
इलाम । इलामको सात स्थानीय तहले एक वर्षमा पचास करोड रकम प्रशासनिक खर्चका लागि छुट्याएका छन् । आर्थिक वर्ष ०७५÷०७६ का विनियोजित बजेट अनुसार ४८ करोड ३९ लाख पाँच हजार रुपैयाँ कर्मचारी र पदाधिकारीको तलवभत्ता, कार्यालय सञ्चालनमानै खर्च हुने भएको छ ।
इलाममा दश स्थानीय तह मध्ये सातवटा गाउपालिका नगरपालिकाले मात्रै बजेट सार्वजनिक गरेका छन् । इलामको माई नगरपालिका सहित दुई स्थानीय तहको बजेट सार्वजनिक गरेको छैनन् । स्थानीय तहले असार १० गतेभित्रमा योजना तथा बजेट सभामा पेश गरिसक्नु पर्ने प्रावधान छ । तर, धेरैले तोकिएको समयमा बजेट पेशनै गरेनन् । बजेट पेश भएपनि उनीहरुले बजेट सार्वजनिक गरेका छैनन् । पारित भएको बजेट एक महिनाभित्रमा सार्वजनिक गर्नुपर्छ । कानुनले तोकेको समयसीमा अनुसार साउन १० गतेभित्रै बजेट सार्वजनिक गर्नुपर्ने थियो । तर अर्को एक महिना वित्दासमेत बजेट सार्वजनिक भएको छैन । इलामको माइनगरपालिका सहित माङसेबुङ्ग र फाकफोकथुम गाउँपालिकाले बजेट सार्वजनिक नगरेका हुन् ।
बजेट सार्वजनिक भएको स्थानीय तहले तीक करोड रुपैयाँ देखि १२ करोड रुपैयाँसम्म प्रशासनिक खर्चको लागि विनियोजन गरेको पाइएको छ
सात स्थानीय तहले ४८ करोड ३९ लाख पाँच हजार रुपैयाँ प्रशासनिक खर्चका लागि बजेट विनियोजन गरेका छन् । माइ नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, र फाकफोकथुम प्रशासनिक खर्च थपिदा इलामका स्थानीयत तहको प्रशासनिक ६० करोड रुपैयाँ भन्दा माथि हुने प्राय निश्चित छ । सूर्योदय नगरपालिकाले ७८ करोड ७३ लाख ३६ हजार रुपैयाँको कुल बजेटमध्ये ११ करोड ३७ लाख ७२ हजार रुपैयाँ प्रशासनिक तर्फ विनियोजन गरेको छ ।
७९ करोड ८० लाख रुपैयाँ बजेट भएको इलाम नगरपालिकाले चालु खर्चका लागि ११ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । २४ करोड ८६ लाख ९४ हजार रुपैयाँ बजेट रहेको सन्दकपुर गाउँपालिकाले तीन करोड ७५ लाख ६६ हजार रुपैया प्रशासनिक खर्च राखेको छ । देउमाई नगरपालिकाले कुल बजेट ५४ करोड १७ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिको छ करोड ९० लाख रुपैयाँ प्रशासनिक खर्च छुट्याएको छ ।
चुलाचुली गाउँपालिकाले चार करोड ३८ लाख ८२ हजार रुपैयाँ चालु खर्चको लागि विनियोजन गरेको छ । चुलाचुलीको २४ करोड ३७ लाख ९६ हजार रुपैयाँ बजेट छ । रोङ गाउँपालिकाले ३२ करोड सात लाख २२ हजार आठ सय रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ । त्यसमध्ये चार करोड पाँच लाख रुपैयाँ चालुमा विनियोजन गरेको छ । माइजोगमाई गाउँपालिकाले छ करोड ११ लाख ८५ हजार रुपैयाँ प्रशासनिक खर्च छुट्याएको छ । गाउँपालिका मध्येमा सवैभन्दा बढि चालु खर्च माइजोगमाई गाउँपालिकाको छ । गाउँपालिकाको बजेट ३२ करोड ५५ लाख एक हजार रुपैयाँको छ ।


796 पटक हेरिएको 






