
इलाम। मनोरञ्जन, नाँचगान, वक्तृत्वकला, विचार गोष्ठि या अन्य कुनै प्रतियोगीता, यस्तै औपचारिक कार्यक्रम गरेर दिवस मनाइने परम्परा पुरानै हो । यस्ता कार्यक्रमरु जिल्लाभर नै शुक्रबार आयोजना गरियो । औपचारिक कार्यक्रमहरुको भीडमा एउटा अर्को पृथक कार्यक्रम पनि भयो । त्यो पनि विद्यार्थीहरुको अगुवाईमा ।
माउण्टमेरी बोर्डिङ्ग स्कूल विब्ल्याँटेका विद्यार्थीहरुले परम्परागत ढर्राभन्दा फरक ढंगले यस पटकको बाल दिवस मनाए । कार्यक्रममा नत औपचारिक तामझाम थियो, नत कुनै प्रतियोगीता ।
विद्यार्थीहरुले वर्षदिनको आफ्नो खाजा खर्च कटाए । विद्यार्थीले जोहो गरेको दाममा शिक्षकहरुले केही पैसा थपिदिए । शिक्षकहरुको समेत सहयोगमा विद्यार्थीहरुले अमर मावि बरबोटेमा रहेको वौद्धिक अपाङ्गता स्रोत कक्षाका २६ जना वौद्धिक अपाङ्ग विद्यार्थीहरुलाई भोज खुवाए । विद्यायमै पुगेर ।
विद्यालय पुगेका माउण्टमेरीका विद्यार्थी र शिक्षकहरुले वालदिवसको केक काटे । केक सवैको भागमा पर्यो । केकले भोक मेट्दैन थ्यो । त्यपछि उनीहरुले आफुजस्तै तर वौद्धिक रुपमा अपाङ्गता भएकाहरुलाई मिठो भोज खुवाए । अनि संगै नाचगान गरे ।
अनि वौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई पनि लाग्यो आज बाल दिवस । सधै बाल दिवशमा थुप्रै कार्यक्रमहरु आयोजना हुन्थे । तर वौद्धिक अपाङ्गगता भएका बालबालिकाहरुका त्यसले खासै छुदैनथ्यो । बालदिवस थाहा पाएपनि उनीहरु न्यास्रो मानेर बस्नु पथ्र्यो । तर, यस पटक भने माउण्टमेरीका विद्यार्थीहरुले उनीहरुलाई दिवसको अनुभूति गराए । साङ्ग विद्यार्थी झै मनाए बाल दिवस । 
विद्यार्थी एक्लै गएर त्यो कर्म गरेका होइनन् । शिक्षकहरुलाई नै विद्यार्थीहरुले सामाजिक काम पनि सिकूँन, वौद्धिक अपाङ्गता भएका बालबालिकाले पनि बालदिवस मनाउन् भन्ने थियो । उद्देश्य अनुरुप विद्यार्थीहरुको सक्रियतामा दिवसमा यस्तो कार्यक्रम तय गरिएकोे माउण्ट मेरीका प्रिन्सिपल अनिल प्रधानले बताउँछन् । ‘हामीले विभिन्न प्रतियोगिता गरेर आफ्नै विद्यालयमा बालदिवस मनाएको भएपनि हुन्थ्यो’ प्रधानले भने, ‘हामीले परम्परागत रुपमा भन्दा पनि विद्यार्थीहरुले फरक कुरा सिकुन भन्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरेका हौ ।’
माउण्टमेरीका विद्यार्थीहरुको दिवस मनाउने शैली नौलो र उदाहरणीय भएको अमर माविका प्रद्यानाध्यापक सोमनाथ निरौलाले बताउँछन् । ‘दिवस मनाउने यो शैली सम्झनलायक छÕ–उनले भने–‘अरुले पनि सिकुन, सम्झनलायक काम गरुन ।Õ वौद्धिक शसक्तिकरण केन्द्रका कमल साम्पाङ्गले पनि आफ्नै उमेरका वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सम्झेर वौद्धिक अपाङ्गताकेन्द्रमा जानु अरुभन्दा फरक र अनुकरणीय भएको बताए ।


897 पटक हेरिएको 






