मुलुकी संहिताको विरोध गरिरहेका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनका कार्यक्रम गर्ने भएको छ । उसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका महासचिव डा. लोचन कार्कीले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेगरी आएको मुलुकी ऐनलाई नसच्याएसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने उल्लेख छ। ‘चिकित्सकलाई अपराधी करार गर्नेगरी आएको ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएको हुनाले संघ भदौ १७ गतेदेखि देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णयमा पुगेको छ’, जारी विज्ञप्तिमा भनिएको छ।
संघले भदौ १५ भित्र ऐन संशोधन गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप समेत लगाएको छ। ‘कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १५ गतेसम्म ऐनका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिबद्धता जारी गरेको हुनाले संघको तर्फबाट संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरेका थियौं’, विज्ञप्तिमा भनिएको छ, ‘तर, निर्धारित समयमा हाम्रो समस्यालाई समाधान गर्नेतर्फ पहल नभएको निष्कर्षसहित संघ आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णयमा पुगेको हो।’
यस्ता छन् आन्दोलनका कार्यक्रमहरु
-
१) २०७५ भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने ।
२) २०७५ भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने ।
३) २०७५ भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवाबाहेकका अन्य अपरेसनहरु बन्द गर्ने ।
४) २०७५ भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।
५) २०७५ भाद्र २२ गते शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने ।