गाडी चालकलाई जुत्ता र परिचय पत्र अनिवार्य

  सरलपाटी सम्वाददाता

 892 पटक हेरिएको

इलाम । यातायात दुर्घटनालाई कम गर्नको लागि इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने निर्णय गरेको हो । दशै तिहार जस्ता चाडबाडमा हुने सम्भावित दुर्घट्नाको जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत देवीचरण फुएँलले जानकारी दिए । ‘ऐनमा नै जुत्ता लगाउनुपर्ने व्यवस्था छ, तर कार्यान्वयन भएको नपाइएपछि यस्तो निर्णय गरिएको हो ।’ उनले भने,‘चालकले जुत्ता लगाउँदा दुर्घट्नाको जोखिम कम हुन्छ ।’ चालकले जुत्ता लाए नलाएको अनुगमन ट्राफिक प्रहरीले गर्नेछ । जुत्ता नलगाए चालकले कारवाही व्यहोर्नुपर्नेछ ।
‘जुत्ता नलगाए जरिवाना देखि लाइसेन्स खारेजीसम्मको कारवाही हुनसक्छ,’प्रशासकीय अधिकृत फुएँलले भने । यातायात व्यवस्थापन समितिले जुत्तासंगै चालक परिचय पत्र र सिट बेल्ड पनि अनिवार्य गरेको छ । यातायात व्यवस्थापन समितिले आफ्ना सवारीहरु मर्मत गरेर दुरुस्त राख्न निर्देशन दिएको छ । चाडबाडमा यात्रुहरुको अत्याधिक चाप हुने भएकाले उनीहरुको सुरक्षाको लागि सवारी साधन मर्मत गरेर दुरुस्त राख्नको लागि निर्देशन गरिएको फुएँलले बताए । ‘चाडबाडको बेला दुरघटना भए हामी सवारी साधनको अवस्थाको अध्ययन गर्छौ,’उनले भने, ‘सवारी साधनको अवस्थाका कारण दुर्घटना भए कारवार्ही गर्छौ ।’
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा यातायात सेवा कम्पनीका प्रतिनिधि समेतको बैठकले अग्रिम बुकिङ्ग काउन्टर खोल्नुपर्ने, सवारी साधनमा अनिवार्य डष्टविन राख्नुपर्ने, लक्षित वर्गको सीट सुरक्षित गर्नुपर्ने, सवारी चालकहरुले शिष्ट ब्यवहार गर्नुपर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाइने लगायतको निर्णय गरेको छ । यातायात व्यवस्थापन समितिले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्ने भएको छ । ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय यातायात व्यवसायीको समन्वयमा अनुगमन गर्ने भएका छन् । सरकारले १० प्रतिशत भाडा वृद्धि गरेपनि सोमबारको बैठकले भाडा वृद्धिको भने निर्णय गरेको छैन । अर्को बैठकले भाडा ृवृद्धिको निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार