चौथो महिलाका दिन कहिले आउलान् ?

   अरूण नेपाल

 962 पटक हेरिएको


नेपालको प्रमुख समस्या वर्गीय नै हो । गरीबी नै हो । गरीबीकै कारण लाखौं होनाहार युवावर्ग विदेशमा अत्यन्तै कष्टपूर्ण जीवन यापन गर्न बाध्य भइरहेका कयौं युवाका मर्मस्पर्शी कथा व्यथाले नेपालको प्रमुख समस्या भनेकै वर्गीय नै हो भन्ने सत्य प्रमाणित गरिरहेकै छ । नेपालको प्रमुख समस्या वर्गीय नै हो भन्ने त्यति बलियो प्रमाण हुँदाहुँदै पनि वर्गीय समस्याका अलावा नेपालमा लैङिगक, क्षेत्रीय र जातीय उत्पीडनलार्इ अन्देखा गर्नु भनेको ती उत्पीडित समुदायले आफ्नो मुक्तिका लागि गरेका कयौं युद्ध र आन्दोलन माथि घोर अन्याय गर्नु सरह हुनेछ । विद्रोहका मुल जरामा गंगाजल छर्केर संरक्षण गरे सरह हुनेछ । ती जनसमुदायले वर्गीय समस्यासँगै झेल्दै आएका अन्य उत्पीडनका पत्र नखोतल्दा सत्य र यथार्थ भन्ने शब्दको अर्थ नै बदल्नु पर्ने हुन्छ । नेपालका राजनीतिक दलले निकै पापड बेरेर जारी गरेको वर्तमान संविधानको पनि प्रस्तावना नै सबभन्दा पहिला जलाउनु पर्ने परिस्थिति पैदा हुन सक्छ । त्यसकारण, सम्बृद्ध नेपालको सपना बाँड्ने जो कोही नेपालको वास्तविक सामाजिक बनावटको कसीमा घोटिएर अघि बढ्न तयार भएमा मात्र त्यस्ता सपना साकार हुन सक्ने जमीन तयार हुन सक्छ । यसै मेसोमा पुरूष सरह प्रमुख वर्गीय समस्या झेल्दै आएका र वर्गीय समस्याको अलावा महिला भएकै कारण थप समस्या सामना गर्न बाध्य नेपालका महिला वर्गका पीडाका सम्बन्धमा उस्तै उस्तै वर्गीय समस्या झेलीरहेको म पुरूषको जीवनशैलीसँग तुलना गरेर घोत्लने प्रयास गर्नु नै यो लेखको प्रमुख उद्देश्य रहेको छ ।

म र पहिलो महिला
म सामान्य खान लाउन पुर्याउने एक पुरूष हुँ । म पूर्वी पहाडी जिल्लामा बसोबास गर्छु । मेरो जात ब्राम्हण हो । मसँग भएका सबैजसो विशेषता भएकी एक जना महिलासँग मैले मेरो जीवनशैली तुलना गर्ने प्रयत्न गरें । मेरो र उनको जीवनशैलीमा के केस्ता लैङ्गिक भिन्नता रहेछन् भनेर कहीबेर विचार गरें । यसरी विचार गर्दा ती महिला र मेरो जीवन शैलीमा केही महत्वपूर्ण फरकहरू पाएँ । उदाहरणको लागि घर परिवारमा म पुरूषले जस्तो दैनिक व्यवहार प्रदर्शन गर्छु, ठ्याक्कै त्यस्तै व्यवहार ती महिलाले समेत प्रदर्शन गरिन् भने उनलार्इ हाम्रो समाजले अलिक नकारात्मक दृष्टिकोणले हेर्दोरहेछ । त्यस्तै उनले मैले जस्तो निर्धक्कसँग आर्थिक अधिकारको उपयोग गर्न सक्दिरहिनछिन् । बालबच्चाप्रतिको जिम्मेवारी मेरो भन्दा उनकै बढि हुँदोरहेछ । मैले मेरी श्रीमतीलार्इ प्रयोग गर्ने भाषा र उनले उनको श्रीमानलार्इ प्रयोग गर्ने भाषा पनि निकै फरक रहेछ । घरमा पाहुँनापात वा इस्टमित्र आउँदा पनि उनकै जिम्मेवारी विशेष र बढि हुँदोरहेछ । अर्थात् घर भनेकै पुरूष भन्दा पनि महिलाले नै धान्ने हो भन्ने विचारले हाम्रो समाजमा दरै जरा गाडेको रहेछ । जिम्मेवारी जे जस्ता भएपनि समग्रमा घर, समाज आदिमा पुरूषको तुलनामा महिला दोश्रो स्थानमै रहेको महशुस हुँदोरहेछ ।

म र दोस्रो महिला
त्यसपछि, मसँग सबैजसो विशेषता मेल खाने तर म भन्दा दुर्गम स्थानमा बस्ने अर्की महिलासँग मेरो जीवनशैली दाँज्न खोजेँ । म र ती महिलावीच पनि उक्त अनुच्छेदमा उल्लेख गरिएका सबैजसो फरक पाइयो भने अरू केही थप गम्भीर फरक समेत पाइयो । दुर्गम स्थानमा बसोबास गर्ने पुरूष महिला दुवैले उपभोग गर्ने शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, यातायात, खाद्यान्न जस्ता सेवा सुविधा म शहरमा बस्नेलार्इ जति सहज रहेनछन् । त्यसमा पनि त्यही स्थानका पुरूषका तुलनामा ती महिलाले उपभोग गर्ने गुणस्तरीय शिक्षा र स्वास्थ्यका समस्या निकै पेचिला रहेछन् । छोराको आसमा अन्तरी छोरी जन्माउँदा एक पटक उनको ज्यान निकै जोखिममा परेछ । अन्तरी छोरी जन्मिएपछि उनको उचित स्याहार चाकर र हेरचाह हुन नसक्दा उनको स्वास्थ्य निकै कमजोड भइसकेको रहेछ । मंसीरको चटारोमा जन्मिएकि उनकि अन्तरी छोरीले बाल्यकालमा समेत निकै दुःख पाइछिन् । गोड्दै लाँदा पहिलो महिलाका तुलनामा दोश्रो महिलाका पीडा निकै दर्दनाक रहेछन् ।

म र तेस्रो महिला
फेरि मसँग सबैजसो विशेषता मिल्ने माथि उल्लेख गरिएका दुवै महिला भन्दा अलिक फरक जीवन यापन गरिरहेकि अर्की दलित महिलासँग मैले मेरो जीवनशैली दाँज्ने प्रयास गरेँ । ती महिलाले माथिका दुवै महिलाले भोग्दै आएका सबैजसो समस्या झेल्नुका साथै थप अन्य केही गम्भीर समस्या समेत सामना गर्दै आएकि रहिछिन् । ती मध्ये पनि सबभन्दा गम्भीर समस्या भनेकै उनलार्इ हेर्ने अत्यन्तै नकारात्मक सामाजिक दृष्टिकोण रहेछ । समाजमा हुने विवाह, ब्रतबन्ध, काजकृया, आदि जस्ता सामाजिक कृयाकलापमा समाजका अरू महिलाले जस्तै व्यवहार प्रदर्शन गर्न खोज्दा उनले प्रदर्शन गरेका त्यस्ता व्यवहारका बारेमा अनावश्यक चर्चा परिचर्चा हुँदोरहेछ । उनले प्रस्तुत गरेका निकै असल विचारहरूको समेत उचित कदर हुदोरहेनछ । उनले उत्पादन गरेर बजारमा लगेको दुध पनि सहजै नबिक्दोरहेछ । हुन त जातीय रङ्ग पोतिएका त्यस्ता व्यवहारको सिकार त्यस समुदायका पुरूष र महिला दुवै भए पनि पुरूषको तुलनामा महिलाले भोग्ने विभेद बढि सम्बेदनशील रहेछन् ।

म र चौथो महिला
माथि उल्लेख गरिएका तिनवटै अवस्थाबाट गुज्रिएका महिलाको भन्दा पनि सबभन्दा खराव हालत त अर्की दलित महिलाको रहेछ । ती महिला माथिका तिनै जना महिलाले भोगेका सबैखाले विभेदजन्य व्यवहारका अलावा अन्य अकल्पनीय समस्या भोग्न बाध्य रहिछिन् । ती महिलाको हालत म पुरूषसँग खासै तुलना योग्य नै रहेनछ । म पुरूषसँग त के माथि उल्लेख गरिएका तिनैजना महिलासँग पनि खासै तुलनायोग्य रहेनछ । उनले केवल हातमुख जोड्नकै लागि दुर्गम स्थानमा बसेर दैनिक रूपमा कडा शारीरिक परिश्रम गर्नुपर्ने बाध्यता रहेछ । एक दिन मात्र उनले श्रम नगर्ने हो भने उनलार्इ अर्को दिन हात मुख जोड्नै धौधौ पर्दोरहेछ । चरम आर्थिक समस्या टार्न भनेर रोजगारको खोजीमा मुङ्लान भासिएका उनका श्रीमान बेपत्ता भएको बर्षौं बितेछ । उनले बृद्ध एवं असक्त शासु ससुराको हेरचाह गर्नुपर्दोरहेछ । उनका निकै जना भल्ट्याङ्ग भुल्टुङ्ग सन्तान रहेछन् भने उनकि ठूली छोरीले हालसालै मात्र अलैंचीबारीमा घाँस काट्न जाँदा बलात्कृत भएर जीवन गुमाएकि रहिछिन् । आफ्नी साथीको बलात्कार कसले गर्यो भनेर प्रश्न गर्ने अर्का युवा तातो गोली खाएर मृत्यु भएपछि उनी झन् ठूलो मानसिक तनावमा रहिछिन् ।

उनको माइतीपट्टिको हालत पनि उस्तै खराव रहेछ । उनका दाजु (नेपाली सेना) एवं भाइ (जनसेना) जनयुद्धका क्रममा मारिएका रहेछन् । अझ उनका भाइलार्इ लुकाएको आरोपमा उनका बाबु आमा समेत बेपत्ता बनाइएका रहेछन् । उनी साहुको ऋणमा चुर्लुम्मै डुवेकि रहिछिन् । सामान्य शिक्षा स्वास्थ्यको सुविधाबाट समेत उनको परिवार पूरै बञ्चित रहेछ । उनको झुपडी पूरानो भएर तप्तप् पानी चुहिने अवस्थामा पुगेको रहेछ । आर्थिक अभावकै कारण छानो छाउने वा मर्मत गर्ने सम्भावनै रहेनछ । परिवारका कुनै पनि सदस्यका सग्ला कपडा रहेनछन् । जाडाका समयमा गुन्द्री वा पराल खापेर सुत्न थालेको निकै बर्ष भयो रे । यसरी उनका जीवनका एक पछि अर्को पत्र खोतल्दै जाँदा उनको जीवनकथा निकै कहालिलाग्दो र अकल्पनीय रहेछ । त्यस्तो अकल्पनीय जीवनकथाको धेरै नै गरूङ्गो भारी बोकेकि ती दलित महिलाको कथा व्यथा त हामी जस्ता ब्राम्हण पुरूषले अनुभुति त के कल्पनासम्म गर्न नसकिने रहेछ । त्यो दर्दनाक जीवनको यथार्थ चित्र प्रस्तुत गर्न त धेरै नै मेहेनतकासाथ गहन अध्ययन अनुसन्धान नै गर्नुपर्ने टड्कारो आवश्यकता रहेछ । त्यस्ता गाउँहरूलार्इ नै अनुसन्धानको केन्द्रबिन्दु वा विश्वविद्यालय बनाउन आवश्यक रहेछ । उनीहरूसँगै बसेर एथ्नग्रयाफिक (Ethnographic) अनुसन्धानको बाढी नै चलाउनुपर्ने आवश्यकता रहेछ । डा. गोविन्द केसी जस्ता केही व्यक्ति र जनयुद्धका दुर्इ चार वटा घटनालार्इ भँजाउँदै आलोपालो सरकार र प्रतिपक्षमा बसेर ब्रम्हलुट मच्चाउन पल्केकाहरूले अकल्पनीय पीडाका सिकार बनेका र समस्यै समस्याका अनगिन्ति पत्रमा जेलिएका यहाँ उल्लेख गरिएजस्ता केही प्रतिनिधि उत्पीडित महिला र प्रमुख रूपमा चौथो महिलाले समेत प्रत्यक्ष रूपमा अनुभुति गर्न पाउने परिवर्तनका दिन ल्याउलान् भनेर कल्पना गर्न सकिएला र ?

निश्कर्ष
यस्तै उत्पीडित जनसमुदायका सत्र हजार नेपाल आमाका सन्ततीको तातो रगतमा होली खेल्दै यिनै दलले निर्माण गरेको संविधानको प्रस्तावनामै उल्लेख गरिएको, “वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङिगक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुमातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प” को परिभाषाभित्र यहाँ उल्लेख भएजस्ता उत्पीडित जनसमुदायका महिला पर्छन् कि पर्दैनन् ? कि संविधानमा जेसुकै संकल्प गरिएको भएतापनि आलोपालो सरकार र प्रतिपक्षमा बसेर नेपाललार्इ विश्वकै बद्नाम मुलुक बनाउने परम्परा नै नेकपा र नेकापाको सक्कली परिचय हो ? के उनीहरू स्वयंले निकै ठूलो खैलाबैला मच्चाएर उनीहरूले नै संविधानको पनि प्रस्तावनामै लेखेका सर्वसाधारण जनताले अनुभुति गर्न सक्ने यहाँ उदृत गरिएजस्ता न्युनतम कुरा त कम्तीमा कार्यान्वयन गरेर देखाउनु पर्छ होला नि, होइन र ? नेपाली जनताले उनीहरूले नै संविधानमा लेखेका कुरा लागु गरेर देखाउ भन्दै खवरदारी गर्ने अधिकार त छ होला नि, होइन ? यति खवरदारी गर्दैमा नेपाली जनताले विगतमा झैं अत वा आतंककारीको बिल्ला त भिर्नु पर्दैन होला नि ? कि जनताले चाहिँ अझै पनि उनीहरूको दोहोरो चरित्र प्रदर्शन गर्ने जनतामारा प्रवृत्तिकै दास बनेर युगयुगसम्म बाँचिरहनुपर्ने हो ? यी र यस्ता अनेक अनुत्तरित प्रश्नको चित्तबुझ्दो उत्तर हामी नेपाली जनताले व्यावहारिक रूपमै अनुभुति गर्न अझै कति समय कुर्नुपर्ला ? 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार