‘कांग्रेस आफैले गरेका निर्णयको बिरोध गर्दैछ’ –नेम्बाङ

  सरलपाटी सम्वाददाता

 489 पटक हेरिएको

इलाम, ११ असोज ः–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङले आलोचकलाई कमजोर बनाउनका लागि पार्टीको आन्तरिक पक्ष बलियो हुनुपर्ने बताएका छन् । अहिले नेकपा नेतृत्वको दुई तिहाईको सरकारलाई भत्काउन बिपक्षीहरु लागि परिरहेको बताउँदै नेम्बाङले पार्टीलाई सुदृण र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे ।
आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै नेम्बाङले प्रमुख प्रतिपक्षी कांग्रेसले आफंैले गरेका निर्णयहरुलाई अहिले बिरोध गरिरहेको आरोप लगाए । ‘मुलुकी ऐनको खाका देउवा नेतृत्वको सरकारले बनाएको हो ।’ नेम्बाङले भने,‘त्यही दस्तावेज पनि कांग्रेसले बिरोध गरिरहेको छ । कस्तो आश्चर्य कुरा हो’
नेपालको संविधान ९० प्रतिशत संसदले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी समेत गरे ।‘हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिहरुले हस्ताक्षर गरे । उनले भने,‘तर, संविधानकै विरोध गर्ने साथीहरु पनि यही संविधानको कानुन अनुसारको सपथ खानु भएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन।’
नेम्बाङले आफूलाई संसदको सपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । ‘संविधानको बिरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई जेष्ठ सदस्यको नाताले संसदको सपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर सपथ खानु भएको थियो’ नेम्बाङले भने ।
संविधान सभाका पूर्व सभामुख समेत रहेका नेम्बाङ्ले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । ‘अहिले साथीहरु नेकपा प्रेस विरोधी हो भन्नहुन्छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ ।’ उनले भने,‘यदि हामी प्रेस विरोधी थियौ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौं’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार