चिया मजदुरले अब दश हजार आठ सय तलव पाउने

  सरलपाटी सम्वाददाता

 653 पटक हेरिएको


इलाम । ज्यादै कम तलवमा काम लगाइदै आएका चिया मजदुरको तलव सरकारले दश हजार आठ सय रुपैयाँ तोकेको छ ।
चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक छ हजार चार सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार तीान सय १२ रुपैयाँ गरेर मासिक दश हजार सात सय ८१ निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै दैनिकरुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक दुई सय ३१ र महङ्गी भत्ता एक सय ५४ गरी तीन सय ८५ पारिश्रमिक तोकिएको छ । प्रतिघण्टा दरले काम लगाउँदा एक घण्टाको आधारभूत पारिश्रमिक ३१ रुपैयाँ र महङ्गी भत्ता २० गरी रु ५१ रुपैयाँ पारिश्रमिक तोकिएको मन्त्रालयका श्रम सम्बन्ध महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।
यसैगरी चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारका लागि दैनिक ४२ रुपैयाँ भत्ता तोकिएको छ ।

सरकारले यसअघि नै अन्य क्षेत्रमा कार्यरत श्रमिकका लागि आधारभूत पारिश्रमिक आठ हजार चार सय ५५ र महङ्गी भत्ता चार हजार नौ सय ९५ गरी मासिक १३ हजार चारसय ५० तोकिसकेको छ । यसैगरी उनीहरुले दैनिक तीनसय २५ रुपैयाँ आधारभूत पारिश्रमिक र एक सय ९२ महङ्गी भत्ता गरेर पाँचसय ७१ रुपैयाँ पारिश्रममिक निर्धारण गरिएको छ । प्रतिघण्टा काम लगाउँदा आधारभूत पारिश्रमिक ४३ रुपैयाँ र महङ्गी भत्ता २६ रुपैयाँ गरेर ६९ रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ ।
उक्त पारिश्रमिक मुलुकभरका सबै रोजगारदाता एवं प्रतिष्ठानमा कार्यरत श्रमिकका लागि यही साउन १ गतेदेखि नै लागू हुने मन्त्रालयले जनाएको छ । श्रमिकले काम गरेबापत उचित पारिश्रमिक तथा सुविधा पाउने मौलिक हकलाई सुनिश्चित गराउन तथा श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ को प्रावधानबमोजिम मन्त्रालयले प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ ।

मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारणबाट व्यावसायिक वातावरणमा सुधार, असल औद्योगिक सम्बन्ध विकास र उत्पादन एवं उत्पादकत्व अभिवृद्धिमा टेवा पुगी समग्र आर्थिक विकास एवं समृद्धिका लागि सहयोग पुग्ने विश्वास लिएको छ ।

सहसचिव घिमिरेले श्रमिकले पाउने न्यूनतम पारिश्रमिक तथा अन्य वित्तीय सुविधा अनिवार्यरुपमा बैंक खातामार्फत भुक्तानी हुने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
यसैबीच मन्त्रालयले चिया क्षेत्रका विद्यमान समस्या समाधानका साथै चिया क्षेत्रको समग्र विकासका लागि अवलम्बन गरिनुपर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि उपयुक्त राय सुझाव सिफारिश गर्न सम्बद्ध निकायका प्रतिनिधि एवं विज्ञसमेतको संलग्नतामा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार