विराटनगर । एक नम्बर प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०२ बमोजिम प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को दफा १ देखि ५७ सम्म अङ्ग बनोस् भनी सभामुख प्रदीपकुमार भण्डारीले सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०३ बमोजिम प्रस्तावना, नाम र प्रारम्भ प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को अङ्ग बनोस् भनी उहाँले सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
साथै प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ कोे नियम १०५ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका अध्यक्ष लोकप्रसाद सङ्ग्रौलाले प्रतिवेदनसहित सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सभामा पेश गर्नुभयो ।
यसअघि शून्य समयमा प्रदेशसभा सदस्य सावित्रा कुमारी रेग्मीले मानसिक अवस्था बिग्रेका मानिसले सडकमा भौतारिने भएकाले यसको सुरक्षा र स्वास्थ्यको प्रबन्ध मिलाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।
सदस्य खिनु लङ्वा लिम्बूले दिनप्रतिदिन महिला हिंसा र बलात्कारका घटनाले समाज आक्रान्त बनेको बताउँदै विद्युतीय उपकरणमा आउने अश्लील चित्र तथा तस्वीर तत्काल बन्द गर्ने प्रबन्ध मिलाउन माग गर्नुभयो । उहाँले मादक पदार्थ र लागुऔषध सेवन गर्नेबाट हुने जघन्य अपराधलाई नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।