इलाम।लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको इलाम सदरमुकाममा खानेपानी आपूर्ति गर्न नयाँ आयोजना निर्माण हुने भएको छ ।
आयोजना बनाउन चार पक्षबीच सम्झांैता भएपछि खानेपानी आयोजना बन्ने पक्का भएको हो । सम्झौतामा इलाम नगरपालिकाको तर्फबाट प्रमुख महेश बस्नेत, इलाम बजार खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केदार थापा, नगर विकास कोष प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, साना सहरी खानेपानी आयोजनाका ब्यवस्थापन कार्यालयका उपनिर्देशक लिलाप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
यसअघि तेस्रो चरणको साना सहरी खानेपानी आयोजनामा इलाम पनि छनोट भएको थियो । तयारीको चरणमा विवाद देखिएको भन्दै एसियाली विकास बैंकले हात झिकेपछि खानेपानी आयोजना स्थगित भएको थियो । एसियाली विकास बैंकको सहयोगमा नयाँ आठ वटा शहरी खानेपानी आयोजना बन्ने भएपछि इलाम छनोटमा परेको हो ।
८४ करोड ७९ लाख लागत
खानेपानी र सरसफाई आयोजनाका लागि ८४ करोड ७९ लाख आठ हजार रुपैयाँ लगानी हुने छ । त्यसमध्ये ८३ करोड ६८ लाख दुई सय ९२ रुपैयाँ खानेपानी आयोजनाको लागि लगानी हुने छ भने सरसफाइ क्षेत्रमा एक करोड ११ लाख आठ हजार दुई सय २३ रुपैयाँ खर्च गरिने छ । खानेपानी आयोजनाको बनाउन नगर विकास कोषबाट वार्षिक पाँच प्रतिशत ब्याजदरमा २५ प्रतिशत रकम ऋण लिइने छ । नगर विकास कोषले खानेपानी आयोजनाको लागि २० करोड ९२ लाख रुपैयाँ ऋण उपलब्ध गराउने कोषका निर्देशक सुवासराज पन्तले जानकारी दिए । निर्माण ब्यवसायीसँग ठेक्का सम्झौता भएपछि मात्रै नगर विकास कोषले दिने ऋण सम्बन्धी सम्झांैता हुने पन्तले जानकारी दिए । उपभोक्ता समितिले पाँच प्रतिशत रकम लागत सहभागीता गर्नुपर्ने छ । उपभोक्तले चार करोड १८ लाख ४० हजार रुपैयाँ लगानी गर्नुपर्ने छ । उपभोक्ताले प्रति घर १५ हजारको दरले लगानी गरेका छन् । अहिलेसम्ममा चार करोड २७ लाख रुपैयाँ रकम संकलन भइसकेको छ । बाँकी रहेको ७० प्रतिशत रकम एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले लगानी गर्ने छ । सरकारले ५८ करोड ५७ लाख ६० हजार दुई सय चार रुपैयाँ लगानी गर्नेछ ।
सरसफाइको लागि लगानी हुने एक करोड एघार लाख आठ हजार दुई सय २३ रुपैयाँबाट तीनवटा सार्वजनिक सौचालय बनाइने छ । त्यसको १५ प्रतिशत रकम इलाम नगरपालिकाले ब्यहोर्ने छ भने सरकारले ८५ प्रतिशत रकम खर्च गर्ने सम्झौतामा उल्लेख छ ।
४१ किलोमिर दुरीबाट चारवटा मुहानको पानी ल्याइने
इलाम बजार खानेपानी आयोजनामा सन्दकपुर गाउँँपालिकामा रहेको चारवटा मुहानको पानी ल्याइने छ । यसअघि गिताङ र भाँडी खोलाबाट बजारमा पानी आपूर्ति हुँदै आएको थियो । अब मावा र राते खोलाको पानी समेत थपेर ल्याइने छ । दुई मुहान थप्दा इलाम बजारको वितरण केन्द्रभन्दा ४१ हजार सात सय ३७ मिटर लामो प्रशारण लाइन बन्नेछ । चारवटा मुहानबाट ४४ लिटर प्रतिसेकेण्ड पानी आपुर्ति हुने इलाम बजार खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केदार थापाले बताए । दुईवटा मुहानबाट अहिले ८ देखि १० लिटर प्रतिसेकेण्ड पानीको आपूर्ति भइरहेको छ । बजारमा २४ देखि ४८ घण्टामा पालो मिलाएर पानी वितरण गरिदै आएको छ । नयाँ आयोजनाको पानी १९ हजार आठ सय ८२ मिटर लामोे वितरण लाईन मार्फत खानेपानी वितरण गरिने छ । चार हजार एक सय धारा निजी धारा जडान गरिनेछ । खानेपानी आयोजनाका लागि चारवटा इन्टेक, नांै वटा रिजर्भ ट्याङ्की र एउटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिने सहरी खानेपानी आयोजना ब्यवस्थापन कार्यालयका उपनिर्देशक ढकाले जानकारी दिए ।
२० वर्षलाई पुग्छ खानेपानी
नयाँ खानेपानी आयोजनाले इलाम नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका चार हजार एक सय घरमा पानी जोडिने छन् । २० वर्षसम्म धान्नेगरि आयोेजनाको डिजाइन गरिएको छ । अहिले इलाममा आपूर्ति हुँदै आएको खानेपानीको ती वडामा २८ हजार एकसय ७२ जनसंख्या रहेको छ । ३९ हजार आठ सय ६० जनसंख्यालाई बाह्रैघण्टा गुणस्तरको पानी उपलब्ध हुने बताइएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको खानेपानी आयोजनाको निर्माण शुरु गर्न अब करिव चार महिना लाग्ने बताएको छ । साउनभित्रैमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाइने उपनिर्देशक ढकालले जानकारी दिएका छन् । पछिल्लो चरणमा आठ योजना छनोट भएका छन्, इलाम बजार शहरी खानेपानी आयोजना सम्झौता हुने मध्येको पाँचौ आयोजना हो ।