
इलाम ।
सदरमुकामस्थित इलाम अस्पतालमा बिरामीको चाप दिन–प्रतिदिन बढिरहेको छ । ५० शड्ढयाको अस्पतालमा यतिबेला बिरामी अटाउन धौधौ हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
१६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले ४ जना मात्रैले सेवा दिइरहेका छन् । तर, थोरै संख्याकै डाक्टरले पनि आफूहरूलाई सकेसम्म सेवा दिएको बिरामीको प्रतिक्रिया छ । समय–समयमा डाक्डर र नर्सहरू सेवा दिन आउने गरेको बिरामी नै बताउँछन् । अस्पताल वरपर सफा–सुग्घर पनि पारिएको छ ।
ज्वरो आएर ४ दिनअघि अस्पताल भर्ना भएका हेमन्त घिमिरेले डाक्टरहरूले बिरामीलाई कुनै समस्या हुन नदिएको बताए । ‘अस्पतालले डाक्टर थोरै छन् भनेर उपचार नगरेको छैन,’ उनले भने, ‘नियमित समयमा र बोलाएका बेला डाक्टरले बिरामी हेरेका छन्, उपचार गरेका छन् ।’ इलाम नगरपालिका–९ का जसबहादुर मोक्तानले पनि पहिलाको इलाम अस्पताल र अहिलेको त्यही इलाम अस्पतालमा धेरै अन्तर पाएको बताए । ‘हाल ज्यादै ठूला रोग भेटिए मात्र यहाँबाट अन्य अस्पताल जानुपर्ने रहेछ,’ उनले भने, ‘जनशक्ति थोरै भएपनि आएका बिरामीलाई इलाम अस्पतालमै राम्रो उपचार गर्दारहेछन् ।’
तर, स्वास्थ्यकर्मी अभावले २ वटा वार्ड एकैसाथ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा ४ हेल्थ असिस्टेन्टले दैनिक ३० भन्दा बढी बिरामी जाँच गर्दैछन् । ‘तर, सबैले दिन–रात नभनी काम गरिरहेकाले बिरामीको गुनासो छैन,’ अस्पतालका प्रशासकीय अधिकृत क्षितिज खतिवडाले भने ।
अस्पतालले बायोग्याँस प्लान्ट जडान गरेर कर्मचारीलगायत बिरामीलाई चाहिने खाना बनाउने ऊर्जा पनि उपलब्ध गराउने तयारी गरेको छ । प्रसूति गराउनुपर्ने बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले केही समयअगावै आएर बस्नसक्ने प्रतीक्षालय पनि निर्माण गरिने अस्पतालले जनाएको छ । अस्पतालमा उत्पादन हुने फोहोर वर्गीकरण गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्ने कार्य पनि तत्काल सुरु गर्ने योजना रहेको खतिवडाले बताए ।


2882 पटक हेरिएको 






