इलाम । २०७३ देखि सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम अन्र्तगत इलाममा सेवा लिनेको संख्या ४० हजार पुगेको छ । सामाजिक स्वास्थ्य बीमा समिति इलामका अनुसार गत जेठ महिना सम्म ३८ हजार ९ सय ३८ जनाले सेवा लिइरहेका छन् । आगामी भदौ १ गतेदेखि थप तीन हजार जनाले सेवालिने छन् । अहिले पनि भदौ १ गतेदेखि सेवा लिनेगरि फारम संकलन भइरहेको समितिका दर्ता अधिकारी खेम अधिकारीले जानकारी दिए । तीन हजार फारम संकलन भइसकेका छन्, अब दुई हजार फारम संकलन हुँदैछन्, यसो गर्दा भदौ १ देखि सेवा लिनेको संख्या अझ बढ्नेछ, अधिकारीले भने ।
जिल्लामा अहिले सम्म १८ हजार ४५५ पुरूष र २० हजार ४८३ महिलाले स्वास्थ्य बीमा गराएका छन् । जिल्ला अस्पताल इलाम, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र देउमाइ, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र सूर्योदय, पशुपतिनगर प्राथमिक स्वास्थ्य उपचार केन्द्र र माइजोगमाईको प्याङ प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट बीमा गरेकालाई सेवा प्रदान भइरहेको जनाइएको छ । यी स्वास्थ्य संस्थामा एक भन्दा बढी एमबीबीएस डाक्टरहरू कार्यरत छन् ।
यी बाहेक थप उपचार गर्नकालागि सम्बन्धित स्वास्थ्य संस्थाबाट रेफर भएका विरामीहरू झापाको मेची अस्पताल, आम्दा, लाइफलाईन, मेची आँखा उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल अस्पताल र धरान स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने गरेका छन् । बीमा समितिका अनुसार इलामका स्वास्थ्य संस्थाबाट उपचारको सेवा लिनेको संख्या ३४ हजार ५४ जना, झापाबाट पाँच देखि सात हजार जना, नोबेल अस्पतालमा दुई हजार, वीर अस्पताल काठमाडौं, भक्तपुर, मानव अंङ्ग प्रत्यारोपण केन्द्र र भरतपुर क्यान्सर अस्पतालबाट समेत गरि करिब १२ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
समितिले हरेक सथनीय तहका प्रत्येक वडामा एक–एक जना बीमा स्वंयसेवक खटाएको छ । उनीहरूले प्रत्येक परिवारका व्यक्तिलाई भेटि उनीहरूको फोटो आफ्नो मोवायलमा खिचेर साथमा फारम भरेर बीमा गराउने गरेका छन् । पाँच जनाको परिवारलाई दुई हजार पाँच सय रूपैयाँ र पाँच जन भन्दा माथि परिवार संख्या भए प्रतिव्यक्ति चार सय २५ का दरले थप गरि स्वास्थ्य बीमा गरिन्छ । पाँच जनाको परिवारलाई सरकारले ५० हजार रूपैयाँ सम्मको सेवा प्रदान गर्छ । ६ जनाको परिवारलाई ६० हजार, सात जनाको परिवारलाई ७० हजार र दश जनाको परिवार भएमा एक लाख रूपैयाँ सम्मको उपचार सेवा प्रदान गर्ने गरेको छ । तर, प्रत्येक परिवारले वार्षिक रूपमा नविकरण भने गर्नुपर्ने व्यवस्था छ ।
विरामी परे आफैं उपचार गरौंला नपरेदेखि गरिब व्यक्तिले उपचार पाउँछन्, केही समय अघिमात्र स्वास्थ्य बीमा गर्नुभएकी इलाम नगरपालिका– ७ की राधादेवी चापागाईंले भनिन्–स्वास्थ्य बीमा प्रभावकारीनै लाग्यो । विशषेगरि पैसा नभएका कारण स्वास्थ्य परिक्षणनै गराउन नसकेका गाउँका महिलाहरूलाई बीमा कार्यक्रम बढी प्रभावकारी रहेको चापागाईंको भनाइ छ ।
शुरूमा कैलाली, इलाम र बागलुङबाट पाइलट प्रोजेक्टका रूपमा शुरू भएको बीमा कार्यक्रम अहिले ४१ जिल्लामा सञ्चालन भइरहेको र आर्थिक वर्ष ०७५÷०७६ देखि ७७ वटै जिल्लामा सञ्चालन हुने सामाजिक स्वास्थ्य बीमा समिति इलामले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत अहिले सेवाग्राहीले एक हजार ११८ किसिमका औषधीमा सुविधा पाउने गरेको जनाइएको छ । बहिरंग, प्रयोगशाला, एक्स–रे, साधारण चिरफार, मधुमेह, प्रजनन स्वास्थ्य, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, अक्सिजन र स्वास्थ्य जोखिम परीक्षणलगायत सेवा पाइने गरेको दर्ता अधिकारी खेमले जानकारी दिए ।
फारममा जुन स्वास्थ्य संस्थाबाट सेवा लिने उल्लेख गरिएको छ, त्यसै स्थानबाट सेवा लिनुपर्ने र थप उपचारका लागि सम्बन्धित संस्थाबाट रेफर हुनुपर्ने व्यवस्था भएपनि आकस्मिक बिरामी परेमा तोकिएका अन्य अस्पतालबाट पनि सेवा लिन सकिने बताइएको छ । निम्न आय भएका र गरिबहरूलाई उपचार गर्न सजिलो होस भनेर सञ्चालन गरिएको बीमा कार्यक्रममा इलाममा स्वास्थ्य परिक्षण गराउनेहरूको संख्या भने उल्लेख्य रहेको अधिकारीले बताए ।
अधिकारीका अनुसार प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधारण, एक हजार रूपैयाँ माथिको चस्मा, श्रवण यन्त्र, दाँतमा फलामले बान्ने जस्ता सेवाभने स्वास्थ्य बीमा भित्र पर्दैनन् ।