अब गर्भको शिशुलाई पनि अंश, वेपत्ता भएको १२ वर्षमा मृत्यु घोषणा

  सरलपाटी सम्वाददाता

 522 पटक हेरिएको

इलाम । भदौ १ गते देखि लागु भएको देवानी संहितामा बेपत्ता भएको १२ वर्षमा मृत्यु भएको मानिने नयाँ व्यवस्था छ । ८० वर्ष उमेर पुगेको हकमा भने पाँच वर्षमा नै मृत्यु भएको मानिने छ । युद्धमा खटिएको सेनाको हकमा बेपत्ता भएको चार वर्षमा मृत्यु भएको मानिनेछ भने दुर्घटनाको हकमा भने तीन वर्षमा मृत्यु भएको मानिने छ । तर, त्यसको घोषणा भने अदालततबाट गराउनुपर्ने छ । त्यसरी मृत्यु भएको मानिस जिवित भएको घोषणा पनि अदालतबाटै गराइने छ ।
बहुविवाह स्वत रद्द
यस अघिको बहुविवाहमा सजायको मात्रै व्यवस्था थियो । कसुरदारले सजाय भुक्तान गरिसकेपछि पति पत्निको रुपमा रहने व्यवस्था थियो । अब बहुविवाह स्वत रद्द हुन्छ । पहिलेको श्रीमान वा श्रीमतिसँग सम्बन्ध विच्छेद भएपछि मात्रै विवाह कायम हुने व्यवस्था छ । विवाह कायम नहुने अवस्थामा जन्मिएको बच्चाको हकमा बाबु आमा कायम हुनसक्ने तर बाबु र आमाबीचको सम्बन्ध पतिपन्तिको कायम हुन नसक्ने व्यवस्था गरिएको छ ।
सम्बन्ध विच्छेदको प्रक्रिया एक वर्ष पछि मात्रै शरु हुने
श्रीमान श्रीमति सम्बन्ध विच्छेदको लागि तयार भएर अदालती प्रक्रिया शुरु गरेका एकै दिनमा पनि सम्बन्ध विच्छेद गराउन सकिन्थ्यो । अब त्यस्तो हुँदैन । सम्बन्ध बिच्छेदको लागिवर्षदिन कुर्नै पर्छ । देवानी संहितामा भएको व्यवस्था अनुसार सम्बन्ध विच्छेदको लागि मुद्दा परेमा एक वर्ष सम्झाई बुझाई या मेलमिलाप गराउनको लागि अदालतलाई समय दिएको छ । त्यसो गर्दा पनि नभए एक वर्षपछि अदालती प्रक्रिया शुरु हुने उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश तेज नारायण सिंह राईले बताए । पहिले महिलालाई सम्बन्ध बिच्छेदको सजिलो बाटो थियो । महिलाले चाहेमा सम्बन्ध बिच्छेद गराउन सक्थिन् । अब पुरुषलाई पनि सम्बन्ध बिच्छेदको प्रक्रिया पहिलेजस्तो जटिल छैन । तीन वर्षभन्दा बढि पत्नीले छाडेमा, ज्यान जाने या अंगभंग हुने कार्य गरेमा, परपुरुषसंग करणी गराएमा, पत्नीले घरबाट निकाला गरेमा या खान लाउन नदिएमा, निको नहुने यौन रोग लागेमा पतिले समेत सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था राखिएको छ । अब सम्बन्ध विच्छेदको लागि पुरुषले अदालत जान सक्नेछन् । यसअघि शुरुवातीमा नै पुरुषले अदालतमा निवेदन गर्न नसक्ने व्यवस्था थियो । पत्नीका कारण सम्बन्ध विच्छेद भएमा अंश समेत दिनुनपर्ने व्यवस्था गरिएको छ । पहिले पत्निको नामा सम्पती भएपनि पुरुषलेनै अंश दिनुपथ्र्यो तर अब सम्बन्ध विच्छेद अघि अंशवडा गर्नुपर्ने व्यवस्था छ ।
बलेसीको पानी अर्काको जग्गा झार्न नपाइने
नयाँ व्यवस्था अनुसार बलेसिको पानी अर्कोको जग्गामा पर्ने गरी झार्न नपाईने व्यवस्था छ । त्यस्तै सडक, सार्वजनिक जग्गा खसाल्न नपाइने भएको छ । आफ्नै जग्गाको जिरो पोइन्टमा सेफ्टी ट्याङ्की राख्न पाइदैन । साँधमा इनार या कुवा खन्दा एक मिटर जमिन छाड्नुपर्नेछ ।
ब्याज दश प्रतिशत मात्रै
नयाँ कानुनको लेनदेन सम्बन्धि व्यवस्थामा दश प्रतिशत भन्दा बढि ब्याज लिन नपाइने व्यवस्था छ । दश प्रतिशत भन्दा कम ब्याज हुने गरी कागज गरेमा कागज बमोजिमनै हुनेछ । त्यस्तै साँवाको दोब्बर भन्दा बढि रकम लिन पाइने छैन । ब्याजको ब्याज लिन नपाउने ब्यवस्था कानुमा उल्लेख छ ।
गर्भमा रहेको शिशुले पनि अंश पाउने
जन्मिदै नजन्मेको शिशुले पनि अंश पाउने ब्यवस्था गरिएको छ । शुक्रबारदेखि लागु भएको देवानी संहितामा गर्भमा रहेको शिशुले पनि अंश पाउने उल्लेख छ । त्यस्तै विवाह हुन नसक्ने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोराछोरीले पनि बाबु आमाबाट अंश पाउने व्यवस्था छ । अन्य अंशमा भने समान हकदार कायम गरिएको छ ।

धर्मपुत्र या धर्मपुत्रि राख्दा अदालतबाट इजाजत लिनुपर्ने छ । धर्मपुत्र या धर्मपुत्री राख्दा यस अघि मालपोत कार्यलयमा दर्ता गराउने व्यवस्था थियो । अब अदालतमा निवेदन दिनुपर्नेछ । १४ वर्ष पुरा नगरेको, एक मात्र छोरा छोरीको रुपमा रहेको, एक पटक धर्मपुत्र वा धर्मपुत्रीको रुपमा लिएको,आफुभन्दा माथिल्लो नाताको र गैर नेपालीलाई धर्मपुत्र राख्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार