हिजोआज शिक्षाका बारेमा निकै वहस भइरहेको छ । हामीले जस्तो शिक्षा पद्धति अवलम्वन गरेका छौं त्यसका आलोचकहरु मनग्गे छन् । जसले यो शिक्षाका बारेमा आलोचनात्मक टिप्पणी गर्छन् उनीहरु सबैजसो यही पद्धतिका उत्पादन हुन् । यस्ता आलोचनात्मक टिप्पणीहरु कति यथार्थपरक छन् यसै भन्न सकिन्न । हामी आप्mना मनमा जे लाग्छ त्यसैलाई सत्य मान्दछौं । त्यसैले हाम्रा मतहरु तथ्यपरकभन्दा अधिक मनोगत छन् । अध्ययन अनुसन्धान एक प्रकारले हाम्रा लागि नौलो बिष नै छ ।
२०२८/२९ सालतिर म इलाम क्याम्पसमा पढ्थें । क्याम्पसमा पुस्तकालय सायद थिएन, थियो भने पनि सामान्य र व्यवस्थित थिएन होला । त्यसताका लाइब्रेरियन भन्ने कोही भएजस्तो लाग्दैन क्याम्पसका कर्मचारीमा । अर्थात् कलेज पढ्दा पनि हामीलाई पुस्तकालय जाने बानि थिएन तर बजारमा उपलब्ध हुने पत्रपत्रिका किनेर पढ्ने काम चाहिँ नियमित नै हुन्थ्यो । त्यस बेला दार्जिलिङतिरबाट प्रकाश कोविदका रुमानी उपन्यासहरु आउँथे । तिनलाई पनि किनेर पढिन्थ्यो । कति सन्दर्भमा घरका अभिभावकबाट लुकाएर ।
काठमाडौंबाट प्रकाशित द राइजिङ नेपाल हाम्रो कोर्समै पथ्र्यो । भाषा सिक्न गोरखापत्र पढ्ने गर्नु भन्थे नेपाली पढाउने गुरुहरुले । अरु एकाध नेपाली साप्ताहिक पत्रिका पनि आउँथे तर प्रकाशनको साताजसो पछि मात्रै इलाम आइपुग्थे हुलाक मार्फत । त्यसैले हाम्रो मान्यता थियो नपढुञ्जेल सबै पत्रपत्रिका नयाँ हुन्छ ।
धर्मयुग, दिनमान, मुक्ता, नवनीत फिल्मफेयर जस्ता हिन्दी पत्रिका पनि सरकारले सेन्सर गरेर जफत नगरेका अंकहरु सबै पाइन्थ्यो पसलमा । त्यसैले तिनलाई नियमित किनेर पढ्ने गरिन्थ्यो । यसरी थोरै पत्रपत्रिका उपलब्ध हुने भएकाले रुची भए पनि नभए पनि तिनलाई आद्योपान्त पढिन्थ्यो ।
पछि वनारस बस्दा पढाइको कुरा चल्दा बिपी ठट्टा जस्तो गरेर भन्नुहुन्थ्यो– गणेशमानजी जस्तो मिहिनगरी अखबार पढ्ने अरु कोही छैन । उहाँ विज्ञापन समेत सबै पढ्नुहुन्छ । इलाममा रहँदा मेरो पनि पारा उस्तै थियो । यसरी पत्रिका पढ्दा वैज्ञानिक अनुसन्धानका परिणामहरु पनि पढिन्थ्यो र ती कति त विवादास्पद समेत हुन्थे । जस्तो, एउटा अध्ययनमा अण्डामा मानव शरीरलाई चाहिने पोषक तत्व धेरै हुने भएकाले अण्डा खानु पर्ने सुझाइएको हुन्थ्यो ।
अनि केही दिन पश्चात अर्को अध्ययनको परिणाम आइपुग्थ्यो, अण्डा मानिसको स्वास्थ्यका लागि हानिकारक छ । यस्तो अरु अरु बिषयमा पनि हुन्थ्यो । त्यसैले म भन्ने गर्थें डाक्टर र पण्डितले भनेका सबै कुरा पालन गरेर साध्य छैन । आपूmलाई जे अनुकूल हुन्छ त्यो ग्रहण गर्ने जे अनुकूल हुँदैन त्यो नगर्ने । आफ्ना लागि डाक्टर र पण्डित आपैm हुनु पर्दछ । एक हदसम्म यो आज पनि सत्य छ ।
हाम्रातिर अध्ययन अनुसन्धान अलिक कमै हुने गर्दछ । अनुसन्धानलाई महङ्गो र विलासी समेत भन्ने गरिन्छ । अध्ययन गर्ने विज्ञ पनि चाहियो र त्यसका लागि खर्च पनि । त्यही कारणले होला यतातिर त्यस्तो अध्ययन अनुसन्धान गरेर नयाँ परिणाम निकालिएको कमै सुनिन्छ । पश्चिमा अध्ययनलाई नै हामी सर्वत्र जसो आधार गर्दछौं ।
हामी धेरै कुरा अन्दाजका भरमा भन्ने गर्दछौं । अझ भन्ने हो भने हाम्रा कुरा धेरै आधारहीन हुन्छन् । हामीलाई कुरा गर्न आधिकारिक तथ्य तथ्याङ्क चाहिँदैन । त्यसैले भनिदिन्छौं– यहाँ यस्तो यति प्रतिशत छ । अर्थात् हाम्रा गाउँका नब्बे प्रतिशत स्कूले बिद्यार्थी बिहान घाँस काट्छन् । हो, गाउँका बिद्यार्थी घाँस काट्छन् तर त्यसो गर्नेको संख्या नब्बे प्रतिशत नै हुन्छ भन्ने कुनै गणनामा आधारित कुरा होइन । अझ कतिलाई त प्रतिशत भनेको के हो नै थाहा नभएर होकि तिनले भनेको सुनिन्छ– सयेमा नब्बे प्रतिशतले घाँस काट्छन् । बोलचालमा प्रतिशत ठेग्ने अभ्यास निकै पढालेखामा समेत पाइन्छ ।
पश्चिमी समाजमा मसिना मसिना कुरामा पनि अध्ययन गरिएको हुन्छ । एउटै बिषयमा धेरै अध्ययन भएका हुन्छन् । जस्तो देब्रे हातले लेख्ने मानिस कति प्रतिशत छन्, उनीहरुले गणना नै गरेका हुन्छन् । देब्रेले वा दाहिनेले लेख्नाले समाजमा के फरक ल्याउँछ भन्ने जस्ता बिषयमा पनि वैज्ञानिक अध्ययन भएको हुन्छ ।
पछिल्लो पटक भएको एउटा अध्ययनले दक्षिण एशियामा नै नेपाली सबैभन्दा बढी क्रियाशील रहेको देखाएको रहेछ । मानिसको जीवन शैली र उनमा लाग्ने रोगका बारेमा गरिएको अध्ययनले यस्तो देखाएको हो । मानिस जति धेरै क्रियाशील रहन्छ उनमा गम्भीर रोग लाग्ने जोखिम उति नै कम हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको यो अध्ययनले देखाएको छ ।
अध्ययन प्रतिवेदनमा भनिएको छ, निष्क्रिय जीवन शैलीका कारण विश्वको एक चौथाइ जनसंख्या गम्भीर रोगको जोखिममा छ । प्रतिवेदन अनुसार यस धर्तीका एक अर्ब ४० करोड मानिस निष्क्रिय छन् अर्थात् उनीहरु पर्याप्त शारीरिक व्यायाम गर्दैनन् जसका कारण उनीहरुलाई गम्भीर प्रकृतिका रोग लाग्ने जोखिम उच्च हुन्छ ।
शारीरिक रुपमा निष्क्रिय हुँदा अथवा शरीरलाई आवश्यक व्यायाम नपुग्दा मुटु, मधुमेह र क्यान्सरजस्ता रोगको जोखिम बढेकाले विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा यस्तो निष्क्रियताको दर १० प्रतिशतमा झार्ने लक्ष लिएको प्रतिवेदनमा उल्लेख छ । तर यसका लागि ठोस् योजना र कार्यक्रम नल्याए यो लक्ष पूरा गर्न कठीन रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
एक सय ६८ देशका एक अर्ब ९० करोड मानिसहरुले आप्mनो सक्रियताबारे दिएको सूचनालाई आधार गरेर अध्ययन प्रतिवेदन तयार गरेको प्रतिवेदनमा उल्लेख छ । उच्च आय हुने ब्रिटेन र अमेरिकासहितका मुलुकमा शारीरिक रुपमा निष्क्रिय जनसंख्या सन् २०१६ मा ३७ प्रतिशत पुगेको छ । यो जनसंख्या सन् २००१ मा ३२ प्रतिशत मात्रै थियो । कम आय भएका देशमा भने यो संख्या १६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । हप्तामा १५० मिनटभन्दा कम मध्यम खालको शारीरिक व्यायाम वा मेहनत गरेकालाई निष्क्रिय मानिएको छ ।
यो प्रतिवेदनको रोचक पक्ष अर्को छ । त्यसले पुरुषको तुलनामा महिलालाई कम सक्रिय रहेको देखाएको छ । घरायसी काममा व्यस्त हुनु पर्ने, बालबालिकाको स्याहार गर्नु पर्ने र सांस्कृतिक मान्यताका कारण महिलाहरु शारीरिक व्यायाममा केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यो कुरा विकसित देशमा लागु होला तर हाम्रो जस्तो देशमा घरायसी कामले नै महिलालाई मनग्गे शारीरिक व्यायाम पुग्नु पर्ने हो । जस्तो आधा घण्टा कपडा धुँदा पनि सामान्य शारीरिक व्यायाम नहोला त ? घाँस काट्ने, मेलापात गर्ने महिलाको कुरै नगरौं ।
यो अध्ययनका अरु कुरा भन्दा पनि शारीरिक सक्रियताका हिसाबले नेपाल अग्रस्थानमा रहेको निष्कर्षले पंक्तिकारको ध्यान खिच्यो । गरिबीको मारमा पिल्सेका नेपालीले शारीरिक सक्रियता नदेखाए त मुखमा माडै पर्दैन । त्यसकारण स्वास्थ्य सचेतनाका दृष्टिले भन्दा पनि हातमुख जोड्ने पीरले नेपालीहरु सक्रिय छन् । यतातर्पm अध्ययनको ध्यान कति गएको छ त्यो विचारणीय कुरा हो ।
सन् १९९५÷९६ तिर स्तनपान सम्बन्धी नेपालमा दक्षिण एशियाली क्षेत्रियस्तरको गोष्ठी आयोजित थियो । त्यसताका म प्रजनन स्वास्थ्य सम्बन्धी एउटा परियोजनामा काम गर्थें । त्यसैले स्तनपान सम्बन्धी नेपालका ग्रामिणस्तरको अनुभव बिषयमा मैले पनि एउटा कार्यपत्र प्रस्तुत गर्ने मौका पाएको थिएँ ।
त्यस गोष्ठीको उद्देश्य स्तनपानलाई प्रोत्साहित गर्ने थियो । त्यसैले मैले मेरो कार्यपत्रमा नेपालका ग्रामिण भेगमा स्तनपान गराउनका लागि आमाहरुलाई सुशिक्षित गराइरहन आवश्यक छैन भनेर उल्लेख गरेको थिएँ । मेरो तर्क थियो, उनीहरु स्तनपान गराउन सधैं लालायित हुन्छन् किनभने आमाहरुले एक छिन आराम गर्ने भनेको नै आप्mना नानीलाई स्तनपान गराउञ्जेल हो ।
मैले चल्तिको कहावतको उल्लेख गरेको थिएँ– आमाहरु काखमा लिएका नानीलाई हल्का चिमोटेर भए पनि रुवाउँछन् । किनभने काखको नानी फुल्याउने उत्तम अभ्यास स्तनपान हो । नानी लाम्टा चुसेर ननिदाउञ्जेल उनीहरु बस्न पाउँछन् । तिनले आराम गर्ने समय भनेको नै त्यति मात्रै हो ।
तर संगसंगै मैले स्तनपान सम्बन्धी हाम्रो ग्रामिण समाजको समस्या पनि त्यहाँ उल्लेख गरेको थिएँ । अंग्रेजीको त्यो कार्यपत्रमा मेरो मुख्य वाक्य थियो– ब्रेस्ट फिडिङ इज नट अ प्रोव्लेम इन रुरल नेपाल, र्यादर द प्रोब्लम इज हाउ टु फिड द ब्रेस्ट । अर्थात् ग्रामिण नेपालमा बच्चालाई दुध चुसाउने भन्दा पनि ती चुसाइने आमाका दुधका लाम्टलाई कसरी पोटिला बनाउने भन्ने हो ।
मैले तथ्य प्रस्तुत गर्दै भनेको थिएँ आमाहरु कुपोषित छन् । तिनका वक्षस्थलमा दुध भरिन नै पाउँदैन । त्यसैले स्तनपानका नाममा लाम्टा चुसाएर बच्चा सप्रँदैन । बच्चा सपार्ने हो भने आमाले पोषणयुक्त खाना पाउने वातावरण बनाउनु पर्दछ ।
मेरो कार्यपत्र सुनेर आयोजकहरु आत्तिए । त्यहाँ विदेशी विज्ञहरु पनि सहभागी थिए र मसँग विस्तृत छलफल गर्न चाहान्थे । तर आयोजकले नयाँ वहाना निकालेर मलाई त्यहाँबाट आवश्यक्ताभन्दा चाँडो विदा गरे । म हिँडेपछि ती विदेशीहरुलाई तिनले मेरो कार्यपत्र बारेमा के भने थाहा भएन ।