इलाम/नेपाली सेनाको नाममा रहेको सदरमुकामको ठूलो टुँडिखेल स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्भावना बढेको छ । सर्वसाधारणले नै निर्माण गरेको टुँडिखेल उनीहरूका लागि सहज बनाउन र स्थानीय तहअन्तर्गत राख्न सरोकारवालाले सेनालाई सुझाव दिएका हुन् ।
बजारको बीच भागमै रहेको टुँडिखेल सेनाको नाममा रहँदा पूर्वाधार विकास गर्न नसकेको र स्थानीयले सहज ढंगले खेल खेल्न नपाएको गुनासोसहितको समाचार सार्वजनिक भएको थियो । त्यसपछि साउन १० गते सेनाले जिल्लाका सरोकारवाला कार्यालयलाई पत्र लेखेर टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे राय मागेको थियो ।
जिल्ला समन्वय समितिले टुँडिखेल स्थानीय तहमातहत ल्याउँदा नै त्यसमा थप लगानी गरेर पूर्वाधार विकास गर्न सकिने सुझाव सेनालाई पठाएको छ । समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले टुँडिखेल सेनाको नाममा रहँदा प्यारापिट निर्माण, मैदान अझ फराकिलो बनाउने र भत्किएका बेला मर्मत गर्नसमेत नसक्नेजस्ता गुनासो आएकाले इलाम नगरपालिकामातहत ल्याउन सुझाव दिएको जनाए । ‘सकेसम्म स्थानीय तहमातहत ल्याउने, त्यसवापत् नगरपालिकाले वैकल्पिक मैदानको व्यवस्था सेनालाई गरिदिने, नभए सेना र स्थानीय तहले आपसी समन्वयमा मैदान रेखदेख गर्नु ठीक हुने आशयको सुझाव हामीले सेनालाई पठाएका छौं,’ प्रमुख बरालले भने, ‘हामीले पठाएको सुझावको मुख्य आशय नै मैदानमा पूर्वाधार थप्न र कसरी हुन्छ स्थानीयलाई खेलकुदमा सहज हुनुपर्छ भन्ने हो ।’
सेनाले इलाम नगरपालिकालाई पनि टुँडिखेलको विषयमा राय मागेको थियो । सेनाले राय मागेयता साउन २० गते बसेको इलाम नगर कार्यपालिका बैठकले टुँडिखेल नगरपालिकाकै मातहत ल्याउन पहल गर्ने निर्णय गरेको छ । त्यसवापत् सेनालाई अहिले ब्यारेक रहेको गढीथुम्काछेउमै जग्गा खरिद गरिदिन संघीय अर्थ मन्त्रालयमा बजेट माग गरिदिने नगरले जनाएको छ । ‘ठूलो टुँडिखेल नगरपालिकामातहत नै ल्याउने र सेनालाई वैकल्पिक मैदान व्यवस्था गर्न पहल गरिदिने निर्णय हामीले गरेका छौं,’ इलाम नगरपालिकाका मेयर महेश बस्नेतले भने, ‘बजारको टुँडिखेल सर्वसाधारणको पहुँचमा ल्याउने र सेनालाई उसकै ब्यारेकछेउमा अर्काे मैदान बनाउन नगरले अर्थ मन्त्रालयमा विशेष प्रस्ताव पेश गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।’
मेयर बस्नेतले केही दिनअघि काठमाडौं गएर टुँडिखेलको विषयमा ‘माथिल्लो राजनीतिक तह’मा समेत कुरा अघि बढाएका छन् । ‘संघीय रक्षा मन्त्रालय, नेपाली सेना, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि हाम्रो प्रस्तावमा सकारात्मक छन्,’ उनले भने, ‘टुँडिखेल नगरपालिकाको मातहत ल्याउने प्रस्तावमा सबै सकारात्मक भएकाले हस्तान्तरण हुने सम्भावना बढी छ ।’ नगरपालिकाले माइखोलाको राजदुवालीछेउमा सेनालाई तालिमका लागि मैदान व्यवस्था गरिदिने पनि प्रस्ताव गरेको छ । कार्यपालिका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले अहिले वृद्धाश्रम रहेको स्थलआसपासमा सेनालाई तालिम गर्ने मैदानसमेत नगरले व्यवस्था गर्ने प्रस्ताव अघि बढाएको बताए ।
सेनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा स्थानीय तह र सरोकारवाला कार्यालयलाई ‘कार्यार्थ’ लेखेर राय मागिएको हो । गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणले जिल्ला प्रशासनका नाममा ‘राय उपलब्ध गराइदिन हुन’ पत्र लेखेर जिल्ला समन्वय समितिसहित इलाम, माई र देउमाई नगरपालिका तथा रोङ, माङ्सेबुङ, फाकफोकथुम, चुलाचुली, सन्दकपुर र माइजोगमाई गाउँपालिकालाई ‘कार्यार्थ’ पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी, सशस्त्र प्रहरीको श्रीअन्तु गुल्म, अनुसन्धान कार्यालय, नापी, वन, भू–संरक्षण, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)लाई समेत पत्र लेखेर राय मागिएको थियो ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले टुँडिखेलमा पछिल्लो समय सर्वसाधारणले खेल्न नपाएको भन्दै मैदान सहज बनाउन सुझाव दिएको बताए । ‘हामीलाई पनि टुँडिखेलबारे राय मागिएको थियो, जसको नाममा रहेपनि सर्वसाधारणले बनाएको मैदानमा उनीहरूले खेल्न, मर्निङवाक गर्न, टुँडिखेल निस्केर चिसो हावा खान पाउनुपर्छ भन्ने सुझाव दिएका छौं,’ कट्टेलले भने ।
नागरिक अगुवाहरूले समेत टुँडिखेलको स्वामित्व स्थानीय तहलाई नै दिन सुझाएका छन् । टुँडिखेलको स्वामित्व नगरपालिकामा हस्तान्तरण गर्नु नै सामयिक हुने भन्दै अग्रज पत्रकार धर्म गौतमले यो टुँडिखेललाई रंगशाला बनाउने इलामबासी पुरानो चाहना रहेको बताए । ‘यो मैदान नेपाली सेनाको स्वामित्वमा रहेकाले यसमा गरिने कुनै पनि प्रकारका निर्माण कार्यका लागि सेनाको स्वीकृति आवश्यक भएपनि त्यस्तो स्वीकृति लिन चाहिँ सहज छैन,’ उनले सेनालाई पठाएको सुझावमा उल्लेख छ, ‘जहाँसम्म मैदानको अतिक्रमण पो हुन्छ कि भन्ने आशंका छ, त्यसका लागि हस्तान्तरणपूर्व यसको सीमाका चारैतर्पm सबैले देख्ने सीमांकन गरेपछि त्यस्तो अतिक्रमण हुने सम्भावना न्यून हुन्छ ।’ गौतमले टुँडिखेल सेनाकै नाममा रहेकाले सरकार र निजी क्षेत्र यहाँ लगानी गर्न असमर्थ रहेको र रंगशाला बनाउन उपयुक्त स्थान नगरकेन्द्रबाट नजिकमा अन्यत्र नभएका कारण यसै मैदानलाई विकास गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
२५ रोपनी ८ आनामा रहेको टुँडिखेल अहिले नेपाली सेनाको नाममा छ । अहिले पनि सर्वसाधारणलाई अराजनीतिक गतिविधि तथा खेलकुद सञ्चालनको स्वीकृति दिइरहेको सेनाको दाबी छ । नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति असिमदीप गुरुङले टुँडिखेलको विषयमा सर्वसाधारणको धारणा माग्नु आफूहरूको आन्तरिक काम भएको बताए । उनले सरोकारवालाले पठाएको सुझाव सार्वजनिक गर्न चाहेनन् । ‘कसले कस्तो राय दिनुभयो भन्ने अहिले सार्वजनिक गर्नुभन्दा पनि हामीले सरोकारवालाको धारणा बुझ्न मात्र पत्राचार गरेका थियौं भनेर बुझौं न,’ उनले भने, ‘कतिपयले आफ्नो सुझाव पठाउनुभएको छ, कतिपय संघ–संस्थाको सुझाव आउँदैछ ।’
ठूलो टुँडिखेलमा पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको फुटबल प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप’ हरेक वर्ष आयोजना गरिन्छ । विभिन्न संघ–संस्थाले बेला–बेला अन्य खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने गरेका छन् । तर, सर्वसाधारणले नै निर्माण गरेको ऐतिहासिक टुँडिखेलमा फुटबलसहितका खेल अभ्यास गर्न सहज नभएको, हरेक प्रतियोगिता आयोजना गर्न सेनाको अनुमति लिनुपर्दा झन्झट हुनेगरेकोजस्ता गुनासो आइरहेका छन् । टुँडिखेलका लागि आएको रकमसमेत सेनाको स्वीकृतिमा खर्च गर्न नपाउँदा फर्केर गएकाले यसको आवश्यक पूर्वाधार विकास गर्नसमेत अप्ठ्यारो परेको खेल आयोजकहरूको गुनासो छ ।