
विर्तामोड ।
मेचीनगर नगरपालिकाले सब्जीमण्डीका लागि खरिद गरेको जग्गा नामसारी गर्दा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै विशेष अदालतले दुई अधिकृतसहित ५ जना कर्मचारीलाई ३० महिना जेल सजाय र ६ जनालाई बिगो बापतको रकम जरिमाना गर्ने फैसला गरेको छ।
तत्कालीन मेचीनगर वडा नं। ३ तथा हाल वडा नं। १० को ५ बिगाहा जग्गा २०६९ फागुन १४ गते नगरपालिकाले खरिद गरेको थियो । सो जग्गाको नामसारी गर्दा ११ लाख रुपैयाँ राजस्व रकम हिनामिना गरेको अदालतले ठहर गरेको छ । सो मुद्धाको फैसला गर्दै विशेष अदालतले मेचीनगरका तत्कालीन कार्यकारी अधिकृत भीम पौडेल र मालपोत कार्यालय झापाका तत्कालीन शाखा अधिकृत कोमलप्रसाद खतिवडासहित ५ जना कर्मचारीलाई जनही २ वर्ष ६ महिना कैद र बिगो बापतको रकम जरिवाना तिराउने फैसला सुनाएको हो ।
सोही मुद्धामा झापा धुलाबारीका लेखापढी व्यवसायी अमरकुमार न्यौपानेलाई बिगो बापतको रकम जरिवाना तिराउने ठहरसहित फैसला गरेको विशेष अदालतका प्रबक्ता नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए । अदालतले यही भदौ ५ गते फैसला सुनाएको हो ।
फैसला अनुसार मेचीनगरका तत्कालीन कार्यकारी अधिकृत पौडेल र नगरपालिकाका नायब सुब्बा रमेशकुमार आचार्यलाई जनही ५ लाख ५० हजार जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । त्यस्तै मालपोत कार्यालय झापाका तत्कालिन शाखा अधिकृत खतिवडासहित नायब सुब्बा ईन्द्रप्रसाद शिवाकोटी र खरिदार हिराबहादुर खड्कालाई जनही ७३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय सुनाइएको विशेष अदालतका प्रबक्ता पोखरेलले बताए ।
सोही मुद्धामा मेचीनगर–९ का लेखापढी व्यवसायी अमर न्यौपानेलाई बिगो बापतको ११ लाख रुपैयाँ जरिवाना तिराउने फैसला विशेष अदालतले गरेको छ । प्रवक्ता पोखरेलका अनुसार विशेष अदालतको फैसला चित्त नबुझे यो मुद्धामा विशेष अदालतले फैसला गरेको ३० दिन भित्र पुनरावेदन गर्न सकिने व्यवस्था छ । उक्त जग्गा खरिद प्रक्रियाप्रति असन्तुष्टहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविन गरी पाउँ भनी उजुरी हालेका थिए ।


660 पटक हेरिएको 






