नेपाली अदुवा युरोप र जापान जाँदै

जापानले नेपाली अदुवा स्तरीय भएको भन्दै अाफ्नाे देशमा ल्याउन माग

  सरलपाटी सम्वाददाता

 669 पटक हेरिएको

इलाम । नेपालमा उत्पादन हुने अदुवा युरोप र जापानमा निर्यात हुने भएको छ । युरोपको इटाली र एसियाली मुलुक जापानले नेपाली अदुवा स्तरीय भएको भन्दै माग गरेका छन् । आगामी सिजन (दसैंपछि ) दुईवटै मुलुकमा अदुवा निर्यात हुने नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर एकका अध्यक्ष तथा अदुवा व्यवसायी नरेन्द्र खड्काले जानकारी दिए ।

यसअघि जापान र इटालीको कम्पनीले नेपाली अदुवा नमुनाका रूपमा लगेका थिए । दुवै कम्पनीले नेपाली अदुवालाई स्तरीय भनेका छन् । ‘स्याम्पलका रूपमा ५/५ केजी पठाएका थियौँ,’ उनले भने, ‘दुवै मुलकका कम्पनीले हाम्रो अदुवा मन पराएका छन्, उनीहरूले आगामी सिजनमा खरिद गर्ने बताएका छन् ।’ दुवै मुलुकमा दुई महिनापछि अदुवा निर्यात गर्ने उनले जानकारी दिए ।

भारतीय मुलका एक इटाली नागरिकको स्वामित्व रहेको भेसी इटालियन नामक कम्पनीले नेपालको अदुवा खरिद गर्ने भएको हो । इलाम जिन्जर एक्स्पोर्ट प्रालिले उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ । आउँदो अक्टोबरमा एक कन्टेनर अदुवा इटाली पठाउने इलाम जिन्जरका प्रबन्ध निर्देशक हेमन्तराज बोहोराले जानकारी दिए । ‘जापानबाट पनि ल्याब टेस्ट पास भइसकेको छ, अब हामी आफैँ जापान जाने र आवश्यक सम्झौता गर्ने तयारीमा छौँ ।’

बजार विस्तारको बाटो
यसअघि नेपालबाट भारत र बंगलादेशमा अदुवा निर्यात हुँदै आएको छ । इटालीमा निर्यात सुरु हुन सके युरोपका अन्य मुलुकमा समेत जाने सम्भावना हुने खड्काले बताए । ‘ठूला मुलुकहरू इटाली र जापानबाट नेपाली अदुवाको माग आउनु असाध्यै ठूलो कुरा हो, हामी उत्साही छौँ,’ उनले भने, ‘अब सरकारले पूर्वाधार निर्माण गरिदिनुका साथै निर्यात सहजीकरण गरिदिनुपर्छ ।’ हाल नेपालमा वार्षिक करिब ६ लाख टन अदुवा उत्पादन हुने अदुवा उत्पादक संघको दाबी छ । नेपालको पूर्वी पहाडमा सबैभन्दा बढी अदुवा उत्पादन हुन्छ ।

अदुवा निर्यात तीन गुणा बढ्यो
‘नेपाल एकीकृत व्यापार रणनीतिक (एनटिआइएस)मा सूचीकृत अदुवाको निर्यात उच्चदरमा बढेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७४/७५मा कुल ७७ करोड २१ लाख रुपैयाँबराबरको अदुवा निर्यात भएको छ । यो अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणाले बढी हो । आव ०७३/७४मा २४ करोड ३३ लाख रुपैयाँको निर्यात भएको थियो । पछिल्ला पाँच वर्षयता अदुवाको निकासीमा उतारचढाव आइरहेको देखिन्छ । आव ०७०/७१मा ४४ करोड ९९ लाख रुपैयाँबराबरको अदुवा निकासी भएको थियो भने ०७३/७४मा आइपुग्दा निकासी घटेर २४ करोड ३३ लाख रुपैयाँमा ओर्लिएको थियो । चालू आवको पहिलो महिनामा ५ करोड ९५ लाख रुपैयाँबराबरको निकासी भएको छ ।

तर, भारतले फेरि अवरोध थाल्यो
युरोप र एसियाका अन्य विकसित मुलुकबाट समेत नेपाली अदुवाको माग आउन थाले पनि भारतले भने पुनः अदुवा निकासीमा अवरोध थालेको छ । लामो समयदेखि विभिन्न बहानामा नेपाली अदुवा निर्यातमा भारतले पटक–पटक अवरोध गर्दै आएको छ ।

अहिले नेपाल र भारतमा समेत प्रयोग हुन छाडिसकेको विषादीको कुरा उठाएर भारतले अदुवा निकासीमा अवरोध गरिरहेको खड्काले बताए । ‘खासगरी पानी ट्यांकी नाकामा एक साताअघि अदुवा रोकियो, उनीहरूले अल्गिकार्प नामक विषादी परीक्षण गरेपछि मात्रै निकासी गर्ने बताए । उनले भने, ‘त्यसपछि भारतको लखनउमा ल्याब टेस्ट भएपछि मात्रै अदुवा निकासी हुन सक्यो ।’

एक साता लामो समय अदुवा रोकिँदा ठूलो क्षति व्यहोर्नुपरेको उनले बताए । ‘नेपाल र भारतमा समेत १५ वर्षअघिदेखि नै प्रयोगमा प्रतिबन्ध लगाइएको विषादीको बहाना झिकेर फेरि अदुवा निकासीमा अवरोध गर्न खोजिएको छ,’ उनले भने, ‘इटाली, जापानजस्ता मुलुकका ल्याबबाट समेत पास भएको नेपाली अदुवालाई छिमेकी मुलुकले अवरोध गर्न खोज्नु दुःखद् हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार