इलामको रेडहर्सलाई पराजीत गर्दै झापाको रेडस्टार विजयी

  सरलपाटी सम्वाददाता

 395 पटक हेरिएको


ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपअन्तर्गत आइतबार भएको तेस्रो खेलमा रेडस्टार क्लब झापा विजयी भएको छ ।

रेडहर्स क्लब इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो । खेलको दोस्रो हाफको ११औँ मिनेटमा झापाका तर्फबाट मार्टिनले गोल गरेका थिए भने लगत्तै १५औँ मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । दुई विदेशी खेलाडीले गरेको गोल नै झापाको जितका लागि सहज बन्यो ।

यता अतिरिक्त दुई मिनेटको समयमा पेनाल्टीमार्फत रेडहर्सले एक गोल मात्र फर्काउन सक्यो । अतिरिक्त समयमा झापाका विकास राईले फल्ड गरेर रेडकार्ड पाएपछि इलामले पेनाल्टीको मौका पाएको थियो । पेनाल्टीमार्फत सञ्जय धिमालले गोल गरेका हुन् ।

यसैबीच आजका खेलमा शनिबारको विजेता कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र न्यूस्टार क्लब विर्तामोडबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । शनिबार भएको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० गोलअन्तरले पराजीत गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ विजयी भएको थियो ।

लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा सदरमुकाम फुङ्लिङस्थित भानु जन माविको खेल मैदानमा जारी प्रतियोगितामा भारत र काठमाडाँैका समेत गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ रुपैयाँ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी पाउने छन् ।

खेलकूदको माध्ययमबाट पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचारप्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो । यही भदौ ८ गतेदेखि शुरु भएको उक्त प्रतियोगिता भदौ १६ गतेसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार