पचास कर्मचारीको दरवन्दी थप गर्न इलाम नगरपालिकाको प्रस्ताव

  सरलपाटी सम्वाददाता

 1145 पटक हेरिएको

इलाम । इलाम नगरपालिकाले ५० जना कर्मचारीको दरवन्दी थप गर्न प्रस्ताव गरेको छ । नगर कार्यपालिकाको बैकले प्राविधिक, न्यायीक, शिक्षा, प्रशासनिक लेखा अधिकृत, कृषि पशुसेवा तर्फका अधिकृत सहित ५० जना कर्मचारीको दरवन्दी थप गर्नको लागि संघीय सरकारलाई प्रस्ताव गरेको हो ।
संघीय सरकारले नगरपालिकालाई आवश्यक पर्ने कर्मचारीको दरवन्दी कार्यपालिकाबाट निर्णय गराएर प्रस्ताव गर्न पत्रचार गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए । इलाम नगरपालिकामा अहिले एक सय ७० जना कर्मचारी कार्यरत छन् । २५ जना सरसफाइमा, १६ जना सामाजिक परिचालक, खानेपानीमा २५ जना, करुणा फाण्डेशनसंगको सहकार्यमा चालु परियोजनामा ७ जना सामाजिक परिचालक कार्यरत रहेका छन् । स्थायी, दैनिक ज्यालादारी र करारमा रहेका कर्मचारी गरेर एक सय ७० कर्मचारी क्रियाशील रहेका हुन् । नगरपालिकाको प्रस्ताव स्वीकृत भएमा कर्मचारीको संख्या दुई सय ३० जना पुग्ने छ ।

जनप्रतिनिधिको ३३ बुदे आचारसंहीता
नगरपालिकाको कार्यपालिका बैठकले जनप्रतिनिधिहरुको लागि ३३ बुदे आचारसंहीता जारी गरेको छ ।
आचारसंहीतामा सेवा प्रवाह गर्दा राजनीतिक आस्था वा कुनै आधारमा विभेद गर्न नहुने, सेवाग्राहीसंग शिष्ट ब्यवहार गर्नुपर्ने, कार्यालयमा मर्यादित पोशाकमा उपस्थित हुनुपर्ने, लोगोको दुरुपयोग गर्न नहुने, नगरपालिकाको निर्णयको विरुद्ध अभिब्यक्ति दिन नहुने लगायतका बुदा समेटिएका छन् । आचारसंहीतामा प्रचलित ऐन कानुन बिपरित हुने गरि गतिविधि गर्न नुहेन, सूचनाको दुरुपयोग गर्न नहुने, सवारी साधनको दुरुपयोग गर्न नहुने लगायत रहेका छन् ।

 

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मनोनयन
कार्यपालिका बैठकले विभिन्न विद्यालय ब्यवस्थाप समितिको अध्यक्षको मनोनयन गरेको छ । शिक्षा नियमावलीमा भएको ब्यवस्था बमोजिम वडा अध्यक्षको सिफारीसमा कार्यपालिकाले विद्यालय ब्यवस्थाप समितिको अध्यक्ष मनोनयन गरेको हो ।
अमर मावि बरबोटेको अध्यक्षमा गोविन्द पौडेल, आदर्श माविको अध्यक्षमा कोमल निरौला, नन्द माविको अध्यक्षमा चन्द्रमणी गौतम, सिहदेवी आधारभूत विद्यालयको अध्यक्षमा योगेन्द्र आचार्य, सुम्बेक माविको अध्यक्षमा उमकान्त पोख्रेल, बालमण्डल माविको अध्यक्षमा तेजप्रसाद दुलाल, सूर्योदय आधारभूत विद्यालयको अध्यक्षमा खेम आचार्य, देवकोटा प्राविको अध्यक्षमा हेम बहादुर राईलाई चयन गरिएको हो ।
नियमावली अनुसार मनोनीत हुने अन्य तीन सदस्यको मनोनयको लागि भने वडाअध्यक्षलाई नै अधिकार प्रत्यायोजन गरिएको छ । इलाम नगरपालिकाको शिक्षा नियमावलीमा वडा अध्यक्षले सिफारीस गरेको तीन जना मध्ये एकलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने ब्यवस्था छ । कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ ।

लगानी सम्मेलन गर्ने तयारी
इलाम नगरपालिकाले इलाम नगर क्षेत्रमा लगानी भित्र्याउन लगनी सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनको लागि तयारी थालिएको नगर प्रमुख बस्नेतले बताएका छन् । त्यसका लागि नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
समितिको सह संयोजकमा उपप्रमुख सुशीला नेम्वाङ, कृष्ण शाह र अर्जन भट्टराई रहेको समिति गठन भएको छ । समितिको दस्यसचिव नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हुने निर्णय छ । भदौभित्र काठमाण्डौंमा सम्मेलनको तयारी भएपनि स्थान टुङ्गो लागेको छैन । कतिपयले इलाममानै सम्मेल गर्न सुझाएको प्रमुख बस्नेतले जानकारी दिए ।
लगानीलाई आकर्षण गर्न प्रदान गर्न सकिने सहुलियतको नीति बनाउन प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा विज्ञहरु सम्मिलित उपसमिति गठन गरिएको छ । नगरपालिकाले लगानीका क्षेत्रहरु समेत पहिचान गरेको छ । कृषि उद्योग, स्वास्थ्य, शिक्षा र औषधिजन्य नगरपालिकाले पहिचान गरेको क्षेत्रहरु हुन् ।

गजरासिह थापाको शालिक बनाइने
इलाममा चिया रोपण शुरु गर्ने तत्कालिन बढाहाकिम गजरासिह थापाको स्मारक बनाइने भएको छ । उनको पालमा इलाममा प्रशासनिक इकाईको स्थापना भएको थियो । उनी राणकालिन प्रधानमन्त्री जंगबहादुर थापाका ज्वाइ हुन् ।

कर घटेको पनि छः प्रमुख बस्नेत
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरपालिकाले कतिपय कर पहिलेको तुलनामा घटाएको बताएका छन् । ‘नगरपालिकाले कर बढाएको भन्दै अफबा फैलाइएको छ, बाहिर हल्लामा आएको जस्तो कर बढेको छैन’–उनले भने–‘पहिले १२ प्रतिशत बाहल कर लाग्थ्यो, हामीले सात प्रतिशतमा झारेका छौ ।’ कालोपत्रेले छाएको जग्गाको भूमिकर अधिकतम दुई हजार रुपैयाँ र अन्यत्रको अधिकत्तम एक हजार रुपैयाँ कायम गरिएको जानकारी दिए । नगरपालिकाले पेट्रोलियम पदार्थमा लगाएको प्रदुषण शुल्क कानुन विपरीत नभएको प्रमुख बस्नेतको भनाई छ । आफूहरुले संविधान र कानुभन्दा बाहिर गएर कुनैपनि काम नगरेको उनको दावी छ । नगरपालिकाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५० पैसा कर लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार