
सन् १९२० को सुरुवाती दिनहरुमा जर्मनी नाजुक अवस्थामा थियो । विश्वभरी देखिएको आर्थिक निराशाबाट जर्मनी पनि अछुतो थिएन । सन् १९२९ को वाल स्ट्रिट क्रास पछि अमेरीकाले जर्मनीलाई दिएको आर्थिक सहयोग कटौती गरेका कारण जर्मन अर्थतन्त्र ध्वस्त भएको थियो ।
आर्थिक निराशाको कारण कामबाट निकालिएका र अन्य बेरोजगारहरुका कारण जर्मनी निकै मुस्किल परिस्थितिमा थियो । त्यस अवधिमा जर्मनहरुको दिमागमा १५ वर्ष अगाडीको विश्वयुद्धमा भएको अपमानजनक हार खेलिरहेको नै थियो ।
अर्कातीर आफ्नो कमजोर सरकारप्रति जर्मनहरुलाई विश्वास थिएन । जर्मनहरु नयाँ नेताले देश सम्हालेको हेर्न चाहन्थे । जर्मनहरु यी सबैको दोष कसैलाई दिन चाहान्थे भने उनीहरु यसको समाधान पनि चाहन्थे । यस्तो अवस्थामा एक युवा हिटलरले जर्मनहरुलाई यि दुवैको सम्भावना देखाए ।
जर्मनहरुलाई हिटलरको आकर्षक भाषण र प्रभावशाली व्यक्तित्व धेरै नै मनपर्यो । जनताहरुलाई सम्झाउन र आफ्नो कुरामा कन्भिन्स गर्ने मामलामा चतुर हिटलरले धेरै जनताको मन जिते । विश्वयुद्धमा अपमानजनक हार बेहोरेका जर्मनहरुलाई हिटलरले सबै समस्याको समाधान आफुसँग छ भन्नेमा आश्वस्त पार्न सफल देखिए ।
यहि कारण हुन सक्छ सन् १९२८ मा मात्र १२ सिट जितेको हिटलरको “नेशनल सोसलिस्ट जर्मन वर्कर्स पार्टी” (नाजी) ले सन् १९३२ को जुलाईसम्म आइपुग्दा २ सय ३० सिट जित्न सफल भयो । तर सोही वर्ष नोभेम्बरमा भने हिटलरको नाजीले सोचेजस्तो परिणाम ल्याउन सकेन । नोभेम्बरमा केवल १ सय ९६ सिटमा खुम्चियो तर पनि हिटलरको नाजी सबैभन्दा ठुलो दल बन्न भने सफल रह्यो । भनिन्छ, यो अनपेक्षीत परिणाम पछि हिटलरले आत्महत्याको वारेमा पनि सोच्न थालेका थिए तर त्यतिबेला जर्मन राष्ट्रपति पल वोन हिडनवर्गले हिटलरलाई बचाएका थिए ।
वास्तवमा सन् १९३२ मा हिटलर अधिकार सम्पन्न जर्मन राष्ट्रपति बन्न चाहान्थे तर हिडनवर्गसँग उक्त दौड हारेपछि हिटलरको नजरमा जर्मन चान्सलरको पद रहेको थियो । ठुलो दल भएतापनि पर्याप्त बहुमत नभएको नाजीसँग राष्ट्रपति हिडनवर्गले भाइस चान्सलरको प्रस्ताव लगेका थिए तर हिटलरले उक्त पद अश्विकार गर्दै जर्मन चान्सलरको पदमा आफ्नो दावी प्रस्तुत गरे । अधिकार सम्पन्न राष्ट्रपतिले हिटलरलाई नियन्त्रणमा राख्न सकिने अनुमान गर्दै हिडनवर्गले सन् १९३३ मा हिटलरलाई जर्मन चान्सलरको रुपमा नियुक्त गरे ।
विश्वयुद्धमा पराजित भएका जर्मनहरुमाझ चर्को राष्ट्रवादको कुरा गरेर हिटलरले व्यापक जनसमर्थन पाएका थिए जसको दवाबमा पनि हिडनवर्गले चान्सलरको रुपमा हिटलरलाई नियुक्त गर्न बाध्य भएका थिए । चर्को राष्ट्रवाद र धरासायी अर्थतन्त्रलाई उठाउने अनेकौ सपना बाढेका हिटलरले सत्तामा आएसँगै के के गरे भन्ने त विश्वले देखि र भोगिसकेको नै छ ।
आफ्नो विरोधीहरुलाई कहिले देखिनसहने जर्मन तानाशाह हिटलरको प्रसंग एकैछिन छोडेर हामी नेपालको कुरा गरौ । नेपालमा राष्ट्रवाद भन्नाले भारतको विरोध र भारत विरोधी अभिव्यक्तिलाई मात्र बुझिन्छ । नेपाल र नेपाली सँग राष्ट्रवादको कुनै त्यस्तो ठोस परिभाषा छैन जसको कारण नेपालीको राष्ट्रवादको परिभाषा एउटा छिमेकी मुलुक सँग गएर जोडिएको छ । यदि भारत भन्ने देश हुदैन थियो त नेपालीहरूको राष्ट्रवादको परिभाषा के हुनेथियो ? सायद यसको उत्तर खोज्न दशकौ लाग्ला ।
आज भन्दा १० वर्ष अगाडि पहिलो पटक संविधानसभाको चुनाब हुदै गर्दा तत्कालीन नेकपा (माओवादी) ले विशाल विजय प्राप्त गरिरहेको थियो । त्यसबखत नेकपा (माओवादी) लामो जनयुद्ध पछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्नेक्रममा रहेको एउटा नया दल थियो तर उ सँग जनताको लागि प्रसस्त सपना र राष्ट्रवादको नारा थियो । यही सपना र राष्ट्रवाद अर्थात भारत विरोधी छविको कारण पहिलो संविधानसभामा माओवादीले अत्याधिक जनसमर्थन प्राप्त गर्यो । तर जनअपेक्षा पूरा हुन सकेन र आफ्नो सफलता माओवादिले गुमाउदै गयो, फलस्वरूप दोश्रो संविधान सभामा माओवादी तेस्रो स्थानमा खुम्चिन पुग्यो ।
दोश्रो संविधान सभाबाट नेपालमा संविधान जारी हुनेभयो तर नेपालको नया संविधान छिमेकी मुलुक भारतलाई मन परेन । नया संविधान सँगै नेपालमा आफ्नो पकड कमजोर बन्ने देखेर भारतले नेपालमा अघोषित नाकाबन्दी नै गर्यो । नाकाबन्दी कै विचमा नेपालमा नया संविधान जारी भयो र नया संविधान सँगै नेपालले नया प्रधानमन्त्री पायो तत्कालीन नेकपा (एमाले) अध्यक्ष कमरेड केपी ओलीको रूपमा ।
नाकाबन्दीको समयमा प्रधानमन्त्री बनेका ओलीले नेपाली जनतामाझ भारतविरोधी छवि कायम गर्न सफल रहे । भारतले चाहेको जस्तो संविधान संशोधन नगरेर भारत विरोधी छवि कायम गर्दै नेपाली जनतामाझ कमरेड ओली एक राष्ट्रवादी नेताका रुपमा उभिएका थिए । यही कार्यकालमा ओलीले नेपाली जनतालाई विकासको अनेकौ सपना देखाउन थाले । ओलीले नेपालीको मन मस्तिष्कमा रेल र पानीजहाज सँगै समृद्धिको लड्डु फुटाइदिए । हिटलरको जस्तै आकर्शक भासण गर्ने ओलीले जनतामा एकमात्र राष्ट्रवादी र आशाका नेताका रुपमा आफुलाई प्रस्तुत गरे । दुर्भाग्यवस उनको उक्त कार्यकाल त्यति लामो समय जान सकेन ।
तर जब संविधान बमोजिम सबै तहको निर्वाचन सम्पन्न गर्दै केन्द्रिय र संघिय सरकारको लागि निर्वाचनको समय आयो नेपालको दुई ठुला कम्युनिस्ट पार्टीले एक हुने निर्णय गरे । जनतामा नया आशा थपियो जसमा कमरेड ओलीको अघिल्लो कार्यकालको छवि जनतामाझ अझै लोकप्रिय नै थियो र फलस्वरूप कमरेड ओली फेरी पनि नेपालको प्रधानमन्त्री हुन सफल भए ।
विपक्षीलाई कहिले सम्मान नगर्ने ओलीले प्रधानमन्त्री भइसकेपछि पनि उक्त चरित्र देखाइ नै रहे । संसदमा विपक्षीको प्रश्नहरुलाई हासो र मजाकमा उडाइदिने प्रधानमन्त्री ओलीले विपक्षीलाई कहिले सम्मान नै गरेनन् । विपक्षीलाई जहिले पनि तुच्छ गालि दिने प्रधानमन्त्री ओली विपक्षीको मामलामा हिटलर जस्तै देखिन्छन् । बहुदलिय प्रजातन्त्र स्विकारेको नेपाली राजनितिमा आफ्ना विरोधीहरुलाई तुच्छ शब्दको प्रहार गर्ने ओली र विरोधीहरुको लिस्ट तयार छ पछि हिसाबकिताब हुन्छ भन्ने ओलीका पार्टीका नेताहरुका कुरा सुन्दा कतै ओलीले पनि हिटलरलेजस्तै जनताका प्रजातान्त्रिक अधिकार खोस्ने त होइनन् ? प्रश्न निकै जटिल छ । हरेक कुराको सम्पुर्ण स्वामित्व आफै मात्र लिन चाहने ओली र शक्ति आफ्नै वरीपरी केन्द्रित रहोस् भन्ने ओली चाहना बुझ्दा ओली ट्रम्प र हिटलरमा खास भिन्नता पाइदैन ।
पछिल्लो दिनहरूमा कुनै एउटा राजनीतिक पार्टी प्रति सरकार द्वारा निर्मम ढंगको प्रहार हेरिरहदा सरकार नेपालमा आफ्नो विरोधी नै नरहोस् भन्ने चाहनामा अघि बढेको देखिन्छ । सरकारको कडा विरोड गरिरहेको विप्लव नेतृत्वको पार्टीप्रति सरकार द्वारा गरिएको व्यवहार हेर्दा सरकारले आफ्नो विरोधीहरु नरुचाएको हो कि भन्ने आभास हुनथालेको छ । विरोधीहरूको स्वरहरुमा प्रतिबन्ध लगाउने सरकारको शैली जर्मन तानाशाह हिटलरको भन्दा फरक कुनै अर्थमा छैन ।
जर्मन तानाशाह हिटलर र वर्तमान प्रधानमन्त्री विचको सबैभन्दा ठुलो समानता हो ‘समाजवाद’ । हिटलर पनि आफुलाई समाजवादी भन्ने गर्थदे जुन कुरा उनले आफ्नो पार्टिको नाममा पनि राखेका थिए । हिटलर पनि समाजवादी नारामा नै चुनाब जितेर आएका नेता थिए र हिटलरको समाजवाद विश्वले देखिसकेको नै छ । समाजवादी त हिटलरको पार्टी पनि थियो त्यसैले स्मरण रहोस् हिटलर हुन् या मुसोलीनी राष्ट्रवादको चर्को नाराको समर्थन गर्ने बहानामा जनताले आफै तानाशाहलाई स्थापित गराएका छन् जसबाट देश र जनताको अधिकार सधै खोसिएको छ । नेपाली जनताको प्रजातन्त्र र लोकतन्त्रको लामो लडाई कतै राष्ट्रवादको नाराले फेरी खोसिने त होइन ? जनता समयमै सचेत हुन जरुरी छ किनभने अर्को तानाशाह देशले अब थेग्न सक्दैन भने आगामी पुस्तालाई पनि फेरी तानाशाह विरुद्धकै लडाइमा होम्नु अहिलेका पुस्ताको जघन्य अपराध हुनेछ ।
red2012faction@gmail.com


3293 पटक हेरिएको 






