
इलाम । तराइमा अचाक्ली गर्मी बढेपछि सितल खोज्दै पर्यटकीय जिल्ला इलाम आउनको संख्या बढेको छ । पर्यटनको लागि अफ सिजन भएपनि मध्ये वर्षाका बेला अहिले इलामका पर्यटकीय क्षेत्रहरुमा सितल खोज्दै आउनेको भीड लाग्ने गरेको छ । झापा, मोरङ र सुनसरीबाट इलामको पाथिभरा, हर्कटे, फिक्कल, श्रीअन्तु पशुपतिनगर लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको बृद्धि भएको छ ।
सूर्योदयका लागि प्रख्यात मानिएको श्रीअन्तुमा अहिले दैनिक हजार बाह्रसय पर्यटक आउने गरेको होम स्टे सञ्चालक रुद्र घिमिरेले बताए । ‘यहाँ सूर्योदयको मनमोहक दृष्य अवलोकन गर्न मात्रै यत्तिका मान्छे आउथे, वर्षाको बेला यति पयर्टक आएको यो पहिलो नै हो’–उनले भने–‘एकै पटक धेरैको भीड लागेपछि होम स्टेहरुमा ब्यवस्थापन गर्नै समस्या भएको छ ।’
श्रीअन्तु श्रेत्रमा ४३ वटा होमस्टे र दर्जन हाराहारी होटलहरु सञ्चालनमा छन् । तर, वर्षाको बेला होमस्टे सञ्चालकहरु कृषि कर्ममा खटिन्छन् । श्रीअन्तुका केही होमष्टे बन्द हुने गरेका छन् । यही बेलामा पर्यटकको चाप बढेपछि यहाँका अगुवा पर्यटन ब्यवसायीलाई पाहुनाको चाप ब्यवस्थापन गर्न धौ–धौ परेको छ । ‘हामी अन्तु आएका पर्यटकलाई फर्काउनु नपरोस भनेर होटल र अन्य होमस्टेसंग समन्वय गर्ने गरेका छौ’–स्थानीय धरणी घिमिरेले भने–‘अहिलेसम्म यहाँ रात बिताउन आएका कसैलाई फर्काउनु परेको छैन ।’
मेची राजमार्गमानै पर्ने पाथिभरा, हर्कटे, कन्याममा समेत तराइका जिल्लाबाट आउनेको संख्या बाक्लो छ । कतिपय दिउँसोभर त्यस क्षेत्रमा बसेर साँझ परेपछि बासस्थान फर्किने गरेका छन् । टाढाबाट आउनेहरु भने आफ्नो ठाउँको मौषमको बारेमा जानकारी लिदै तीन चार दिनसम्म घुमफिर गरेर फर्किने गरेका छन् ।
तराइमा गर्मी बढेपछि इलाम आउने साना सवारी साधन र मोटर साइकलको संख्या बढेको जिल्लाको प्रवेसद्वारमा रहेको पर्यटन सूचना केन्द्रका गगन घिमिरेले जानकारी दिए । केन्द्रले इलाम आउने पर्यटकको संख्या राख्ने गरेको भएपनि साना सवारी र मोटरसाइलमा आउनेहरुको संख्या उल्लेख नहुने बताए । ‘हामी बसमा आएकाहरुको मात्रै सूचना राख्छौÕ–घिमिरे भन्छन्–‘साना सवारीमा आएका पर्यटकको सूचना राख्न सम्भव हुँदैन, तर केही दिनयता अघिपछिको भन्दा तीनसयजति बढि साना ठूला सवारी इलाम आउजाउ गर्ने गरेको छ ।’

गर्मीबाट आलसतालस भएकाहरु झापाको चारालीबाट जोर कलस हुँदै इलाम प्रवेश गरेपछि सितल महशुस गर्न थाल्छन् । कुटिडाडाबाट हर्कटे कन्याम पुग्दा जाडो महशुस गर्छन् । गर्मीछल्नको लागि तराईबाट पातले कपडा लगाएर सितल खोज्दै इलाम आउनेहरु हर्कटे कन्याम आइपुग्दा लगलग कापिरहेका देखिन्छन् । एक सातादेखि पहाडी क्षेत्रमा पनि बर्षा भएको छैन । तर, कुटिडाडादेखि हर्कटे कन्याममा बाक्लो भुइकुइरो संगै दैनिक पानी परिरहेको हुन्छ । पशुपतिनगर श्रीअन्तर राके लगायतका मौषम पनि सिलत मात्रै होइन जाडो अनुभूति हुन्छ । अहिले बर्षा नभएकाले तराइमा धान रोपाइ हुन सकेको छैन । फुर्सदिलो बनेकाहरु गर्मीछल्न यहाँ आउने गरेका हुन् ।


759 पटक हेरिएको 






