ग्रीनभ्यालीकी आस्था वक्तृत्वकलामा पहिलो

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

  सरलपाटी सम्वाददाता

 2219 पटक हेरिएको


इलाम । इलामको बरबोटेमा सम्पन्न नगर स्तरीय मावि तहको वक्तृत्वकला प्रतियोगीतामा ग्रीन भ्याली एकेडेमीकी आस्था खड्गी पहिलो भएकी छिन् ।
११ औं पुस्तकालय दिवसको अवसर पारेर जनकल्याण सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक पुस्तकालय र समुदायमा यसको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगीतामा पहिलो हुँदै खड्गीले दुई हजार रुपैयाँ नगद सहित, मदन पुरस्कार प्राप्त पुस्तक योगमाया र प्रमाणपत्र पाएकी छिन् । प्रतियोगीतामा उमर माविकी सिसम खनाल दोस्रो, इलाम सगरमाथा वोर्डिङ्ग स्कुलका विवस लुइटेल तेस्रो र विणापाणी माविका रेविना राईले सान्तवना स्थान प्राप्त गरेका छन् ।
उनीहरुले पनि क्रमश नगद एक हजार पाँचसय, एक हजार र पाँच सय रुपैयाँ सहित प्रमाणपत्र र योगमाया पुस्तक पाएका छन् । सामुदायिक पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगूको अध्यक्षतामा भएको कार्यक्रममा १७ विद्यायकाका १७ प्रतियोगी सहभागी थिए ।
कार्यक्रममा पुस्तकालयकी उपाध्यक्ष निर्मला सञ्जेलले स्वागत गरेकी थिइन् भने सदस्य सागरमणि घिमिरेले कार्यक्रमको उद्देश्य जानकारी गराएका थिए ।

पठन संस्कृतिमा जोड
कार्यक्रममा सहभागीहरुले सामुदायिक पुस्तकारलयले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले ज्ञान सीप हस्तान्तरण गर्नको लागि पुस्तकालयको भूमिका उल्लेखीय हुने बताए । उनले मानिसलाई विचारमा परिपक्व हुन पठन संस्कृतिको जरुरी रहेको बताए । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख होमनाथ भण्डारीले सामुदायिक पुस्तकालयले विद्यार्थीलाई समेत पठन सामग्री प्राप्त गर्न सहज हुने बताए । पुस्तकालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी नरेन्द्र गुरुङले २४ वर्ष अघि स्थापना भएको जनकल्याण सामुदायिक पुस्तकालय नेपालको तेस्रो सामुदायिक पुस्तकालय भएको जानकारी दिदै यसले बरबोटेको विकासमा सहयोग पुगेको बताएका छन् । उमर माविका प्रअ सोमनाथ निरौलाले विद्यालय हाता भित्रै रहेको पुस्तकालयले विद्यार्थीलाई सहयोग पुगेको बताएका छन् ।
नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले पुस्तकालयको विकासमा नगरपालिका लाग्ने बताए । उनले चालु आर्थिक वर्षमा नगरपालिकाले पुस्तकालय ब्यवस्थापनको लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव दुलाले आगामी दिनमा सामुदायिक पुस्तकालयहरुलाई व्यवस्थित गर्दै लगिने बताए ।
डा देवी क्षेत्री दुलालले पुस्तकालयले समाजको विकासमा योगदान गर्नेभन्दै यसलाई थप विकसीत बनाउनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका उपाध्यक्ष सोम सुसेलीले जनकल्याण सामुदायिक पुस्तकालय नमुना पुस्तकालय रहेको बताए । गैर सरकारी संस्था महासंघ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्रकाश अधिकारीले पुस्तकालयलाई इलेक्ट्रोनिक पुस्तकालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षक राजेन्द्र चौहानले केही पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार