ओलीका चिन्तन शैली र समृद्धि यात्रा

  धर्म गौतम

 782 पटक हेरिएको

नेपाल चिया विकास निगममा एकताका बृटिश सल्लाहकारहरु थिए । निगममा काम गर्ने एक कर्मचारीको कार्यसम्पादनबाट खुसी भएर त्यस्तै एक बृटिशले उनलाई एक तह बढुवा गरिदिएछन् तर त्यो बढुवा पदमा उनले एक साता बढी काम गर्न पाएनन् । कुनै वहाना बनाएर उनलाई साविककै पदमा झारिदिए । त्यसो गर्नुको रहस्य पछि खुलेछ । बढुवाको पत्र थापेर ती कर्मचारीले बृटिश हाकिमलाई धन्यवाद नभनेकामा उनलाई पुनः घटुवा गरिएको रहेछ । निगममै काम गर्ने एक हाकिमले भनेको सुनेको हो मैले ।
धन्यवाद भन्ने चलन हाम्रातिर थिएन । अचेल त्यसको चलन बढेको छ । तर धन्यवाद ठूला मानिसले सानालाई भनिने शब्द हो भनेर बुझेका एकाध मानिस मैले भेटेको छु । ठूला मानिसले सानालाई स्यावास भन्ने चलन छ । धन्यवादलाई पनि त्यस्तै अर्थमा लिएको होला ।
मैले पनि लामो समय मनोविज्ञान भनेको अर्काको मनको कुरा बुझ्नु हो भनेर बुझेको रहेछु । पछि जेलमा मनोविज्ञान सम्बन्धी पुस्तक पढ्न पाएपछि सही अर्थ खुल्यो । हुनसक्छ कति कुरामा अझैं त्यस्तो गल्ति भइरहेको होला । मनोविज्ञान सम्बन्धी त्यो पुस्तक पढेपछि मलाई मानिसको व्यक्तित्व समग्रमा उसको मनोविज्ञानको पुञ्ज हो जस्तो लाग्दछ । मनलाई प्रभाव पार्ने वातावरण हो ।
फुर्सदमा आफू आफू चुपचाप बसे पनि मन आफ्नै जसरी बस्न मान्दैन । ऊ निर्वाध विचरण गरिहन्छ नजिक–टाढा, यता–उता । कति बेला कहाँ पुग्छ र केमा अल्झिन्छ अनि फेरि कति बेला फुत्कन्छ, पत्तै नहुने यो मनको कुरा । तन र मनको सिर्जना सम्बन्ध गजबको छ ।
बाल्यकालका कुरा सम्झनामा आउँछन् । सिकुवामा बसेर आकाशमा बादलले बनाएका आकृति हेर्दा हुने आनन्दको अनुभूति भनिसाध्य छैन । त्यो बादल कहिले रुख बन्थ्यो, कहिले हात्ती । कहिले बालख बन्थ्यो कहिले बृद्ध । कहिले गाडि बन्थ्यो त कहिले हवाइ जहाज ।
आकृति अर्थात् चित्रलाई सबैभन्दा पुरानो सञ्चार माध्यम मानिन्छ । त्यो अक्षरभन्दा जेठो हो । यस्तो चित्र सबैभन्दा पहिले कोर्ने को थियो होला ? त्यो जोसुकै होस् । तर के उद्देश्यले वा के प्रयोजनले उसले कोर्यो होला त्यस्तो चित्र ? कि निरुद्देश्य भएथ्यो त्यस्तो खेल्दा खेल्दै ?
मानिस फुर्सदमा थियो होला । उसका छेउमा एउटा सिन्को वा छेस्को पनि थियो होला । उसका हात त्यही सिन्कातिर बढे होलान् । उसले त्यसलाई टिप्यो होला । अनि अगाडिको भुइँमा त्यसले काट्याउन वा कोर्न थाल्यो होला । त्यसले एउटा आकृति बनियो होला । त्यो कुनै वस्तुसँग मिल्न पुग्यो होला । र, पहिलो पटक मानिसले चित्र कोर्ने सीप जान्यो होला । यसरी चित्रकलाको थालनी फुर्सदको कुनै क्षणबाट भयो होला ।
त्यस दिनदेखि आजसम्म आइपुग्दा चित्रकला मानिसका महान सिर्जनाहरुमध्येमा पर्दछ । त्यो मूर्तबाट अमूर्ततिर गयो । यो फगत मेरो कल्पना हो । चित्रकलाको थालनी र विकासका बारेमा मैले सुनेजानेको छैन । हुनसक्छ पहिलो चित्र पनि आंशिकरुपले अमूर्त थियो । त्यो कुनै वस्तुसँग ठ्याक्कै मिलेको भन्दा पनि त्यसतिर नजिक भएको जस्तो थियो होला ।
केही दिनअघि एउटा रोचक समाचार पढेको थिएँ । पहिले पहिले नेपाली चित्रकारहरु आफ्नो सिर्जना प्रदर्शनीमा कुटनीतिक नियोगका मानिसलाई मुख्य अतिथि बनाउँथे । किनभने उनीहरु यस विधालाई जानेका हुन्थे । तिनले चित्रकलाका बारेमा आकर्षक कुराहरु बोल्थे र कार्यक्रमबाट विदा हुनलाग्दा केही कलाकृतिहरु किनेर साथैलिएर जान्थे । तर हिजो आज यस्ता कार्यक्रममा पनि राजनीतिक नेताहरुलाई नै प्रमुख अतिथि बनाउन थालिएको छ । तिनले के बोल्छन् अनुमान गर्न कठीन छ । चित्रकला नै नबुझ्नेले साधारणतः चर्को मूल्य तिरेर तिनलाई लिने त प्रश्नै भएन । उसो भए किन त्यस्तैलाई बनाउँछन् त मुख्य अतिथि ? यो प्रश्न चाहिँ पंक्तिकारको हो, समाचार अंश होइन ।
हिजोआज चित्रकला घोचपेच गर्ने, व्यङ्ग्यवाण गर्ने साधनको रुपमा समेत प्रचलनमा छ । त्यसलाई हामी व्यङ्ग्य चित्र भन्दछौं । भनिन्छ हजार शब्दमा व्यक्त गर्न नसकिएको कुरा एउटै चित्रबाट व्यक्त गर्न सकिन्छ । व्यङ्ग्य चित्र हेरेपछि उक्त कथनको प्रमाण खोजिरहन पर्दैन । त्यसैले पत्रपत्रिकाहरुले व्यङ्ग्य चित्रलाई एउटा अभिन्न स्तम्भ बनाएका हुन्छन् ।
हिजो बुधबारको नागरिक दैनिकमा एउटा आलेखसँग यस्तै एउटा व्यङ्ग्य चित्र छापिएको थियो । त्यो चित्रको मानिसको बोलि थियो– मलाई क्यै चाहिया छैन, ल हेर्नुस् त, म राजनीतिको जोगी हुँ ।
पसलबाट पत्रिका लिँदा हतारमा थिएँ । त्यही चित्रमा पहिलो दृष्टि पर्यो । त्यो चित्र वक्ता वामदेव गौतम जस्तो लाग्यो । केही समयअघि वामदेवलाई पहाडतिरको एउटा सांसदलाई राजिनामा गराएर उपनिर्वाचन मार्फत संसदमा ल्याइने हल्ला चलेको थियो । त्यस लगत्तै त्यही निर्वाचन क्षेत्रका युवाहरुले नेता गौतमलाई आफ्नो ठाउँमा ढिम्किन नदिने धम्की दिएको पनि समाचार आएको थियो । लाग्यो त्यसै सन्दर्भको टिप्पणी हो नेता गौतमको ।
तर घरमा गएर त्यो आलेख पढ्दा कुरो त्यसो होइन रहेछ । त्यो चित्रवक्ता संसदीय निर्वाचनमा पराजित कमरेड गौतम होइन रहेछन् । त्यो अभिव्यक्ति त हाम्रा स्वप्नदर्शी स्वनामधन्य प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको पो रहेछ ।
त्यो व्यङ्ग्य चित्रसँगको आलेखले कमरेड ओलीको बोलिको परीक्षण गरेको रहेछ उनी कुन मार्काका जोगी हुन् भनेर । सामान्यतः सबै कुरा त्यागेर देश परदेश घुम्दै भीक्षाबाट गुजारा चलाउनेलाई जोगी भनिन्छ । अर्थात् जोगीसँग सांसारिक सुख सयलको त्याग जोडिन्छ ।
राजनीतिमा लाग्ने सुख सयल त्याग्नलाई होइन, त्यस्तो सुख सयल अभिबृद्धिका लागि हो । अरु पेशा व्यवसाय गर्ने आप्mनो सुख सयल अभिबृद्धिमा केन्द्रित हुन्छन् भने राजनीति गर्नेले समाजमा नै सुख सयल थप्ने कल्पना गरेका हुन्छन् । त्यसैका लागि आजीवन प्रयत्नरत रहन्छन् । त्यसैले भन्ने गरिन्छ जोगी हुनलाई कोही पनि राजनीतिमा लागेको हुँदैन ।
उनले मार्फत त्यसो भने पनि हाम्रा कमरेड ओली जोगी बन्न राजनीतिमा लागेका पक्कै होइनन् । उनको सपना नै समृद्धिको छ । समृद्धि पनि भौतिक समृद्धि अर्थात् चुलामा ग्यास पाइप, पहाडमा रेल, खोलामा पानी जहाज ओलीका समृद्धि सपनाका मूल अंश हुन् ।
ओलीका समृद्धि सपनासँग विमति जनाउने कुरै छैन । देवकोटाले भनेका थिए, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । अर्थात् उद्देश्य सकेसम्मको ठूलो लिनु पर्दछ । त्यस अर्थमा पनि ओलीको समृद्धि सपना एकदम जायज छ । कुरो यति मात्रै हो ओलीजीका काम उनका आप्mनै सपना साकार गर्ने खालका छन् छैनन् ?
ठूलो उद्देश्य भेट्न समय पनि निकै लाग्नु स्वाभाविक हो । ओलीको सपनाआफूले यात्राको थालनी मात्रै हुँदैछ । पहाडमा रेल छ महिनामा कुदाउन सकिँदैन । छ बर्ष पनि कम होला त्यसका लागि । अपेक्षा मात्रै यति हो, छ महिनामै पनि दुई चार पाइला अगाडि बढिसकेको हुनु पर्ने । तर अब सबैतिरबाट भन्न थालिएको छ प्रधानमन्त्री कमरेड त एक पाइला पनि अगाडि बढ्न सक्नु भएको छैन ।
समृद्धिको आधार उत्पादन हो । हाम्रा सन्दर्भमा उत्पादन मूलतः कृषिको क्षेत्रमा हो । कृषि भन्नासाथ गाउँ हो र त्योसँग जोडिन आउने किसान हुन् । ओलीजीले कृषि र किसानको कुरा खासै गरेजस्तो लाग्दैन । यसलाई रेल र जहाजका कुराले ओझेलमा मात्रै पारेको हो भने कुरा बेग्लै हो ।
कृषि उब्जनी बढेको छैन बरु जमिन बाँझो राख्ने उद्यम बढ्दो छ । जमिनको मालपोतमा यसपालि जसरी बृद्धि भएको छ त्यसले उत्पादन बृद्धिलाई सघाउँदैन । पहिले उत्पादन बृद्धिका कार्यक्रम ल्याएर मालपोत बढाएको भए कुरा सुल्टो हुन्थ्यो । तर यहाँ त यी कुरा उल्टा भइरहेका छन् ।
कर बृद्धिको कुरालाई लिएर प्रधानमन्त्रीले भनेछन्, नेपालको कर एशियामा नै सबैभन्दा कम छ । प्रधानमन्त्रीले कुन कुन देशसँग कसरी तुलना गरेर भनेका हुन् त्यो थाहा भएन । हुन त जोगीहरु आत्मद्रष्टा हुन्छन् भनिन्छ । आत्मज्ञानबाटै त्यस्तो जानकारी उनलाई भएको भए भगवान जानुन् तर कर सम्बन्धी विज्ञहरुले प्रधानमन्त्रीका कुरामा सहमति जनाएको सुनिएको छैन ।
आफ्नो चुनावी गृह जिल्लामा आएका बेला जोगी बन्ने अर्थात् सबै भौतिक सुख सयल त्याग्ने भावना ओलीजीमा जागेको हो भने त्यो उनको निजी मामला हो । तर नेपाली जनताले ओलीलाई जोगी होइन भोगी देख्न चाहेका हुन् । भोग गर्नलाई भोग्य वस्तु आवश्यक हुन्छ । त्यो आकाशबाट बर्सिंदैन । त्यसलाई आफैंले उत्पादन गर्नु पर्दछ । त्यस्तो उत्पादन बृद्धिको नेतृत्व ओलीले गरिदिउन् भन्ने चाहना हो नेपाली जनताको ।
भनिन्छ आफूले धेर बोल्ने र अरुका कुरा कम सुन्ने मानिस हावामा सयर गरिरहेको हुन्छ । हावाको सयरले समृद्धि ल्याउँदैन । त्यसका लागि धर्तिमा ओर्लनु पर्दछ । यसो हेर्दा ओलीजी अरुका कुरा सुन्नमा भन्दा पनि आफ्ना कुरा सुनाउनमा बढी रुची राख्छन् । आफ्नो त्यस्तो बानिले समृद्धि नआउने देखेपछि वैराग लागेर आफूलाई जोगी देख्न थालेका हुन् भने नेकपाका बाँकी नेता कार्यकर्ताले सोच्ने बेला भने पक्कै भएकै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार