गाउँको परिश्रम

  सरलपाटी सम्वाददाता

 436 पटक हेरिएको

चुलाचुलीमा हाते कागज सुकाउँदै भीममाया काम्वाङ ।

इलाम,
कतार र साउदीको तातो घामका पिल्सएर काम गरेको सपना जस्तै भएको छ, माइपोखरीका महेश्वर फागोलाई यतिबेला । पैसा कमाउन विदेश गएका फागो लामो समय त्यहाँ बसेर नेपाल फर्किएका हुन् । अहिले माइपोखरीबाट पनि चूलाचुली गाउँपालिका– २ मा झरेर बसोबास थालेका फागोले बसोबास सँगै हाते कागज उद्योग स्थापना गरेका छन् ।
‘विदेशै गएपनि काम नगरि हुन्न, त्यति काम यतै गर्दा कमाइ कम होइन रहेछ भन्ने लाग्यो’ फागोले भने ‘यहाँ त एकैछिन गर्मी हुँदा पनि घर भित्र बस्न त पाइन्छ ।’ माइपोखरी कागज उद्योगका नाममा दर्ता भएको फागोको उद्योगमा अहिले दैनिक १२ सय प्रति हाते कागज उत्पादन हुन्छ । उद्योगमा दुई किसिमका कागज उत्पादन गर्दे आएका फागोले मेशिन प्रयोग गरेर र हातैले मात्र पनि कागज बनाउने गरेका छन् । प्रतिगोटा १५ रूपैयाँदेखि ३० रूपैयाँ सम्म बिक्री हुने कागजबाट कमाइ पनि सन्तोष जनक रहेको उनी बताउँछन् ।
चार जनालाई रोजगारी दिएको उद्योगमा कच्चा पदार्थ लोक्ता भने माइपोखरीबाटै लाने गरिएको छ । ‘माइपोखरीको ८०–९० रोपनी जग्गामा लोक्ता लगाएको छु, बाँकी गाउँबाट पनि संकलन गरेर ल्याइन्छ ।’ फागो भन्छन् ‘कच्चा पदार्थ लोक्ता त पाइन्छ, ल्याउन सरकारी प्रक्रिया मिलाउन चाँहि निकै झन्झटिलो छ । कच्चा पदार्थ ढुवानीमा सजिलो हुनेहो भने यहाँ कागज उत्पादन गर्न सकिने रहेछ ।’ चूलाचुलीमा तातो मौसम भएकाले दैनिक कागज उत्पादन गर्न र सुकाउन सजिलो हुने फागो बताउँछन् । फागोकै उद्योगमा काम गर्ने ५३ वर्षीया भीममाया काम्वाङ पनि हाते कागजको रोजगारीबाट सन्तुष्ट छन् । प्रतिगोटा एक रूपैयाँका दरले रकम पाउने काम्वाङले दैनिक तीन सय रूपैयाँ सम्म कमाइ गर्ने गरेकी छन् । ‘खेतीपातीका समयमा खेती ग¥यो, बाँकी फुर्सदका समयमा घरमा त्यसै बस्नु भन्दा केही काम गर्नु राम्रो भन्ने लागेर कागज बनाउन थालेकी हँु । फुर्सदको कमाइ ठीकै छ ।’ उनले भनिन् ‘दैनिक तीन सय जति हुन्छ, यसले घरखर्च चलाउन पुगेकै छ ।’
उद्योग सञ्चालक फागोले पनि उद्योगमा धेरै लगानी त गरेका छैनन् । ५–६ लाख रूपैयाँ लगानी गरेका फागोले मासिक ३३ देखि ३५ हजार रूपैयाँ नाफा कमाउने गरेको बताए । उद्योग स्थापना गरेर राम्ररी सञ्चालन गर्दैगर्दा कसैबाट पनि सहयोग भने नभएको फागोको भनाइ छ । ‘अहिले त स्थानीय सरकार पनि भए हामी जस्ता साना उद्योगीलाई केही प्राविधिक सहयोग गरिदिए पनि राम्रो हुने थियो’ फागो भन्छन् ‘जसोतसो उद्योग चलेको छ, विदेश गएर काम गर्नु भन्दा आफ्नै देशमा काम गर्नु राम्रो हो भन्ने म आफूमै छाप बसेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार