहि आनन्नद उहि मोजमस्ती उही,पुरानै शैली,पुरानै बोली ‘उहि पुजुन हामीले तीन पूस्ता देखि भोग्दै आयौं ।
अब साच्चै देश बनाउछु भन्नेहरुले अन्तरआत्माबाटै सोचौं जनभावना र आकांक्षहरुलाई आत्मा साथ गर्दे समृद्ध नेपालको सपना सकार पार्नै हो भने ूसंसारलाई बदल्नु छ शुरु आफैबाट गरौं” भन्ने उक्तिलाई स्मरण गर्दै आचरण,सदाचार र विचारमा परिवर्तन गर्न जरुरी छ नत्र भने ‘शुसाशनको दुस्रा नाम नयाँ बोतल पुराना सराव’ नहोस ।


1210 पटक हेरिएको 






