
सुर्योदयको दृश्यावलोकन गर्ने मुख्य स्थानका रूपमा परिचित हुँदै आएको अन्तुमा यो पटक हिउँद वर्खैं पर्यटकहरूको चहलपहल निकै रह्योे । तराईको गर्मीबाट चिसोमा रमाउन आउने पाहुनाले गर्दा अन्तु वर्षैभर चलिरह्यो ।
साउनको दोस्रो साता चितवनबाट पहाडको चिसोमा रमाउन अन्तु आइपुगेका प्रकाश भण्डारीलाई पनि अन्तु निकै आनन्द लाग्यो । ‘यो हुस्सु, चियाका मुना, पोखरी, सल्लाका रूखबाट तप्प–तप्प चुहिने कुहिरो र पानी, बाहिर बसेर कल्पना गर्नै सकिन्न’ भण्डारीले भने । यहाँ सञ्चालन भएका होम स्टे र कटेजहरूले गर्ने अतिथि सत्कार बेग्लै लाग्यो उनलाई । चिसो पानी खाने त कल्पना नगर्दा हुँदोरहेछ, चिया कहाँ फल्छ र कसरी टिप्ने भन्ने ज्ञान नहुनेलाई, अन्तुले त धेरै कुरा सिकाउँछ,’ उनले भने ।
होमस्टेको सस्तो बास, मीठो खाना र आतिथ्य सत्कार अन्तुको विशेषता बन्दैछ । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल नजिक रहेको छिपिटारदेखि करिब १४ किलोमिटर कालोपत्रे सडक पार गरेपछि पुग्न सकिने अन्तु भारतीय सीमा क्षेत्रसँग पनि जोडिएको छ । आकाश खुल्दा कञ्चनजंघा हिमाल, भारतका मिरिक, सिलिगुढी, कर्साङलगायतका क्षेत्रको पनि दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको प्रिय बनेको छ अन्तु ।
चियाका बुट्टाले भरिएका डाँडा वपरिपरि, बीचमा पोखरीको सुन्दर दृश्य र पोखरीमा वोटिङ गर्दाको आनन्दमा रमाउने पर्यटकलाई अन्तुको साँझले पनि उत्तिकै लोभ्याउने गरेको छ । पोखरीको नजिकमा राखिएका सोलार वत्तीको उज्यालो पोखरीमा पर्दाको छाँयाको दृश्य अझ हेर्न लायकको हुने भएकाले अचेल साँझमा पोखरीमा रमाउने पर्यटक निकै हुने गरेको होमस्टे सञ्चालक रूद्र घिमिरे बताउँछन् । घिमिरेका अनुसार साउन भदौको मौसम हुस्सु लागिरहने भएपनि तराईका जिल्लाबाट आउने पर्यटकको संख्या उल्लेख्य रह्यो, घिमिरेले भने ‘ कतिपय पारिवारिक ढंगले घुम्न आए भने कतिले आफ्नो कार्यालयको बैठक, गोष्ठी यतै गर्ने र एकदुई दिन बसेर फर्कने गरि आए, यो पटक अन्तु कुनै दिन खाली भएन ।’
आन्तरिक र बाह्य पर्यटक आउने गरेको अन्ुतमा यो वर्ष वर्षायाम शुरू भएपछि विशेषगरि झापा, विराटनगर, धरान, रौतहट, हेटौडा, चितवन, बुटवलदेखिका आन्तरिक पर्यटकहरू घुम्न आएको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आले बताउँछन् ।
इलाम र कन्याम घुमेपछि अन्तिम गन्तव्य अन्तुलाई बनाउने पर्यटकहरु अन्तुले गरेको आतिथ्य सत्कारमा निकै रमाउने गरेका छन् । स्थानीय २० घरमा पाहुनाका लागि घर बाँसको व्यवस्था छ । सादा खाना १५० र लोकल कुखुरासहितको खाना २२० र एक रात सुतेको प्रति व्यक्ति १५० रुपैयाँ लाग्ने अन्तुमा घरमा आफूले पकाएको जस्तै खाना खान पाउनुको मज्जाले पर्यटक तान्न सफल छ अन्तु । स्थानीय अन्तुडाँडा आमा समुहले सञ्चालन गरेको ‘होमस्टे’ मा बस्ने पर्यटकहरु कहिले पनि बेखुशी नभएको स्थानीयको बुझाइ छ । पाहुनाले चाहेको जस्तो व्यवहार, खाना, उनीहरुले रोजेका परिकार बनाउन अहिले सम्म कुनै समस्या भएको छैन, आमा समुहकी सचिव तारा खड्काले भनिन्–यहाँ आउने कतिपयले कोदो, फापरको रोटी, भुटेको भटमास, भुटेको कमै, उसिनेको आलु जस्ता चीजहरु तयार गर्न लगाउँछन् । उनीहरुले चाहेको खानेकुरा तयार गरिदिन्छौं ।


1092 पटक हेरिएको 






