नागपन्चमी, लाखेजात्रा, नेवा समाज

  विनोद श्रेष्ठ

 2389 पटक हेरिएको

SAMSUNG CAMERA PICTURES

संस्कारबाट विकसित जीवन पद्धतिको नाँउ संस्कृति हो । जीवनका चिन्तनदर्शन, धर्म, परम्परा र आनुवंशिक क्रियाकलापमा संस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर बहुत संस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरबदल आउदैन । संस्कारको पृष्ठभूमिमा संस्कृतिले जन्म लिने गर्दछ । संस्कृतिलाई पहिचानमा ल्याउने काम चाडपर्व मनाउने तरिका, परम्परागत नाचगान, जीवनका पद्धति तथा शैली र रीतिरिवाज आदिले प्रत्यक्ष प्रभाव पार्दछ । हरेक देशका बासिन्दाहरुको जीवनशैलीमा त्यस देशकै संस्कृतिको झलक पाइन्छ । देश भित्र अनेक जात जाति हुन्छन् परम्परा र विश्वास हुन्छन् । एउटै समाजमा रहेर पनि तिनले आफनो संस्कृति जोगाएर राख्छन् । तिनको साझा रुप संस्कृति बन्छ । तिनै संस्कृति अनि जात्रा हो लाखेजात्रा । जुन इलाममा हिजोबाट सुरु भएको छ । जुन नागपन्चमीबाट सुरु भएर कृष्णजन्माष्टमीको दिन विधिवत रुपमा लाखे मारेर सकिन्छ ।
भाद्र शुल्क पंचमीमा मनाइने ऋषि पंचमी, माघ शुल्क पंचमीमा मनाइने बसन्त पंचमी त्यस्तै गरी श्रावण शुल्क पंचमीका दिन मनाइने सप जातिको चित्र लेखी ढोका माथि टाँसी त्यसलाई पूजा गर्ने प्रचलन आदि कालदेखिनै चलीआएकोले यो चाडको नामपनि नागकै नामबाट नामाकरण गरी नाग पंचमी राखिएको हुन सक्छ ।
यो दिन घरको मूल ढोक माथि नाग लेखेको छापा टाँसेर घरको मूलिले पुजा गर्दछ । गाईको गोबर टाँसेर त्यसमाथि दुवो लगाइन्छ । टिका र जजंका लगाएर फूलले सिंगारी दूध, घिउ, मह, रोटी, फलफुल चढाइन्छ । दीप, धूप बालेर पुजा सकाइन्छ । कतिले त घरको सबै ढोकामाथि नाग लेखेको सानो छापा टाँसेर पुजा गर्दछ । नागलाई श्रीखण्डको वासना र संगीत मनपर्छ ।
अरु अरु चाडहरुको दिनमा जसरी घर लिप पोत गर्ने चलन छ त्यस्तै गरी यो चाडको दिनपनि एकाबिहानै घर लिपपोत गरी सफा सुग्घर गरेपछि प्रत्येक घर घरमा गुरु पुरोहितहरुले नागको चित्र अंकित कागजको चारै सुरमा र सिरान पट्टि बीचमा एउटा सुपारीको दाना र दुवो समेत राखी गोबरले टांस्दछन् ।
यो श्रावण शुल्क पंचमीको दिनलाई किन र कसरी नाग पंचमीको रुपमा मनाइएको हो भन्ने बिषयमा तीनवटा तर्कहरु प्रमुख छन् ।
नाग तथा सर्प जाति मनुष्यहरुको लागि ज्यादे बिषालु तथा भयानक घस्रने प्राणी हो । श्रावण महिनामा ज्यादै गर्मी हुने भएकोले सर्पहरु आफनो प्वालबाट बाहिर निस्कन्छन् ती बिषालू सर्पहरुले मानिसलाई हानी पु¥याउलान् भन्ने डसले सर्पकै चित्र अंकित कागजहरु ढोकामा टाँसी पूजा गरेपछि बर्ष भरीनै घर भित्र सर्पले प्रवेश गर्दैन भन्ने धारणा ली उक्त दिन नागको पूजा गरेको हुनुपर्दछ । यस कथनमा हाम्रो केही मात्रामा मनोबैज्ञानिक आधारहरु मात्र गर्न सक्दछौ ।
नाग पंचमीको दिन कतिपय गाउँ ठाउँहरुमा धारा कुवा तथा इनारहरुको मुहानमा नागहरुको पूजा गर्ने गर्दछन् । यो प्रचलनबाट नागहरु पानीको प्रतिक मानिएका रहेछन भन्ने अडकल गर्न सकिन्छ । यसरी नागको पूजा गर्नाले पानीको मुहान सुक्दैन र साथै अनावृष्टि पनि हुदैन भन्ने अझै कतिपयम मानिसहरुको धारणा छ ।
यो नाग पंचमीको बारेमा अर्को एउटा किंवदन्ती यस प्रकार छ । कुनै जमानामा एक जना किसानले खेतमा हलो जोत्दाजोत्दै एउटा नागपरिवारको तीनजना बच्चाहरु मारिएछन् । यसबाट आमाचाहि नागिनी ज्यादै रिसाएर त्यो किसान परिवारका आमा, बाबु र दुई छोराहरुलाई डसेर मारिदिई । अब त्यस घरमा एउटी छोरी मात्र बाँकि भइन् । त्यसलाई पनि मार्छु भनी जाँदा यो बालिकाले रिसले चूर भएकी नागिनीको अगाडि हतपत दुधको भाँडो ल्याई राखी दिईछ । यो देखेर त्यो नागिनी ज्यादै खुशी भएर भनिछ– “ हेर नानी आज नाग पंचमीको दिन दूध पिलायौ, ज्यादै खुशी भए , अव म तिमीलाई मार्दिन के माग्छौ माग ” नागिनीको यस्तो कुरा सुनेर बालिकाले भनिन्–“ मेरा मरेका आमा, बाबु र भाइहरु बाँचुन र आजको दिन कुनै पनि नागले नडसुन् । ” यस्तो कुरा सुनी नागिनीले पनि “तथास्त” भनी विलिन भइछ । यसकारणले नाग पंचमीको दिन नागको पूजा गरेको हो भन्ने पनि हाम्रो लोक धारणा छ ।
उपत्यकाको पानी बाहिर पठाउँदा यहाँ बसोबास गर्दे आएका कर्कोटक नागलाई तौदह र शेष नागलाई नागदह र अन्य दहहरुमा गई सबै नागहरुलाई बासस्थान तय गरी दिएको हो । हाम्रो संस्कृति र परम्परामा नागहरुलाई उच्च स्थान दिइको छ । भगवान शिवको घांटिमा नागले बेरेको छ भने कुमारी, भैरव र अजिमाहरुको गहना पनि नाग नै हो । विष्णु भगवानको शैया नाग हो र अन्य धेरै देवताहरुको पटुका पनि नाग नै हो । बुद्ध भगवान, कृष्णभगवान, गुहेश्वरी आदि धेरै भगवानहरुलाई एक टाउको देखि लिएर धेरु टाउको भएका नागहरुले ओढाएको पाइन्छ । त्यसैले नागले वास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन् शान्ति भई वास फलिफाप हुन्छ भन्ने विश्वास छ । त्यसकारण घरको जग हाल्दा नाग पुजा गर्ने, घरमा नागको लागि अलग्ग स्थान छोडिराख्ने चलन छ ।
अनन्त बासुकी, पद्यधवल, महापद्यधवल, तक्षक, कुलीक, कर्कट, शङखपाल, शेष, अश्वतर नागहरुको नाम लिने चलन छ । नागदह र अरु पनि धेरै दखहहरुमा मेला लाग्छ । लक्ष्मण र वलराम शेष नागको अवतार हो । कृष्णको नाग अवतार बासुकी हो । नाग जति पछ्याउने र भयंकर डरलाग्दो हुन्छ त्यतिकै करणामयी रक्षक पनि हुन्छ ।
नेपालको सबै जसो स्थानमा नेवार जातिको अमूल्य जात्रा प्रत्येक बर्ष नागपञ्चमीको दिनदेखि लाखेजात्रा निकाल्ने परम्परा रहेको छ । जुन दिन इलामको माईस्थानमा भेला भई लाखेभुत्लेको मुकुण्डोमामा धार्मिक विधिद्धारा पुजा गरि सगुन खुवाए पच्छात धिमे बाजा, झयाम्टा लगायत अन्य बाजा बजाउदै बजारपरिक्रमा गर्ने चलन छ । साथै भिमसेन स्थान मन्दिरमा पनि पुजा गर्ने चलन छ । पहिले भोग दिने चलन थियो भने अहिले यो चलन हराउदै गएको छ । पुजा गरिपश्चात नगरको मुख्य क्षेत्रमा परिक्रमा गरेपश्चात भोलिपल्टबाट नगरभित्रका सबै वडाहरुमा लाखे नचाउने चलन रहेको छ ।
इलाम बजार नेवार समुदाय बसोबास गरेको पुराना पूर्वी पहाडी बजार हो । जिल्लामा करीब सोह हजार नेवार जातिको बसोबास रहेको छ । नेपाल एकिकरण देखि नै विभिन्न पेशा व्यवसाय लिएर यस इलाकामा बसोबास गर्दै आएका नेवार समुदायकोे यस क्षेत्रको विकासमा विशेष योगदान रहेको छ । जहाँ बसे पनि आर्थिक क्रियाकलापमा संलग्न रहने भएकाले बजार बिस्तारमा नेवार समुदायको उल्लेख्य भुमिका रहेको छ । इलामका प्राय धेरै जसो व्यापारिक केन्द्रहरुमा नेवार जातिको बाहुल्य छ ।
आफ्नो मूल थलो राजधानी देखि धेरे टाढा रहेर पनि आफ्नो संस्कृति पनि संरक्षण गरेका छन् । इलाममा पनि नेवार समुदायको गतिविधि आफनै गतिमा अगाडि बढिरहेको छ । नेवार जातिको सामाजिक परम्परा, रितिरिवाज, संस्कृति, संस्कार तथा चाडपर्वहरुको आफनै मौलिक विशिष्टता रहेको छ । इलाममा रहेका नेवार समुदायले मनाउदै आइरहेको चाड पर्व, संस्कार, संस्कृतिले गर्दा इलामेहरुको प्रतिष्ठा बढाइरहेको छ । इलाममा मनाइने धेरै जात्राहरु मध्ये लाखेजात्रा, गाईजात्रा र रोपाईजात्रा जस्ता पर्वहरु इलामे संस्कृतिको अभिन्न अंग भएको छ । स्थानीय बािसन्दाहरुसंग सम्मिलित भई इलामे संस्कृति र संस्कारको जगेर्ना गर्न सफल भएको छ । यस समाजले विगत लामोसमयदेखि आफनो स्वामित्वमा यसको संरक्षण सम्बद्र्धनमा गर्दै अगाडि बढेको छ । अगाडि बढदै गएतापनि युवा पुुस्ता यसप्रति वेखवर भन्दै गएको अवस्था छ । तसर्थ यसै अवस्थालाई दृष्टिकोणमा राखी इलामको सास्कृतिक पर्यटन प्रबद्र्धनमा संस्थागत रुपमा जोड दिदै इलामको संस्कृतिलाई बचाउदै इलामको पहिचानलाई जोगाउदै युवा पिढीलाई सचेत र परिचालन गर्दै युवा पुस्तालाई संस्कृति संरक्षणमा परिचालन गर्दै अगाडि बढेको । यी जात्राको शुरुवातको समयदेखि चलिआएको इलामे संस्कृतिको संरक्षण हुदै आएको छ । साथै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्दै इलाममा धेरै आन्तरिक पर्यटक भित्राउने प्रयास पनि गर्दै आएको छ ।
यी जात्रा उपत्यकाबासी नेवारलगायत उपत्यकाभन्दा बाहिर पनि विभिन्न किसिमले जात्रा निकाल्ने गरिएको पाइन्छ । भक्तपुर, ललितपुर र किर्तिपुरको लाखे नाँच्ने शैलीमा केही फरक रहेको पाइन्छ । इलाम नगरपालिका र फिक्कलमा धेरै समय अगाडी देखि शुरु भएतापनि फुएतप्पा, दानाबारी, मङ्गलबारे, गोदक, कन्याम र समालबुङ्ग क्षेत्रमा लाखेजात्रा निकाल्ने चलन सुरु भएको छ । भने अन्य ठाँउहरुमा पनि प्रयास भइरहेको छ ।
यी संस्कृतिलाई बचाई राख्न र अगाडी बढाउन सम्पूर्ण जातजातिमा आपसी अनि ईश्वरीय आश्था, आत्मसन्तोष, अतिथिसेवा, परोपकार, उच्च विचार, सहयोगी भावना, सकारात्मक व्यवहारले अगाडि बढाउन महत्वपूर्ण टेवा पुगेको छ । यी जगको आधारमा नै संस्कृति जात्रा पर्वले अगाडि बढने मौका पाएको छ । नेवारहरुको कलाप्रेम अनि सवै जातिको संयुक्त मिलनसारितामा इलामेली संस्कृतिहरु हुर्कने मौलाउने मौका पाएका छ ।
इलामेली संस्कृतिलाई जीवन्त राख्ने रमाइला पक्षहरु हाम्रा चाडपर्व अनि जात्रा हुन् । यी प्रचलित मेलापर्व जात्रा, चाडपर्वमा इलामेलीहरुको रहनसहन, परम्परा र विश्वासको उदाहरण पाउछौ । यी जात्राहरु इलामेलीको साझा गर्भ गर्न लायक संस्कृति हुन् । जसको संरक्षण र सम्बद्र्धन गर्न तपाई हामी सबैको समान दायित्व र भूमिका रहेको कुरा बताउनु हुन्छ समाजका अध्यक्ष ऋृषि प्रसाद श्रेष्ठ ।
यी जात्राहरुले आम इलामेलीलाई एकै सुत्रमा बाध्ने, इलामको संस्कृतिलाई बचाई राख्न र निरन्तर रुपमा अगाडि बढाउन इलामका युवा जमातलाई पनि साथ लिएर अगाडि बढाउने कुरामा जोड दिनुहुन्छ सचिव चिरन्जीवि श्रेष्ठ ।
लामो समयदेखि चलिआएको जात्रालाई अगाडि बढाउन मरिमेटने अग्रज इलामेलीहरु तथा समाजसेवीहरुले पनि यी जात्रालाई अगाडि बढाउन अझै पनि समन्वयकारीको भूमिका निभाउन अंग्र पक्तिमा रहेका छन् । नयाँ पुस्ताका अन्य जातिका युवाहरु पनि लाखे नाँच्न, बाजा बजाउन उत्तिकै उत्साहित र लालायित रहेको कुरा बताउँछन् ।
यी जात्राहरुमा धार्मिक मान्यताबाट प्रभावित छन् । यी जात्राको पृष्ठभूमिमा केही न केही धार्मिक विश्वास अवश्य रहेको छ । जन्म र मृत्युबाहिर पनि जीवात्ममाको अस्तित्व मानेर होस् वा दीर्धायु र सुख समृद्धिको कामनाले होस् अदुश्य शक्तिको उपासना गर्ने चलन इलाममा पनि रही आएको छ । यसैबारे नेपाल भाषा तथा संस्कृति समाजका पूर्व अध्यक्ष युद्ध प्रसाद वैद्य यसबारे रहेको कथन बारे यसो भन्नु हुन्छ ।
लाखेजात्रा तन्त्रशास्त्रसंग सम्बन्धित रहेको छ । इलाममा नेवारहरुको बसोबास शुरुभएदेखि नै मूल थलोबाट नै संस्कृति र संस्कार लिएर प्रचलनमा ल्याइरहेको छ । यस्ता सांस्कृतिक पर्वहरुलाई जीवन्त राख्न वर्तमान पिढि पनि उतिकै सशक्त रहेको छ । आजकल इलामका गांउ गाउमा छरिएर रहेका नेवारहरु पनि संगठित भई आफ्नो सांस्कृतिक जात्रा पर्वहरुलाई संरक्षण गर्न लागु परेका छन् । यस्ता क्रियाकलापहरु यो जातिको पहिचान हो ।
बौद्धिक हिन्दुहरुमा तन्त्रविद्यामा आधारित जात्रा हो । नेवार तान्त्रिकहरुले आफ्नो तन्त्र विद्याको आधारमा भूतलाई समेत तय लगाएर आफनो सेवामा काम लगाउने खेत जोत्न, रोेप्न लगाउने कथाहरु पनि सुन्न पाइन्छ । यो जात्रा सम्भवत त्यहि भूत प्रेतलाई तह लगाउने कथाहरुमा आधारित रहेको पाइन्छ । साथै बर्षा याममा खेतबारीमा काम गरिसकेपछि चिसो सर्दीमा काम गर्ने गरेको सर्दी काट्ने र मेहनत पछि मनोरन्जन गर्ने परम्परा रहेको पनि हुनसक्दछ ।
अहिले इलामको विभिन्न क्षेत्रमा नेवार बसोबास बढि रहेको क्षेत्र मंगलबारे, कन्याम, दानावारी, नाम्सालिङ्ग, लगायतका क्षेत्रमा पनि लाखे देखाउने प्रचलन शुरु भैसकेको छ ।
अन्त्यमा इलामेली संस्कृति पुस्तौदेखि माझिएर र खारिएर आएको इलामेलीहरुको जीवनप्रणाली हो । यी संस्कृतिहरुलाई बचाउन र निरन्तर रुपमा अगाडि बढाउन तपाई हामी सबैको समान भूमिका रहेको छ । यसलाई जिवन्त राख्न भावि पुस्ता सशक्त हुन आवश्यक छ छ ।
संस्कृतिको संरक्षण गर्दै इलाम जिल्लाको गौरव अमूल्य निधिहरु लोप हुन बाट जोगाउन साथै इलामको पहिचानलाई जर्गेना गर्दै नव पिडिलाई इलामेली संस्कृति सिकाउदै अगाडि बढनु अति आवश्यक छ । साथै यी जात्रालाई निरन्तर अगाडि बढाउन तपाई हामी सबैको समान दायित्व र भुमिका रहेको छ । नेवार जातिको अतिरिक्त अन्य जातजातिको पर्व र संस्कारहरु छन् । तिनलाई पनि जोगाउन उतिकै आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार