काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताएका छन् ।
७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
“विश्वका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्री ओलीले भने “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।” आणविक हतियार तयार गरेपछि प्रयोग गर्ने कौतुहलता हुन सक्ने र कसैको दिमागमा त्यस्तो सनक चढे विश्व नै सखाप हुने भएकाले यो घातक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालीले शान्ति अभियानमा लाग्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आफू मानव जातिको हितमा लाग्ने बताए । “मेरा लागि देश र जनता सर्वोपरी हुन्” प्रधानमन्त्री ओलीले भने “देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”