विद्यालय कर्मचारीहरु आन्दोलित, भदौं ३ र ४ विद्यालय बन्द गर्ने

  सरलपाटी सम्वाददाता

 1550 पटक हेरिएको

इलाम। नेपाल विद्यालय कर्मचारी परिषद इलामले इलाम नगरपालिका लगायत विभिन्न स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकामा परिषद इलामका अध्यक्ष हेमराज बस्नेतको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
परिषद विभिन्न तीन बुदे माग राख्दै देश ब्यापी आन्दोलनमा उत्रिएको छ । साउन १५ गतेदेखि परिषदले आन्दोलनको विभिन्न कार्यक्रम गर्दै आएका थिए । परिषदले भदौ ७ गतेसम्मको आन्दोलन घोषणा गरेको छ । आन्दोलन अन्तर्गत सरकारको ध्यानाकर्षण, जिल्लामा अन्तरक्रियादेखि विद्यालय बन्द गरेर काठमाण्डौमा प्रर्दशन गर्नेसम्मका कार्यक्रम तय भएको छ । सरकारको ध्यान आकर्षण गराउने कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाइएको हो ।
सरकारले आफूहरुलाई अन्याय गरिरहेको भन्दै परिषदले विद्यालय कर्मचारीहरुलाई पनि निजामती कर्मचारी सहर सेवा, सुविधा उपलब्ध गराउन माग गरेको छ । परिषदले विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको श्रेणी विहीन कर्मचारीले पाउने सेवा सुविधा पाउनुपर्ने, कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षकले पाउने सेवा सुविधा पाउनुपर्ने, लेखापालले निम्न माविका शिक्षकले पाउने सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग राखेको छ । संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको ब्यवस्थापन स्थानीय तहलाई दिने ब्यवस्था कर्मचारीको हितविपरीत भएकाले त्यसलाई संशोधन गरेर संघीय सरकारलेनै ब्यवस्थापनको जिम्मा लिनुपर्ने माग राखिएको छ । देशभरमा २८ हजार विद्यालय कर्मचारी कार्यरत रहेको र इलाममा मात्रै चार सय विद्यालय कर्मचारी कार्यरत रहेको परिषदका जिल्ला अध्यक्ष हेमराज बस्नेतले बताए ।
परिषदले आफ्ना माग सुनुवाई नभए भदौं ३ र ४ गते विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार