काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरिबी हटाइने बताएका छन् ।
शनिबार बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको बार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकहरुको कमजोरीका कारण नेपालीहरुले यस्तो नियती भोग्नु परेको बताए । ‘स्रोत साधनले भरीपूर्ण रहेर पनि नेपालीहरु गरिब हुनु सुहाउने कुरा होइन’ प्रधानमन्त्री ओलीले भने, ‘अब पाँचबर्ष भित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । ‘कतिपय मानिसहरु देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।’
सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अब पुरानो युगको अन्त्य भयो’ प्रधानमन्त्री ओलीले भने ‘नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नु पर्दछ ।’ यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।