इलाम/२४ वर्षे लक्का जवान थियो, जहरमान मुखियाको । एक छोरीकी बाबु भइसकेका उनको अर्को सन्तान पनि हुनेवाला थियो । सन्तानलाई राम्रो पढाउने र श्रीमतिलाई सुखमा राख्न कमाई गर्नुपर्ने सोँचले पिरोल्न थाल्यो । औसत युवाहरुको जस्तै उनको मनमा पनि फु¥र्यो, विदेश जाने र कमाउने । देश पनि हेरिने मुख पनि फेरिने र कमाई पनि हुने । बल थियो । वैश थियो । त्योभन्दा पनि ठूलो उनीसँग सपना थियो । दुई वर्षकी छोरी र दोजियाकी श्रीमतिको मायालाई मिठो सपनाको पोल्टामा राखेर २०७१ साल चैतमा कतार उडे जहरमान ।
कतार पुगेर प्रचण्ड गर्मीलाई आफ्ना सपनाहरुको छहारी लाएर एउटा कम्पनीमा काम गर्दै थिए । ‘टी–बोइ’को रुपमा काम गरिरहेका थिए । तलब सोँचेजति नभए पनि ठीकै थियो । इमान्दारीता र मेहनतले हुने यत्तिको कमाईले सन्तान र श्रीमतिलाई सुखमा राख्ने आंशिक सपनाहरु भएपनि पूरा हुने ठानेर निरन्तर काममा घोटिइरहे । कतार जाने बेलामा ऋण सापट गरेर विर्तामोडको इष्टवेष्ट म्यानपावरलाई चोखो एक लाख बुझाएका थिए । राहादानी र काठमाण्डौं आउजाऊ गर्दा ४० हजार खर्च भएको थियो । मिठो सपनासँगै एक लाख ४० हजारको ऋणको भारि पनि उनको साथमा थियो । ऋण लागोस् दिन नलागोस् भन्ने भनाई छ । ऋण परेपनि यही भनाई संझेर आडभरोसा जाग्थ्यो । नभन्दैं कतार पुगेको छ महिना नपुग्दै ऋण तिर्ने पैसा घर पठाए ।
कतार पुगेको छ महिना मात्र पुग्दै थियो । सन्दकपुर गाउँपालिका १ माइपाखेरीका जहरमानले सपनामा पनि नदेखेको घटना भयो, त्यो दिन । सधैंझैं ड्युटि सकेर रुममा फिर्न कार चढ्न लागेका थिए । विजुलीको बेगमा अर्को कार आएर उनी माथि बज्रियो । त्यसको एक वर्षपछि बल्ल उनलाई आफू अस्पतालको शैयामा छु भन्ने थाहाँ भयो । कतारकै एक सरकारी अस्पतालमा छ महिना कोमामा रहे । एक वर्षपछि बल्ल अलि होस आयो । तीन वर्ष छ महिना त्यही उपचार गरेर बसे । सग्लो, लोभलाग्दो ज्यानले बोकेर गएको जहरमानको सपना एक निमेषको कारको झड्काले उडाइ दियो । चालीस कटेसी रमाउने उनका सपनाहरुलाई यो दुर्घटनाले तुहाइ दियो ।
साढे तीन वर्षको अस्पताल बसाईंपछि उनी घर फिरे, सपनाहरु थाँती राखेर । अहिले उनको दाहिने खुट्टा र हात चल्दैन । ६ वर्षीया छोरी र चार वर्षका छोरा छन् । दाई पनि कतारमै भएकाले उपचार पाएर जीउँदै घर त फिरे तर भर चाहीँ अरुको पर्न बाध्य छन् । बोल्न पनि समस्या छ । अहिले माइला दाजु भाउजुको साथमा छन् । दुई कक्षा पढ्दै गरेकी छोरी र एलकेजी पढ्दै गरेका छोराको पढाईलाई निरन्तरता दिन समस्या छ । जसका लागि विदेश गए, उही श्रीमति पनि अहिले जहरमानसँग छैनन् । सँगै मर्ने बाच्ने कसम खाएर विवाह बन्धनमा बाधिएकी श्रीमतिले पनि साथ चाहिने यो बेला साथ छोडेर माइतमा बस्न थालेपछि दाजु भाउजुको साथमा छन् उनी । श्रम स्वीकृति लिएर गएका उनलाई नेपाल सरकारले कुनै सहयोग गरेन । राहत दिने व्यवस्था तीन महिनाअघि देखि मात्र गरिएकाले उनलाई राहत दिन नसकिएको वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए ।